जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगमा बहस, कसले पाउला आधिकारिकता ?

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण
जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगमा बहस, कसले पाउला आधिकारिकता ?

फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारितासम्बन्धी विवादको टुंगो लगाउन निर्वाचन आयोगमा आज बहस भइरहेको छ।  आयोगले आजै बहस सक्ने गरी तयारी गरिरहेको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए। 

जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो आफू आधिकारिक भएको दाबी गरेका थिए। 

निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो।  इजलासले साउन ३ गतेदेखि आफ्नो काम थालेको थियो। निर्वाचन आयोगमा अहिले यादव र ठाकुर पक्षका कानुन व्यवासयीले बहस गरिरहेका छन्।

आयोगले पहिलो चरणको बहसपछि दुवै पक्षलाई आफ्नो सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। यादव पक्षले पार्टीको कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दबी गरेको छ। यादव पक्षका कार्यकारिणी सदस्यहरू आधिकारिकता दाबी गर्दै सशरीर आयोग पुगेका थिए।

यता ठाकुर पक्षले भने पुस ७ गतेको बैठकले आफूलाई कार्यकारी अधिकार दिएको र त्यसको आधारमा कार्यकारिणीमा हेरफेर गरेको बताएकाे छ। यादव पक्षले त्यसलाई फर्जी र किर्ते भएको बताउँदै आएको छ।
 

See More On

सुझावित समाचार