कुनै मुलुकमा ठूलो बजार हुँदा उसले अन्य देशमाथि प्रभुत्व जमाउनेछ भनेर निश्चितताका साथ भन्न सकिँदैन, तर ठूलो बजारले त्यस उद्देश्यमा सघाउ भने पुर्याउँछ । अमेरिकाको हकमा यो सही ठहरिँदै आएको छ । अहिले चीनमा पनि यही कुरा लागू हुँदै छ । विश्वको प्रमुख अर्थतन्त्र र व्यापारिक शक्ति हुनुका अतिरिक्त चीन वित्तीय शक्तिका रूपमा उदाइरहेको छ । यसलाई कसैले रोक्न सक्दैन । पश्चिमका धेरै अर्थशास्त्रीले यसलाई पूर्वानुमान गर्न सकेका थिएनन् । एक दशकअघिसम्म पनि एकदम थोरै अर्थशास्त्री मात्र चीनको बाह्य वित्तीय सामथ्र्यको वृद्धिबारे आशावादी थिए । यसको उल्टो धेरै चीनका कमजोरीमाथि प्रकाश पार्दै बसिरहेका थिए ।
एकजना अपवाद ब्राउन विश्वविद्यालयका अरविन्द सुब्रमनियन थिए । सन् २०११ मा आएको सुब्रमनियनको पुस्तक ‘एक्लिप्स : लिभिङ इन द स्याडो अफ चाइनाज इकोनोमिक डोमिनेन्स’ प्रकाशित भएको थियो । पुस्तकमा उनले चीनको प्रभुत्व अवश्यम्भावी मात्र नभएर सोचिएभन्दा बृहत्तर हुने तर्क गरेका छन् । चीनले वित्तीय क्षेत्रलाई पुनराकार दिने हदमा उल्लेख्य प्रभाव पार्ने उनले भविष्यवाणी गरेका थिए । आखिर अरू अर्थशास्त्रीले अनुमान गर्न नसकेको कुरा सुब्रमनियनले कसरी छर्लंग देखे ? उनले अर्थशास्त्रको मानक विश्लेषणात्मक फ्रेमवर्कभन्दा फरक विभिन्न आकारको मोडेलहरू प्रयोग गरेर यो निष्कर्ष निकालेका थिए ।
एक दशकपछि चीनको वित्तीय प्रभाव बेवास्ता गर्न नसकिने आकारको भएको छ । सन् २०१९ अप्रिल १ पछिको २० महिनामा ३६४ चिनियाँ मुद्रा (रेनमिन्वी)को आधिपत्य रहेको चिनियाँ बोन्डहरू ब्लुमबर्ग बारक्लेज ग्लोबल एग्रेगेट इन्डेक्समा समावेश भए । चिनियाँ सरकार र ‘नीति बैंक’ले जारी गर्ने यस्तो बोन्ड पहिलोपटक प्रमुख विश्वव्यापी इन्डेक्समा समावेश भए । यसले चीनको वित्तीय बजारलाई खुला गर्न महत्वपूर्ण भूमिका निभायो । थप प्रगतिको संकेतका रूपमा सन् २०२० को पहिलो चतुर्थांशमा जेपी मोर्गनले चिनियाँ सरकारी बोन्डलाई तिनको इन्डेक्समा समावेश गरे । २०२१ को सुरुमा एफटिएसई रसेलमा पनि चिनियाँ बोन्ड समावेश भएको छ । योसँगै चिनियाँ बोन्ड विश्वव्यापी लगानीकर्ताले पछ्याउने संसारका सबै प्रमुख बोन्ड सूचकांकमा समावेश भएको छ ।
चिनियाँ बोन्डको तीव्र अन्तर्राष्ट्रियकरणले चिनियाँ मुद्राको अन्तर्राष्ट्रियकरणमा सहयोग गरेको छ । चिनियाँ सरकारले विगत लामो समयदेखि यस प्रक्रियाका लागि सहजीकरण गर्ने प्रयास गर्दै आएको थियो । सन् २०१० मा चीनले केन्द्रीय बैंक, विदेशी भूमिमा रहेका रेनमिन्वी क्लियरिङ बैंक र सहभागी बैंकलाई चीनको अन्तर–बैंक बोन्ड बजारमा लगानी गर्ने अनुमति दियो । चीनले सन् २०१४ मा सांघाई–हङकङ स्टक कनेक्ट जारी गर्यो र त्यसको दुई वर्षमा सेन्झेन–हङकङ स्टक कनेक्ट सार्वजनिक गर्यो । दुवैले दुईतर्फ रेनमिन्वी–सेटलमेन्ट प्रणाली प्रयोग गर्छन् । सन् २०११ देखि पिपुल्स बैंक अफ चाइनाले योग्य विदेशी संस्थागत लगानीकर्तालाई कुनै नियन्त्रणविना चीनको अन्तर–बैंक बोन्ड बजारमा सीधै पहुँच दिएको छ । सन् २०१७ मा उसले चीन बोन्ड कनेक्ट स्थापना ग¥यो, जसले वैदेशिक लगानीकर्तालाई मूल भूमि चीनको स्थिर आयबजारमा पहुँच दिएको छ । यसका लागि हङकङका व्यापारिक पूर्वाधारको प्रयोग गर्नुपर्छ । यी प्रयासले प्रतिफल दिन थालेको छ ।
पुँजीबजार सुचारु गर्ने र चिनियाँ मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्ने चिनियाँ सरकारको प्रतिबद्धताका कारण एक दशकअघि कमै अर्थशास्त्रीले सोचेको चीनको बाह्य वित्तीय विस्तारले तीव्रता पाएको छ
