नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
उनको नेतृत्वमा नेपाली टोलीले एकदिवसीय मान्यता पाउनुको साथै टी–२० विश्वकपसम्म पुगेको थियो । फेसबुकमा उनले लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक तथा सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु ।’ पूर्वकप्तान पारसको सन्न्यासले नेपाल क्रिकेट संघ, सिनियर र जुनियर टोलीसँगै क्रिकेट समर्थक स्तब्ध भएका छन् ।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पारसको निर्णयप्रति नेपाली क्रिकेटका लागि दुर्भाग्यजस्तै भएको प्रतिक्रिया दिएका छन् । ‘पारसको निर्णय सबैले सम्मान नै गर्नुपर्छ, तर मेरो व्यक्तिगत रूपमा यो निर्णय आउनु नेपाली क्रिकेटका लागि एक किसिमले दुर्भाग्य नै जस्तो हो,’ कप्तान मल्ल भन्छन् । आउँदा दिनमा पारस टोलीमा हुनु र नहुनुमा धेरै असर गर्ने मल्लको बुझाइ छ । विशेषतः नेपालले आउने विभिन्न अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा पारसको अभाव खड्किने उनले बताए ।
‘एक खेलाडीका रूपमा मात्र नभएर पारस टिम लिडर पनि हो, यो वेला हामीलाई पारसजत्तिकै व्यक्तित्व भएको क्रिकेटर आवश्यकता छ, हामीले डे«सिङ रुममा पारसलाई मिस गर्नेछौँ,’ पारसको अभाव खड्किने बताउँदै कप्तान मल्लले भने, ‘मुख्यतः मैले ओडिआईमा पारसको कमी हुने देखेको छु ।’ पारससँग सन्न्यासका बारेमा कुराकानी भइरहने उनले जनाएका छन् । ‘हामीबीच सन्न्याससम्बन्धी वा स्टेप अप गर्नेजस्तो कुरा भइरहन्थ्यो,’ मल्लले भने, ‘जस्तोसुकै अवस्था भए पनि हामीले एक खेलाडीको निर्णय र योगदानको सम्मान गर्नुपर्छ ।’


नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले पूर्वकप्तान पारसको सन्न्यासको घोषणाबाट आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल र मिडियामा आएपछि मात्र पारसले नेपाली टोलीबाट सन्न्यास घोषणा लिएको थाहा पाएको क्यानका सचिव प्याकुरेलले बताए । ‘हामीले यो अवस्थामा पारसले सन्न्यास लिन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ, किनभने आइसिसी विश्व क्रिकेट लिग २ का लागि मंगलबारदेखि नै बन्द प्रशिक्षणको सुरु गर्ने तयारी गरिसकेका थियौँ, यो क्याम्पमा पारसको नाम पनि थियो, अचानक पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको थाहा पाएँ,’ प्याकुरेलले भने, ‘यदि क्यानसँग केही छलफल गरेको भए सन्न्यासबारेमा प्रावधिक रूपमा केही कुराकानी हुन सक्थ्यो, तर निर्णय नै गरिसकेको अवस्थामा केही गर्न सकिन्न ।’
अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुने क्रममा रहेको नेपाली टोलीले पारसको सन्न्यास घोषणापछि धेरै असर पुर्याउने उनले बताए । ‘सिरिजको तयारीमा लागेका वेलामा पारसको सन्न्यासले धेरै असर गर्छ जस्तो लाग्छ, केही समयपछि सन्न्यास लिँदा राम्रो हुने थियो,’ आउँदो दिनमा पारसको अभाव हुन सक्नेतर्फ इंगित गर्दै क्यानका सचिव प्याकुरेलले भने, ‘अब उनको स्थानमा कसलाई खेलाउने भन्ने महत्वपूर्ण छ ।’ नेपाली क्रिकेटलाई योगदान दिएका पारसको बिदाइ कार्यक्रम क्यानले अवश्य नै गर्ने उनले जानकारी दिएका छन् । ‘सम्भवत पारसले कुनै सिरिजमा मेरो अन्तिम खेल भनेको भए त्यहीअनुसार नै बिदाइ कार्यक्रम राखिन्थ्यो, त्यो अवसर पनि छैन अब तर हामी पारसको बिदाइ कार्यक्रम अवश्य राख्छौँ ।’
