नेपाली उत्पादनलाई माया गर्ने विदेशी र विदेशमा रहेका नेपालीका कारण विगतमा नेपाली मदिरा कोसेलीका रूपमा जाने गरेकोमा पछिल्ला दिनमा व्यावसायिक रूपमै निर्यात हुन थालेको छ । आव ०७७/७८ मा नेपालले विश्वका विभिन्न मुलुकमा ७ करोड ७९ लाख रुपैयाँबराबरको ३ लाख ६९ लिटर मदिरा निर्यात गरेको छ ।
थोरै–थोरै परिमाण र मूल्यमा नेपाली मदिराको निर्यात हुने गरेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले बताए । ‘विदेशमा रहेका नेपालीले मात्रै होइन, विदेशीले पनि नेपाली मदिरा मन पराउँछन्, विश्वका धेरै मुलुकमा नेपाली मदिराको माग छ,’ उनले भने, ‘पहिला–पहिला कोसेलीका रूपमा जाने नेपाली मदिराको आजभोलि व्यावसायिक निर्यातसमेत हुन्छ, जुन हाम्रा लागि खुसीको कुरा हो ।’
अहिले वल्र्ड दरबार, ब्ल्याक चिम्नी, ८८४८, गोर्खा बियर, नेपाल आइस बियर, खुकुरी रमलगायत विभिन्न ब्रान्डका मदिरा विदेश निर्यात भइरहेका छन् । खासगरी नेपालीहरू बढी भएका मुलुक र सहरमा नेपालका मदिरा निर्यात भइरहेको मदिरा व्यवसायी महासंघका संस्थापक अध्यक्ष सन्तोषकुमार पाण्डेले बताए । ‘खासगरी नेपालमा धेरै रुचाइएका नेपाल आइस तथा गोर्खा बियर, खुकुरी रमलगायत मदिरा जापान, अमेरिका, बेल्जियम र युरोपका अन्य मुलुकमा व्यावसायिक रूपमा निर्यात हुन थालेको छ,’ उनले भने, ‘परिमाण ठूलो छैन, तर निर्यात
भने भइरहेको छ ।’
दर्जन मुलुकमा निर्यात हुन्छ नेपाली मदिरा
नेपालले दुई दर्जनभन्दा बढी मुलुकबाट ठूलो परिमाणमा मदिरा आयात गर्ने गरे पनि निर्यात भने एक दर्जनजति मुलुकमा मात्रै गर्न सकेको देखिन्छ । गत आव ०७७/७८ मा नेपालले अस्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, दक्षिण कोरिया, सिंगापुर, अमेरिका र बेलायतमा मदिरा निर्यात गरेको देखिन्छ ।
नेपालले ३ करोड १७ लाख रुपैयाँबराबरको २ लाख ४१ हजार लिटर बियर निर्यात गरेको छ । त्यस्तै, ५ लाख ७४ हजार रुपैयाँबराबरको ८ सय २ लिटर मदिरा (५० युपी), १ करोड २१ लाखबराबरको १२ हजार ८ सय लिटर ह्विस्की, २ करोड ७० लाखबराबरको ४६ हजार ४ सय लिटर रम र २३ लाख रुपैयाँबराबरको ५ हजार लिटर भोड्का निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
मदिरा निर्यातको सम्भावना कति छ ?
नेपालमा उत्पादन लागत बढी भएका कारण नेपाली मदिरा प्रतिस्पर्धी हुन सकेको छैन । जसका कारण अपेक्षित रूपमा मदिरा निर्यात गर्न नसकिएको संघका अध्यक्ष केसी बताउँछन् । नेपाली मदिराको माग धेरै भए पनि तुलनात्मक रूपमा लागत बढी भएकाले सोचेजति निर्यात गर्न नसकिएको उनले बताए । खासगरी कच्चा पदार्थको भन्सार महसुल बढी भएका कारण लागत बढी भएको उनको भनाइ छ । ‘नेपालमा मदिराका लागि आवश्यक कच्चा पदार्थमा भन्सार दर अधिक छ, तीन वर्षमा मात्रै शतप्रतिशत भन्सार महसुल बढाइएको छ,’ उनले भने, ‘त्यसैले हाम्रो मदिराको उत्पादन लागत बढेर मूल्य बढी पर्छ र प्रतिस्पर्धी हुन सकेको छैन ।’
विदेशी मदिरामा अर्बौँ बाहिर गइरहेको अवस्थामा नेपालले पनि लचिलो नीति लिएर नेपाली ब्रान्डलाई विदेशमा प्रवद्र्धन गर्नुपर्ने महासंघका संस्थापक अध्यक्ष पाण्डे बताउँछन् । ‘हाम्रो व्यापार घाटा ठूलो छ, मदिराको व्यापार घाटा मदिराले नै पूर्ति गरोस्,’ उनले भने, ‘कच्चा पदार्थ आयातलगायतमा लचिलो नीति लिएर नेपाली मदिरा ब्रान्डलाई विदेशमा प्रवद्र्धन गरिनुपर्छ ।’