नेपाली कांग्रेसका १० नेताले क्रियाशील सदस्यताको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यतासम्बन्धी विवादले पार्टी केन्द्रीय कार्यालयसम्म आएर धर्ना र आमरण अनशनसम्म बस्नुपर्ने अवस्था आउनु गम्भीर भएको उनीहरूको भनाइ छ।
विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीलाई बलियो नबनाउने उनीहरूको बुझाइ छ। समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ।
महाधिवेशनका लागि समयको सुविधा नभएको बताउँदै उनीहरूले उपलब्ध समयसमेत साँघुरिँदै गएको र यस्तो वेला क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत नहुने बताएका छन्। ‘पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन,’ विज्ञप्तिमा भनिएको छ।
उनीहरूले क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिलाई पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरूको विधिसंगत र तार्किक समाधान गर्न आग्रह गरेका छन्।
कस–कसले विज्ञप्ति जारी गरे ?
१. डा.चन्द्र भण्डारी
२. धनराज गरुङ
३. कमला पन्त
४. रत्ना शेरचन
५. गगन थापा
६. बद्री पाण्डे
७. गुरुराज घिमिरे
८. सरिता प्रसाईं
९. रामकृष्ण यादव
१०. किरण यादव