१०बुँदे सहमति नै सम्मानजनक पार्टी एकताको मुख्य आधार हो : भीम आचार्य

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका सचिव भीम आचार्यले गत असार २७ गते भएको १०बुँदे  सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार भएकाले यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जानुपर्नेमा जोड दिएका छन् । विनाजालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्नेमा  उनको जोड छ  ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न देश–विदेशका शुभचिन्तकलाई अपिलसमेत गरे । उनले गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्ति कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा अहिले पनि प्रकट भइरहेको भन्दै प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेको बताए । 

दुई पक्ष र एकैखाले प्रवृत्ति विभाजनकारी नहोस् भन्ने आमकार्यकर्ताको अपेक्षा रहेको उनको भनाइ छ । दुनियाँभरका  प्रतिक्रियावादी शक्ति र देशभित्रका प्रतिगामी सत्ताच्युत तत्वहरूले प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको आरोप लगाए । देश–विदेशमा भएका लाखौँ कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू   वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षमा भएको र उनीहरूले निर्णय गर्न नपाउने हुनाले तमासे बन्नुपरेको बताए । 

पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेको भन्दै  त्यस्ता जेसुकै गतिविधि भए पनि  एकता पक्षधरहरू  हतोत्साहित हुनु नहुने बताए । 
 

सुझावित समाचार