राष्ट्रिय सभाकी सांसद नन्दा चपाईले सुर्खेतस्थित प्रसूतिगृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीले ज्यान गुमाउनुपरेको उल्लेख गरेकी हुन् ।
उनले सुर्खेतमा तत्काल प्रसूतिगृह अस्पतालको निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । सांसद चपाईले निःशुल्क पाइने औषधिको सूची आमजनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराइन् ।
उनले भनिन्, ‘केही औषधिहरू निःशुल्क पाइन्छ भन्ने सुनिन्छ । तर, कहाँ र कसरी पाइन्छ ? जनतालाई जानकारी छैैन । भएका निःशुल्क पाइने औषधिहरू पनि समय अवधि सकिएर डम्पिङसाइटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– त्यस्ता निःशुल्क पाइने औषधिहरूको सूचीसहितको नामकरण जनताले थाहा पाउने गरी जानकारी गराइयोस् ।’