नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा कुनै न कुनै भूमिकामा काम गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार मात्रै सन्न्यासको घोषणा गरेका उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले सन्न्यासको घोषणासँगै धेरैले पारस आगामी दिनमा के गर्छन् ? भन्ने चासो दिँदै आएका थिए । सन्न्यास लिनुका कारण तथा भविष्यका योजना सार्वजनिक गर्ने गरी उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो क्रममा उनले भने, ‘क्यानमा व्यवस्थापकीय रूपमा काम गर्न चाहन्छु, दुई दशक नेपाली क्रिकेटमा बिताएको अनुभव केही भए पनि म क्यानमार्फत बाँड्न चाहन्छु ।’
दुई वर्षपछि क्यानको निर्वाचन पनि हुँदै छ । कतिपयले क्यानको निर्वाचनका पारसले सन्न्यान लिएको हुन सक्ने अनुमान पनि गरेका छन् । धेरैले क्यानमै रहेर काम गर्न सुझाब दिएको उनले पनि बताएका छन् । ‘पारस खड्का क्यानमा जानुपर्छ, त्यहाँ राम्रो काम गर्नुपर्छ भन्ने सुझाब केही समयदेखि पाउँदै आएको छु,’ उनले भने, ‘पारस भन्दैमा एकैपटक कोषाध्यक्ष वा अध्यक्ष हुने होइन, त्यहाँ केवल मेरो अनुभव बाँड्ने हो, सल्लाह र सुझाबका साथ नेपाली क्रिकेटलाई नयाँ बाटो र उचाइमा पुर्याउने लक्ष्य छ ।’
पारसले दश वर्ष नेपाली टोलीको कप्तानी गर्दा ज्ञानेन्द्र मल्ल उपकप्तान थिए । ज्ञानेन्द्रले नै पटकपटक टोलीमा पारसको खाँचो भएको बताएकाले आफू राष्ट्रिय टोलीमा आबद्ध भइरहेको उनले बताए । ‘मैले दश वर्ष कप्तानी गर्दा ज्ञानेन्द्र उपकप्तान थिए, उनले मलाई कैयौँपटक टोलीलाई एकसाथ अगाडि बढाउनुपर्ने भनेका थिए, यसकारण मैले टोली नछाडेको हुँ,’ उनी भन्छन्, ‘यो दुई वर्ष हेरेँ, धेरैपटक सन्न्यास लिने सोच बनाएँ तर सहीसमय नआएको जस्तो लाग्यो ।’
यसकारण सन्न्यासको घोषणा
अहिले सही समय र युवा पुस्तालाई मौका दिनुपर्ने उद्देश्यका साथ सन्न्यास घोषणा लिएको उनको भनाइ छ । पारस भन्छन्, ‘यो २४ वा ४८ घन्टाभित्र मैले निर्णय लिएको होइन, सही समय आएको महसुस भयो र सन्न्यास लिएको हुँ, आउँदा दिनमा एक व्यवस्थापकीय रूपमा क्यान र क्रिकेटमा मेरो सोच र भिजनले प्रभाव पार्न सकिन्छ कि जस्तो लागेको छ ।’
पत्रकार सम्मेलनमा निकै हँसिलो र सहजै उत्तर फर्काएका पारसले आफू कहिले पनि क्रिकेटबाट टाढा नभएको जनाए । ‘म क्रिकेटबाट टाढिएको होइन, टाढा पनि हुन्नँ, केवल फरक भूमिका मात्र अपनाउन लागेको हुँ, त्यो आउँदो दिनमा देख्नुहुने नै छ,’ क्रिकेटप्रतिको मोह देखाउँदै पारसले भने, ‘क्रिकेटले मलाई सबै दिएको छ, यहाँ मैले भनेका सबै पाएको छु तर पनि सन्न्यासको सही समय यो नै हो भनेर निर्णय लिएँ ।’
नेपालको एकदिवसीय मान्यता दुई वर्ष बाँकी रहेकोतर्फ इंगित गर्दै पारसले दुई वर्षभित्र राम्रो भिजनका साथ अगाडि लैजान सक्ने औँल्याए । सन् १९९७ वा २००५ मै नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको भए अहिले टेस्ट राष्ट्र भइसक्ने उनले बताए । ‘त्यही वेला नेपाल एकदिवसीय राष्ट्र भएको भए अहिले हामी टेस्ट टोली भइसक्ने थियौँ,’ पुराना दिनमा उनी फर्किए, ‘अहिलेका युवा खेलाडी धेरै नै प्रतिभावान् छन्, उनीहरूले नेपाली क्रिकेटलाई एक नयाँ उचाइमा पु¥याउने विश्वास छ ।’ उनले नेपाल टेस्ट राष्ट्र भएको हेर्न चाहेको पनि बताए । ‘मेरो पहिला र अहिलेको सपना भनेको नेपाल टेस्ट टोलीका रूपमा हेर्नु हो, यो एकल प्रयासले सम्भव छैन, यसमा सबैले उत्तिकै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘यसमा सम्बन्धित निकायले पनि त्यत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्छ, बाटो कठिन छ त्यो गाह्रो पनि छैन, केवल यसमा नीति बनाएर अगाडि बढ्नुपर्छ ।’
अहिलेका युवा खेलाडीहरू भाग्यमानी रहेको उनको भनाइ छ । आफूहरूको पालामा टेलिभिजन हेरी वा अन्य माध्यमबाट क्रिकेट खेल्नु र सिक्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘हाम्रो पालामा अहिलेको जस्तो प्रविधि थिएन । यसकारण अहिलेका युवा खेलाडी भाग्यमानी छन्, उनीहरूले एक्सपोजर र प्रविधिको सहयोग पाएका छन्,’ उनले भने । पत्रकार सम्मेलनमा पारसले केही समयपछि नै आफू क्रिकेट एकेडेमी सञ्चालन गर्ने पनि जानकारी दिए ।
नेपाली राष्ट्रिय टोलीबाट उनले १ अगस्ट २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय टी–२० मा १६ मार्च सन् २०१४ मा हङकङविरुद्ध डेब्यु गरेका थिए । सन् २००४ मै पारसले पहिलो श्रेणी क्रिकेटमा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । नेपालको क्रिकेट इतिहासमा एकदिवसीय तथा अन्तर्राष्ट्रिय टी–२० मा शतकीय इनिङ खेल्ने पारस एक्लो खेलाडीसमेत हुन् ।