बैंकिङ क्षेत्रको लगानीले कस्तो अर्थतन्त्रको निर्माण भयो ? व्यक्ति, समाज र मुलुकका लागि कस्तो योगदान गर्यो ? वस्तुनिष्ठ मूल्यांकन आवश्यक छ।
नेपालमा ८० को दशकसम्म स्थानीय बैंकहरू मात्रै थिए । त्यसपछि ८४ बाट निजी बैंकहरू आए र वास्तविक अर्थमा बैंकिङ अभ्यास सुरु भयो । त्यसअघि बैंकिङमा सीमित प्रडक्ट मात्र थिए । ग्राहकलाई के चाहिन्छ भन्ने भन्दा पनि जे दिन्छौँ ग्राहकले त्यही लिन्छन् भन्ने थियो ।
परम्परागत रूपमा चलिरहेको बैंकिङ प्रणालीमा निजी क्षेत्रको प्रवेशसँगै यो क्षेत्र पुनःपरिभाषित पनि हुँदै गयो । बैंक सेवा दिन हो भन्ने अवधारणाले ठाउँ लियो । ग्राहकलाई के चाहिन्छ भन्ने विषयको महत्व बढ्न थाल्यो । मैले बैंकिङ अभ्यास सुरु गर्दा कल निक्षेप भन्ने प्रडक्ट प्रयोगमै थिएन । प्रविधिको प्रयोग बैंकिङमा बढ्दै गएसँगै बैंकिङ सरलीकृत पनि हुँदै गएको छ । ग्राहकलाई हामीले बैंकबाट यस्तो सेवा पाउँदारहेछौँ भन्ने जानकारी हुन थाल्यो । बैंक तथा वित्तीय संस्थाहरूको संख्या सन् २००० को दशकबाट उच्च दरमा वृद्धि भएको हो । लगानीकर्ताले बैंकहरूलाई पैसा कमाउने मेसिनको रूपमा लिन थाले ।
सञ्चालकहरूको अपेक्षा पूरा गर्न, बैंकहरूले प्रतिफल बढाउन खोज्नु गलत होइन । तर, बैंकिङ व्यवसाय अरू व्यवसायभन्दा फरक छ । बैंक त निक्षेपकर्ताको पुँजीबाट चल्ने संस्था हो । बैंकले १० रुपैयाँ लगानी गर्दा सर्वसाधारणको ९० रुपैयाँ लगानी भइरहेको हुन्छ । निक्षेपको संरक्षकसमेत हो, बैंक । बैंकिङ क्षेत्रमा लाग्नेको दायित्व पनि धेरै हुने भएकैले राष्ट्र बैंकले यसलाई सूक्ष्म नियमन गरिरहेको हुन्छ । यही कारण राष्ट्र बैंकले निश्चित प्रुडेन्सियल मापदण्डहरू पनि तोक्ने काम गर्यो, जसमा क्रमिक संशोधन पनि भइरहेको छ ।
बैंकले अर्थतन्त्र विस्तारका लागि धेरै ठूलो योगदान पुर्याइरहेको छ । अहिलेका व्यवसायहरूको आकार निकै ठूलो भइसकेको छ । बैंकले धेरै दु:ख दिए, ब्याज धेरै लिए भनेर व्यवसायीहरूबाट अलि बढी नै राजनीतीकरण भइरहेको छ । ती व्यवसायीका व्यवसायमा समेत बैंकले ७० देखि ८० प्रतिशत लगानी गरिरहेको छ । बैंकले यो दरमा लगानी नगरेको भए मुलुकको अर्थतन्त्र, व्यवसायीहरूको व्यवसाय यो आकारमा आइपुग्थ्यो होला त ? त्यसैले बैंकिङ क्षेत्रको योगदानलाई बुझ्न जरुरी छ । अहिले जलविद्युत् क्षेत्रमा लगानी बढिरहेकैले देश लोडसेडिङमुक्त भएको छ ।
९० को दशकमा बैंकहरूले जलविद्युत्मा लगानी गर्दैनथे, तर अहिले यो क्षेत्रमा बैंकको लगानी उल्लेख्य बढेको छ । जलविद्युत् क्षेत्रमा सरकारबाट आएको लगानीको हिस्सा ठूलो छैन । निजी क्षेत्रले ल्याएका आयोजनामा २० देखि ३० प्रतिशत मात्रै निजी र सर्वसाधारणको लगानी छ । अरू त सबै बैंकले नै लगानी गरिरहेको हो । त्यसैले बैंकलाई मात्रै गाली गर्ने प्रवृत्ति सही होइन । लोडसेडिङ अन्त्यमा बैंकिङको भूमिका उल्लेखनीय छ । यसरी हेर्दा अर्थतन्त्रमा बैंकको राम्रो योगदान देख्न सकिन्छ ।