- एकदिवसीय डेब्यू : सन् २०१८, १ अगस्ट नेदरल्यान्ड्सविरुद्ध
- अन्तिम एकदिवसीय खेल : सन् २०२०, १२ फेब्रुअरी, अमेरिकाविरुद्ध
- अन्तर्राष्ट्रिय टी–२० डेब्यू : २०१४, १६ मार्च, हङकङविरुद्ध
- अन्तिम अन्तर्राष्ट्रिय टी–२० : २०२०, ४ मार्च, थाइल्यान्डविरुद्ध
- पहिलो श्रेणी डेब्यू : २००४, २३ अप्रिल, मलेसियाविरुद्ध
- अन्तिम पहिलो श्रेणी खेल : २००५, २ मे, हङकङविरुद्ध
- लिस्ट ए डेब्यू : २०१४, १३ जनवरी अमेरिकाविरुद्ध
- अन्तिम लिस्ट ए खेल : २०२०, १२ फेब्रुअरी, अमेरिकाविरुद्ध
- टी–२० खेल डेब्यू : २०१२, १३ मार्च, हङकङविरुद्ध
- अन्तिम टी–२० खेल : २०२०, ४ मार्च, थाइल्यान्डविरुद्ध
सन् २००२ देखि पारस नेपाली टोलीसँग आबद्ध छन् । उमेरदेखि सिनियर लेभलसम्म पारसले २१ वर्ष नेपाली क्रिकेट टोलीमा बिताएका छन् । जीवनकै ठूलो उपलब्धिका रूपमा उनले नेपालका लागि खेल्नु नै जनाएका छन् । ‘नेपालका लागि खेल्नु मेरो जीवनकै सर्वश्रेष्ठ उपलब्धि हो,’ पारसले भनेका छन्, ‘क्रिकेट यात्रामा साथ दिने, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहनेछु ।’ पारसले यो दुई दशक नेपाली क्रिकेट टोलीमा बिताएको मिठो यादका रूपमा आफूसँगै रहने जनाएका छन् । उनले नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पु¥याउने विश्वास लिएका छन् ।
सन् २००२ मा यू–१५ टोलीबाट पारसले क्रिकेट खेल्न थालेका हुन् । उमेर समूह हुँदै उनले राष्ट्रिय टोलीमा स्थान बनाए । सन् २००९ देखि २०१९ सम्म पारसले नेपाली सिनियर राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । पारसकै कप्तानीमा नेपाल डिभिजन एकमा उक्लँदै अस्थायी रूपमा एकदिवसीय मान्यता प्राप्त गर्नुका साथै सन् २०१४ मा बंगलादेशमा नेपालले ऐतिहासिक रूपमा आइसिसी टी–२० विश्वकप खेलेको थियो । १५ अक्टोबर २०१९ मा पारसले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका थिए । पारसले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना अझै बामे सर्दै गरेको रूपमा लिएका छन् ।
पारसले १० एकदिवसीय खेलमा एक शतक तथा एकै अर्धशतकीय इनिङ्समा तीन सय १५ रन बटुलेका छन् । एकदिवसीय खेलमा उनले नौ इनिङ्समा नौ विकेट हात पारेका छन् । यसैगरी अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले ३३ खेलमा ३२ इनिङ्स खेल्दै सात सय ९९ रन जोडेका छन् ।
सन्न्यास घोषणामा पारसले भने,
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनकै सर्वश्रेष्ठ उपलब्धि हो । सन् २००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु ।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् । मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछौँ भन्ने विश्वास लिएको छु ।
अलराउन्डर पारस
