माग सम्बोधन नभएका कारण बैठक बहिष्कार गर्‍यौँ : रावल (भिडियोसहित)

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता भीम रावलले आफूहरूको माग सम्बोधन नभएका कारण स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको बताएका छन् । 

स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगित गर्न र शीर्षतहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताए । अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए ।

उनले भने,  ‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौँ । स्वयं पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरूले हामीलाई झनै अप्ठ्यारो परेको छ । त्यसकारण अलिकति हामीलाई समयको आवश्यकता पर्यो । यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौँ । अनौपचारिक कुरा गरौँ । पार्टी अध्यक्ष र वरिष्ठ नेताको बीचमा शीर्ष तहमा कुराकानी गर्ने, हामीहरूबीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमति गरेका थियौँ । तदनुकूल अगाडि जाने कुरातर्फ अगाडि जाउँ भनेर उहाँहरूलाई हामीले आग्रह गर्यौँ । पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौँ, हाम्रो बैठकमा सहभागिता छैन । हामी हिँड्यौँ भनेर हिड्यौँ ।’


नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरेअनुरूप पार्टी बैठकहरू सञ्चालन गरिनुपर्ने बताए । 

सुझावित समाचार