कोरोना संक्रमणदर बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमातहतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । साउन सुरु भएयता भर्ना हुन आउने संक्रमितको संख्या निरन्तर बढिरहेको अस्पतालले जनाएको छ ।
असारमा संक्रमण घट्दा कोरोना अस्पतालका आइसियू र भेन्टिलेटर बेडहरू सबै खाली भएका थिए । भर्ना भएका बिरामी संख्या दुई–तीनजनामा झरेको थियो । अहिले सेतीमा २८ जना संक्रमित उपचाररत छन् । तीमध्ये दुईजनालाई भेन्टिलेटर र दुईजनालाई आइसियूमा राखेर उपचार भइरहेको छ । पाँचजनालाई उच्च मात्रामा अक्सिजन र १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
असारमा न्यून रहेको संक्रमण साउनको पहिलो सातादेखि बढ्दै गएको उनले बताए । ‘त्यसवेला आइसियू र भेन्टिलेटर पूरै खाली थिए । भर्ना भएका दुई–तीनजना बिरामी पनि सामान्य अवस्थाका थिए,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने जटिल खालका बिरामी बढ्दै छन् । अधिकांश बिरामीलाई अक्सिजन सपोर्ट चाहिएको छ ।’
संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । कोरोना अस्थायी अस्पतालमा असारमा एकजना संक्रमितको मृत्यु भएको थियो । साउन लागेदेखि हालसम्म तीनजना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । सेतीको प्रयोगशालामा गरिने परीक्षणमा नयाँ संक्रमण फेला पर्ने दर पनि बढेको छ । बिहीबार मात्रै ९७ जनामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा सक्रिय संक्रमितको करिब दुई सय छ ।
सेतीको कोरोना अस्थायी अस्पतालमा संक्रमितको उपचारमा संलग्न फिजिसियन नीराजनदत्त शर्माले कोरोनाको जटिल केसहरू बढ्दै गएको बताए । पहिलेभन्दा अहिले संक्रमितमा फरक खालका लक्षणहरू देखिन थालेका उनले बताए । ‘जिउ असाध्यै दुख्ने, कब्जियत हुने, कलेजो सुन्निनेजस्ता लक्षण बढी देखिन थालेका छन्,’ डा. शर्माले भने, ‘संक्रमण बढ्दै छ । स्वास्थ्य सावधानी नअपनाउने हो भने पहिलेजस्तै अवस्थामा पुग्न सक्छ ।’
कोरोनाको दोस्रो लहरका वेला सुदूरपश्चिम अत्यधिक प्रभावित भएको थियो । कोरोनाको दुवै लहरका वेला संक्रमणको हटस्पट बनेको कैलालीमा अहिले संक्रमण तीव्र दरमा फैलिरहेको छ । निषेधाज्ञा खुकुलो भएपछि बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, बजारलगायत क्षेत्रमा भिडभाड बढेसँगै संक्रमण पनि बढेको हो । स्वास्थ्य सावधानीप्रतिको व्यवस्था बढ्दै गए संक्रमणले भयावह रूप लिन सक्ने चिकित्सकको भनाइ छ ।