जिम्मेवार बैंकिङ : अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदानको वस्तुनिष्ठ मूल्यांकन भने आवश्यक छ । हाम्रो लगानीले कस्तो अर्थतन्त्रको निर्माण भयो त ? व्यक्ति, समाज र मुलुकका लागि कस्तो योगदान गर्यो भन्ने महत्वपूर्ण छ । हामीले वित्तीय सम्पत्तिका लागि गर्ने लगानी र वास्तविक अर्थतन्त्रका लागि गर्ने लगानीमा धेरै फरक छ । हामीले वास्तविक अर्थतन्त्रमा जब लगानी गर्छौं, त्यसले वस्तु तथा सेवाको उत्पादन गर्छ । रोजगारी सिर्जना हुन्छ, अर्थतन्त्रमा वृद्धि हुन्छ र बैंकले थप लगानीको लागि पुँजी पनि पाउँछ । राम्रो लगानीले बैंकको लगानी पनि सुनिश्चित हुन्छ । बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र, व्यवसायी र साना ऋणीहरूको वृद्धिमा योगदान दिँदादिँदै पनि बैंकहरू धेरै मुनाफामुखी भइरहेका छौँ । मुनाफा गर्नु नराम्रो होइन, तर यसको असरमा पनि ध्यान दिनुपर्ने वेला भएको छ ।
हामीले कोइलाखानीमा लगानी गरिरहेका छौँ वा वनफँडानी गर्ने व्यवसायीलाई लगानी गरिरहेका छौँ कि वास्तविक रोजगारी सिर्जना गर्ने उद्योगमा गरिरहेका छौँ, त्यसको अर्थ फरक हुन्छ । होटेलमा लगानी गर्नु र क्यासिनोमा लगानी गर्नु जसरी फरक हुन्छ, यसमा पनि त्यस्तै फरक हुन्छ । हामीले उत्तरदायित्वसहितको लगानी गर्नुपर्छ । हामी कहाँ चुक्यौँ ?

सबै बैंकलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । यद्यपि, व्यापार कसरी बढाउने, नाफा कसरी बढाउने भन्नेमा बढी केन्द्रित हुँदा कतिपय संस्थाको स्वास्थ्यमा नै समस्या देखियो । केही संस्था समस्याग्रस्त पनि भए । सन् २००९/०१० तिर तरलता अभाव निकै गहिरियो । बीचमा केही सहज भए पनि फेरि यो प्रवृत्ति दोहोरियो । यो किन भयो त ? नाफाका लागि अधिक लोभले नै यस्तो समस्या भएको हो । संस्थागत सुशासनमा बैंकिङ क्षेत्र अलि चुकेको छ । यही कारण संस्थाहरू समस्याग्रस्त भए । केही मर्जरमा गएर सेफ ल्यान्डिङ भएका छन् । अझै पनि कतिपय बैंकहरू धेरै नाफा कमाउने र पहिलो बन्ने होडबाजीमा लागेका छन् । प्रतिस्पर्धा हुनुपर्छ, तर आफ्नो आधारभूत पक्ष सही बनाएर मात्रै ।
संस्थागत सुशासनमा बैंकिङ क्षेत्र अलि चुकेको छ । यही कारण संस्थाहरू समस्याग्रस्त भए । केही मर्जरमा गएर सेफ ल्यान्डिङ भएका छन् । अझै पनि कतिपय बैंकहरू धेरै नाफा कमाउने र पहिलो बन्ने होडबाजीमा लागेका छन् । प्रतिस्पर्धा हुनुपर्छ, तर आफ्नो आधारभूत पक्ष सही बनाएर मात्रै ।