जुनियर वा सिनियर टोली नै किन नहोस् पारस सधैँ अलराउन्डर भूमिका आफूलाई प्रस्तुत गर्छन् । आक्रामक रूपमा ब्याटिङ गर्ने तथा आवश्यक परेको वेलामा बलिङबाट विकेट लिन सक्नु नै पारसको खुबी हो । पारस क्रिजमा रहँदासम्म नेपालले अन्तिम बलसम्म जितको आशा गरेकै हुन्छ । नेपाली टोलीमा पारसलाई बलिङ, ब्याटिङ र फिल्डिङमा एकनासको प्रदर्शन गर्न सक्ने खेलाडीका रूपमा लिने गरिन्छ । पारसले जुनियरदेखि सियिनर लेभलसम्म आफ्नो नाममा फरक–फरक कीर्तिमान राखेका छन् ।
नेपालका लागि एकदिवसीय, अन्तर्राष्ट्रिय टी–२० तथा लिस्ट एमा सबैभन्दा धेरै व्यक्तिगत रन प्रहार गर्ने पारस नै हुन् । उनले अन्तर्राष्ट्रिय टी–२० र एकदिवसीयमा नेपालबाट समान एक शतकीय प्रहार गरेका छन् । यो उपलब्धि हात पार्ने उनी एक मात्र नेपाली क्रिकेट हुन् । २८ जनवरी २०१९ मा पारसले युएईविरुद्ध एकदिवसीय खेलमा एक सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए । एकदिवसीय खेलमा पारसले दोस्रो तथा पाँचौँ विकेटका लागि कीर्तिमानी साझेदारी गरेका छन् । सन् २०१९, २८ जनवरीमा पारसले ज्ञानेन्द्रसँग युएईविरुद्ध ६२ रनको साझदोरी गरेका थिए । सोही खेलमा उनले रोहितकुमार पौडेलसँग पाँचौँ विकेटका लागि ५४ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
पारसले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । पारसले अन्तर्राष्ट्रिय टी–२० खेलमा विश्वकीर्तिमान राखेका छन् । सन् २०१९, १९ सेप्टेम्बरमा सिंगापुरविरुद्ध लक्ष्य पछ्याउने क्रमम पारसले एक सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए । कप्तानीका रूपमा लक्ष्य पछ्याउँदै शतकीय प्रहार गर्ने उनी विश्वकै एक मात्र खेलाडी ह्ुन् । सो खेलमा उनले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गरेका थिए ।
पारसले नोभेम्बर २००९ मा एसिसी टी–० २० मा पहिलोपटक नेपाली टोलीको कप्तानी गरेका थिए । उनकै कप्तानीमा नेपालले सन् २०१० मा काठमाडौंमै भएको आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–५ को उपाधि हात पारेको थियो । त्यसपछि उनले आफ्नो कप्तानीमा नेपाललाई आइसिसी डिभिजन–३ सम्मको विजेता बनाए । सन् २००४ मा पारसले मलेसियाविरुद्ध यू १५ टोलीबाट डेब्यू गरे । अर्को वर्ष उनले सिनियर टोलीबाट इन्टरकन्टिनेन्टल कपमा हङकङविरुद्ध डेब्यू गरे । सन् २००६ मा नेपालले न्युजिल्यान्डलाई हराउँदै यु–१९ विश्वकपको प्लेट च्याम्पियन हुँदा पारस मुख्य सदस्यका रूपमा थिए । पारसले यू–१९ विश्वकप तीनपटक खेलेका छन् ।
पारस २०१२ को एसिसी एलिट ट्रफी तथा २०१३ को एसिसी टी–२० कपकै म्यान अफ द सिरिज खेलाडी बनेका थिए । सन् २०१४ मा नेपालले पारसको कप्तानीमा टी–२० विश्वकप खेल्दा अफगानिस्तान र हङकङलाई छनोट चरणमा हराएको थियो । आयोजक बंगलादशेसँग प्रतिस्पर्धात्मक खेलमा नेपाल पराजित भयो । पारसले सन् २०१५ मा नेपाललाई वल्ड क्रिकेट लिग च्याम्पियनका लागि छनोट गराएका थिए । सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पाउँदा पारस नै नेपाली टोलीका कप्तान थिए ।