देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । पार्टीको १४औँ महाधिवेशनको तयारी र सरकार सञ्चालनलगायत विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

बैठक बिहीबार दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकस्थल भने तय भइसकेको छैन । 

बैठकमा महाधिवेशनको तयारी, निर्वाचन निर्देशिकाबारे छलफल, क्रियाशील सदस्यता छानबिन, मन्त्रिमण्डल गठन र सरकारका कामकारबाहीबारे छलफल हुने उनको भनाइ छ । यसअघि मंगलबारकै लागि तय भएको बैठक सर्वोच्च अदालतको फैसला आउने भएपछि स्थगित भएको थियो । मंगलबारको सर्वोच्चको फैसलाबमोजिम संविधानको धारा ७६ (५) अन्तर्गत विपक्षी गठबन्धनका तर्फबाट देउवा बुधबार प्रधानमन्त्री नियुक्त भएका छन् ।


हाल मन्त्रिपरिषदमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् । 

बिहीबारको बैठकमा मन्त्रालय बाँडफाँड र मन्त्रिमण्डल विस्तारलगायतका विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए ।
 

सुझावित समाचार