आफ्नो व्यवसाय बढाउनुपर्छ भनेर सबै पक्षमा सम्झौता गर्नुहुँदैन । कुनै व्यापारीलाई दुई करोड रुपैयाँ चाहिएको छ भने बैंकहरूले तीन करोड प्रस्ताव गरिरहेका छन् । त्यो बढी दिइएको पुँजीको पनि लागत छ । त्यसलाई दिगोपन दिन सकिएन भने भोलि त्यो रकम डुब्न सक्छ । आवश्यकता नै नभएको रकम ऋण लगानी गरेपछि त्यसको दुरुपयोग हुन्छ । उपभोगमा बढी खर्च हुन थाल्ला, सट्टेबाजीमा जान सक्छ । यस्ता अभ्यासले भविष्यमा अर्थतन्त्रमै समस्या ल्याउँछ । यसखाले अभ्यासपछि पनि बैंकहरू कसरी बचिरहेका छन् त ? धितोको रूपमा जग्गा नै लिने प्रचलनले बैंकहरूलाई बचाइरहेको छ । किनकि, जग्गाको मूल्य निरन्तर आकासिइरहेको छ । जग्गाको मूल्यमा क्र्यास आएमा बैंकिङ क्षेत्र नराम्ररी प्रभावित हुनेछ । हामीले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा यस्तो प्रभाव देखिसकेका छौँ । सन् १९८७ मा, १९९२ मा, १९९७ मा एसियन फाइनान्सियल क्राइसिस र सन् २००८ को विश्व आर्थिक मन्दी यसका गतिला उदाहरण हुन् । हामीले विश्वका यी उदाहरण देख्दादेख्दै लघु स्मरण राखेर गल्तीहरू दो¥याइरहेका छौँ भने भोलिका दिनमा निश्चय नै समस्यामा पर्छाैं ।
सबै बैंकमा यस्तो प्रवृत्ति नदेखिए पनि यो प्रवृत्तिले अन्यलाई समेत प्रोत्साहन गर्छ । अस्वस्थ प्रतिस्पर्धा बढाउँछ । संस्थागत सुशासनमा सञ्चालक समितिहरूको हस्तक्षेपले पनि यी प्रवृत्ति बढ्न थालेका हुन् । यही दबाबकै कारण बैंकका उच्च अधिकारीहरूले पनि आफ्नो अधिकारलाई समेत प्रयोग गर्न सकिरहेका छैनन् । त्यसैले वास्तविक अर्थतन्त्रलाई सहयोग पुग्ने दिगो लगानी बैंकहरूले गर्नुपर्यो । अहिले जो अगाडि छन्, त्यही वर्गमा नै कर्जा गइरहेको छ । नयाँ व्यवसायी उत्पादनमा बैंकहरू गएका छैनन् । नयाँ व्यवसायीको उत्पादनमा नै हाम्रो मुलुकको भविष्य निर्भर छ । पहिले–पहिले अध्ययन सकेपछि धेरै युवा जागिरे जीवनमा जान चहान्थे । अहिले परिदृश्य केही फरक भएको छ । व्यवसाय गर्न चाहने वर्गलाई बैंकहरू सहयोगी हुनुपर्छ । सामुदायिक स्तरमा गएरै लगानी गर्नुपर्छ । बैंकहरूले जसले व्यवसाय, उद्यम गर्न सक्छ, तिनलाई स्थानीय तहमै पुगेर लगानी गर्न सक्नुपर्छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अहिले गाउँ–गाउँमा शाखा पुर्याएका छन् । तिनले गाउँठाउँमा छरिएर रहेको सानोतिनो परिमाणको पुँजी पनि संकलन गर्यौँ । तर, के हामीले स्थानीयस्तरमा व्यवसायी उत्पादनमा योगदान गरेका छौँ त ? यो अहम् मुद्दा हो । त्यहाँ आर्थिक गतिविधि कम होलान्, तर हामीले फरक किसिमको बैंकिङ गर्नुपर्छ । त्यहाँ के सम्भव छ भन्ने विषयको पहिचान उनीहरूलाई नै गर्न लगाएर वातावरण तयार गर्नुपर्छ । बैंक एक्लैले यो कार्य गर्न नसक्ला, तर अन्यसँगको समन्वयमा त गर्न सकिन्छ । यसैका लागि दिगो बैंकिङ चाहिन्छ । म आबद्ध नबिल बैंकले यसखाले गतिविधि अघि बढाएको छ । यसरी काम गर्दा अर्थतन्त्रलाई योगदान दिने वास्तविक, उत्पादनमूलक क्षेत्रमा लगानी गरिन्छ, उपभोग र सट्टेबाजका लागि होइन ।
