जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको विषयमा आज निर्वाचन आयोगको इजलास बस्दै छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको इजलास आज ११ बजे बस्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
उनका अनुसार आयोगले महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव-बाबुराम भट्टराई दुवै पक्षलाई आयोगमा बोलाएको छ। दुवै पक्षको बहस सकिएपछि आयोगले निर्णय दिने श्रेष्ठले बताए। जसपाका महन्थ र उपेन्द्र दुवै पक्षले आधिकारिकता दाबी गर्दै आएका छन्।
जसपाको महन्थ पक्षले केपी ओली सरकारलाई समर्थन गरेपछि पार्टीमा विवाद बढेको थियो। महन्थ पक्ष ओली सरकारमा समेत सहभागी भएको थियो। तर, उपेन्द्र-बाबुराम पक्ष भने त्यसको विपक्षमा उभिएको थियो।
पार्टीभित्र विवाद बढ्दै गएपछि एकले अर्कोलाई कारबाही गरेका थिए। उपेन्द्र-बाबुराम पक्ष आफू आधिकारिक भएको दाबी गर्दै बहुमत कार्यकारिणी सदस्यसहित सशरीर निर्वाचन आयोगमा उपस्थित भएकाे थियाे। पार्टीको आधिकारिकता विवाद टुंगिएसँगै उपेन्द्र-बाबुराम पक्षले शेरबहादुर देउवा सरकारमा जाने तयारी गरेको छ।