ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ‘न्यानो नानी’ परियोजना–२ का लागि आर्थिक सहयोग गरेको छ । बैंकले स्थापनाको १३औँ वार्षिकोत्सवको अवसर पारेर १२ वटा ‘न्यानो नानी’ निर्माणका लागि सहयोग गरेको हो ।
बैंकले परियोजनाका लागि १० लाख २० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न न्यानो नानीको प्रयोग हुन्छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत उक्त सहयोग गरेको जनाएको छ । बैंकको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि बनेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले चेक हस्तान्तरण गरेको जनाइएको छ ।
कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थितिमा कमलपोखरीको कार्यालय प्रांगणमा वार्षिकोत्सव मनाएको जनाएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ ।
विभिन्न योजना सार्वजनिक
बैंकले १३औँ वार्षिकोत्सवका अवसरमा ‘ज्योति परिवर्तनकारी कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मूल्यांकन तथा न्यूनतम कागजातसहितको ज्योति परिवर्तनकारी कर्जा ल्याएको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले शून्य मौज्दातमा बचत, डिम्याट र मेरो सेयर एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ खाता तथा ज्योति कन्ट्याक्टलेस कार्ड पनि सार्वजनिक गरेको छ ।