उत्पादनमा लाग्ने गरी उनीहरूको क्षमता विकास र जानकारी प्रवाह गरिन्छ । हामीले तयार गर्ने यी जनशक्तिसँग दीर्घकालीन सम्बन्ध स्थापना गर्ने गरेर काम गर्छौं । उनीहरूको व्यवसायलाई एकदमै नजिकबाट हेरेर, बाटो बिराएमा पुनः ट्र्याकमा ल्याएर काम गर्छौं । हामी लघु, साना तथा मझौला व्यवसाय, कृषि व्यवसायमा यसरी लगानी गर्नेछौँ । क्रमिक रूपमा सबै शाखाबाट यो कामलाई अगाडि बढाउँछौँ । यस्ता कामले हामीलाई धेरै फाइदा हुँदैन होला । तर, दीर्घकालमा हामीले स्थानीयस्तरका मानिस, त्यहाँको समुदाय र मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउन सक्छौँ भन्ने उद्देश्य हो । यस्तो लगानीको प्रभाव पनि छुट्टै हुन्छ ।
हामी पनि ग्लोबल अलायन्स अन बैंकिङ भ्यालुजमा अगाडि बढेका छौँ । यसको तीनवटा पाटा छन्– व्यक्ति, समाज तथा अर्थतन्त्र र वातावरण । वातावरणको कुरा नेपालमा निकै कम हुन्छ, विशेषगरी व्यावसायिक क्षेत्रमा । व्यावसायिक क्षेत्र यो विषयमा त्यति संवेदनशील छैन, जति हुनुपर्छ । बैंकिङ क्षेत्रले सबैको जीवनलाई छोइरहेको हुन्छ भने वातावरण संरक्षण वा वातावरण विनाश रोक्न बैंकजत्तिको राम्रो प्लाटफर्म के होला र ? यसमा अहिले जति गतिविधि भएका छन्, बैंकको लगानीको सहयोगमा नै भएका छन् । बैंकले लगानी प्रवद्र्धन गर्दा नै वातावरणमा सहयोगी हुने क्षेत्रमा गर्ने हो भने यसमा महŒवपूर्ण परिवर्तन ल्याउन सकिन्छ । वातावरण परिवर्तनलाई ध्यान दिएर गरिने लगानी नै दिगो बैंकिङ पनि हो ।
सर्कुलर इकोनोमीलाई सहयोग पुर्याउन सक्छौँ । अहिले सञ्चालन भइरहेका व्यवसायहरूलाई वातावरणलाई प्रभाव पार्ने बाइप्रडक्टहरूलाई पुनः प्रयोग गर्ने र कार्बनडाइअक्साड उत्पादन (इमिसन) शून्यमा लैजाने गरी अभिप्रेरित गर्नेतर्फ बैंकहरू जानैपर्छ । अहिले विकसित मुलुकहरू नै पनि धेरै ढिलो गरी यसमा गइरहेका छन् । हाम्रो विश्वको तापमानलाई १ दशमलव ५ डिग्री सेन्टिग्रेडभन्दा बढी हुन नदिने भनेर २०१५ मा गरिएको पेरिस सम्झौतामा धेरै मुलुकले प्रतिबद्धता जनाएका छन् । यसलाई सहयोग गर्ने गतिविधिमा बैंकिङ क्षेत्र पनि संवेदनशील हुनुपर्छ भन्ने अवधारणा विकास भएको छ । केही पहल भएका पनि छन् । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पिकाफ) पनि छ । यसमा विश्वका धेरै ठूला बैंकहरू आबद्ध भएका छन् । हामीले वातावरण जोगाउँदै उत्पादन वृद्धिमा सहयोग गर्छौं भनेर ती बैंकहरूले प्रतिबद्धता गरेका छन् । नेपालमा पनि दुई बैंकले पिकाफमा सहभागिता जनाइसकेका छन्, जसमा नबिल बैंक पनि रहेको छ ।
(पौड्याल नबिल बैंकका अध्यक्ष हुन्)
(कुराकानीमा आधारित)