फाइनान्सियल टाइम्सका अनुसार वैदेशिक लगानीकर्ताहरूले यो वर्ष हालसम्म सांघाई र सेनझेन–हङकङ स्टक कनेक्टमार्फत झन्डै ३५.३ अर्ब डलरबराबरको चिनियाँ स्टक किनेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत बढी हो । जुलाईसम्म यही माध्यमबाट उनीहरूले चीनमा रहेका फर्मका रेनमिन्वी प्रभुत्वको ए–सेयरमा २२८ अर्ब डलर स्वामित्वमा लिएका छन् । अझ वैदेशिक लगानीकर्ताले यो वर्ष चिनियाँ सरकारको झन्डै ७५ अर्ब डलरबराबरको बोन्ड खरिद गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढी हो । चाइना बोन्ड कनेक्टमार्फत उनीहरूले ५७८ अर्ब डलर खरिद गरेका छन् । विदेशी लगानीकर्तासँग हाल कुल ८०६ अर्ब डलर चिनियाँ स्टक र बोन्ड छ, जुन अघिल्लो वर्षभन्दा ४० प्रतिशत बढी हो ।
कोभिड–१९ को समयमा अमेरिका र युरोपेली संघले अँगालेको अत्यधिक खुकुलो मौद्रिक नीतिले पनि चिनियाँ सम्पत्तिको खरिद बढाउन सघायो । अर्थात्, अमेरिका र युरोपबाट ठूलो रकम बाहिरिरहेको छ । र, चीन अन्य उदीयमान बजार अर्थतन्त्रभन्दा सुरक्षित गन्तव्यको रूपमा देखिएकाले त्यहाँ लगानी केन्द्रित भएको छ । तर, यसको अर्थ ट्रेन्ड अल्पकालीन हो भन्ने होइन । ‘अफिसियल मोनिटरी एन्ड फाइनान्सियल इन्स्टिच्युसन फोरम’ले बर्सेनि प्रकाशित गर्ने विश्वव्यापी सार्वजनिक लगानी सर्वेक्षणले आगामी एक–दुई वर्षमा विश्वका ३० प्रतिशत केन्द्रीय बैंकले रेनमिन्वीको भण्डारण बढाउने योजना बनाएका छन् । अघिल्लो वर्ष यो दर १० प्रतिशत मात्र थियो । अफ्रिकाका झन्डै आधा केन्द्रीय बैंकले तिनको रेनमिन्वी भण्डारण वृद्धि गर्ने योजना बनाएका छन् । परिणामस्वरूप विश्वव्यापी वैदेशिक विनिमय भण्डारमा रेनमिन्वीको हिस्सा बढ्नेछ । यो दर आगामी पाँच वर्षसम्म औसतमा झन्डै एक प्रतिशतले वृद्धि हुनेछ । गोल्डम्यान स्याक्स र सिटीले गरेको अनुसन्धानले रेनमिन्वी आगामी एक दशकभित्र विश्वका प्रमुख तीन मुद्रामध्ये एक हुने अनुमान गरेको छ ।
चीनले पुँजीबजार खुला गर्दा उसले हल्ला नगरी केन्द्रीय बैंक डिजिटल मुद्रा (सिबिडिसी)को विकासलाई अगाडि बढायो । सिबिडिसीलाई उसले चुनिएका दश प्रमुख सहरमा परीक्षण गर्दै छ । विश्वका ८० प्रतिशत केन्द्रीय बैंकले डिजिटल मुद्रा ल्याउने प्रयास गरिरहेका भए पनि १६ प्रतिशत मात्र पाइलट स्टेजमा पुगेका छन् । यस हिसाबमा चीन निकै अगाडि बढिरहेको देखिन्छ । चिनियाँ केन्द्रीय बैंकले ल्याएको डिजिटल मुद्राको सम्भावना अत्यधिक छ ।

‘बेल्ट एन्ड रोड इनिसियटिभ’मार्फत वृद्धि हुने व्यापार तथा लगानी बहावले अन्तर–सिमाना लेनदेनमा चिनियाँ डिजिटल मुद्राको प्रयोग बढाउनेछ । जसले अमेरिका नेतृत्वको स्विफ्ट सञ्जालमाथिको निर्भरता कम गर्नेछ भने चीन नेतृत्वको सजिलो क्षेत्रीय डिजिटल मुद्राको भुक्तानी प्रणालीको विकासको जग तयार हुनेछ । डिजिटल मुद्राले चीनलाई उसको बहु–खर्ब डलरको घरेलु ऋणलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नेछ र सँगसँगै रेनमिन्वीलाई अन्तर्राष्ट्रिय मुद्रामा बदल्न पनि ठूलो बजार निर्माण हुनेछ । चीनले जस्तोसुकै चुनौती सामना गरे पनि उसका वित्तीय उदयलाई बेवास्ता गर्न सकिँदैन ।
झाङ जुन फुदान विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्सका डिन हुन्, साथमा उनी चाइना सेन्टर फर इकोनोमिक स्टडीका निर्देशक पनि हुन् ।