कुनै न कुनै दुईपांग्रे वा चारपांग्रे सवारीसाधनको व्यवसाय ठूला समूहको व्यापारको अनिवार्य हिस्सा बन्न थालेको छ

उत्पादनमूलक उद्योगमा जमिरहेको व्यावसायिक घराना शंकर समूह यतिवेला गाडीको व्यापारमा पनि आक्रामक ढंगले लागेको छ । टिभिएस बाइक र स्कुटर बिक्री गर्दै आइरहेको यस घरानाले हालै मलेसियन प्रोटोन गाडीको बिक्री सुरु गरेको छ । विशाल समूहले नेपालमा चाइनिज कम्पनी ग्रेटवालका विभिन्न मोडल सार्वजनिक गर्दै छ । रोहिणी थपलियाले बिक्री गर्दै आइरहेको जापानिज ब्रान्ड माज्दा पनि विशाल ग्रुपले नै बिक्री सुरु गरेको छ । यो समूहले ७ ब्रान्डका गाडी आयात तथा बिक्री गर्छ । अटोमोबिल्स व्यवसायमा दुगड, गोल्छा र एमएडब्लू इन्टरप्राइजेज पनि अग्रणी मानिन्छन्, जसले ६–६ वटा चर्चित ब्रान्डका प्यासेन्जर, कमर्सियल गाडी र हेभी इक्विप्मेन्ट आयात तथा बिक्री गर्छन् ।
यी उदाहरण मात्र हुन् । देशमा उत्पादनमूलक उद्योग–कलकारखाना चलाइरहेका ठूला व्यावसायिक घराना व्यवसायमा विविधीकरणका साथै जोखिम न्यूनीकरण गर्नका लागि पनि गाडी आयात गरेर बिक्री गर्न सक्रिय रूपमा लागेका छन् । एउटै व्यावसायिक घरानाले ६–७ ब्रान्डका गाडी बिक्री गर्छन् । यतिसम्म कि, कतिपय ठूला घरानाको मुख्य आम्दानीको स्रोत नै अटो व्यवसाय हो । व्यावसायिक घरानाहरूबीच बर्सेनि नयाँ–नयाँ ब्रान्ड भित्र्याउन होडबाजी चलिरहेको छ । नेपालमा विश्वमा ख्याति कमाएका अधिकांश ब्रान्डहरू भित्रिसकेका छन् र कतिपय भित्रिने क्रममा छन् । व्यवसायीका अनुसार नेपालमा ५ करोड मूल्यसम्मका गाडी बिक्री हुन्छन् । झन्डै १ करोड रुपैयाँ मूल्यसम्मका बाइक नेपालमा बिक्रीमा राखेको देखिन्छ । ०७७ मंसिरदेखि लक्ष्मी ग्रुपले जर्मनीको प्रिमियम लक्जरियस ब्रान्ड बिएमडब्लू गाडी आधिकारिक रूपमा बिक्री सुरु गरेको छ ।
नेपालमा उद्योगधन्दा चलाइरहेका व्यवसायीहरू पनि व्यापारमा सिफ्ट भइरहेका छन्, त्यो पनि अटोमोबिल्सको । नेपाली बजारमा बर्सेनि नयाँ–नयाँ ब्रान्डहरू भित्रिरहेको लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ बताउँछन् । ‘अहिले मुलुकभित्र दर्जनौँ गाडीका ब्रान्डहरूबीच प्रतिस्पर्धा चलिरहेको छ,’ उनी भन्छन्, ‘पछिल्लो समय विद्युतीय कारमा प्रतिस्पर्धा चल्न थालेको छ ।’ यतिवेला अधिकांश व्यावसायिक घरानाले व्यवसाय विविधीकरणको सबैभन्दा उपयुक्त विकल्प गाडीको व्यापार बनाएका छन् । बजाज र टिभिएस मोटरसाइकलको स्वदेशमै एसेम्बल प्लान्ट सञ्चालनमा आइसकेको छ । शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालका अनुसार टिभिएसको बाइक, स्कुटर र अटो स्वदेशमै एसेम्बल हुन थालेको छ ।
देशका ठूला व्यावसायिक घरानाहरूबीच गाडी बिक्रीको प्रतिस्पर्धा चलेपछि विश्वका कहलिएका ब्रान्डको ध्यान नेपालतर्फ मोडिएको छ । त्यसमाथि व्यावसायिक घरानाबीच ब्रान्ड खोसाखोसको अर्कै कथा छ । चलेको ब्रान्डलाई जोगाइराख्न ठूला घरानालाई नै हम्मे–हम्मे परिरहेको छ । देशको औद्योगिक अवस्था सन्तोषजनकभन्दा चिन्ताजनक हुन लागेको चर्चाले ठाउँ पाइरहँदा पनि किन अटो व्यवसायमा ठूला घरानाहरूको यति विघ्न आकर्षण छ त ? राज्यले उद्योगलाई संरक्षण गर्ने भने पनि त्यो नारामा मात्र सीमित छ । उद्योग चलाउन ठूलो लगानी आवश्यक हुन्छ । तर, प्रतिफलका लागि लामो समय कुर्नुपर्ने हुन्छ । त्यसमाथि राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता, श्रम समस्या, बन्द–हडताललगायत समस्याका कारण उद्योग चलाउन धेरै मुस्किल रहेको व्यवसायी बताउँछन् । तर, विदेशबाट सामान आयात गरेर बिक्री गर्न जोखिम त कम छँदै छ, त्यसमाथि नाफा पनि उच्च छ । प्रतिफलका लागि वर्षौँसम्म कुर्नु पनि परेन । त्यसैले पनि धेरै घरानाहरू व्यापारतर्फ सिफ्ट हुँदै गएका हुन् ।
पछिल्लो समय नेपालीहरूको आयस्तर पनि बढ्दै गइरहेको छ । र, गाउँ–गाउँसम्म सडक सञ्जाल पनि विस्तार भइसकेको छ । यसैकारण निजी सवारीसाधनको माग निकै बढ्दो छ, जसले गर्दा नेपालमा सवारीसाधनको बिक्री निरन्तर बढिरहेको छ । सवारीसाधनका सौखिन बढेसँगै विश्वका प्रिमियम ब्रान्ड पनि नेपाल भित्रिन थालेका हुन् । अहिले अउडी, टेस्ला, बिएमडब्लू, मर्सिडिज, हम्मर, फोर्ड मस्टाङ, टोयोटा ल्यान्डक्रुजरजस्ता विश्वका प्रिमियम गाडीहरू पनि नेपाली सडकमा कुद्न थालेका छन् ।
कसले कुन ब्रान्ड बिक्री गर्छन् ?

व्यावसायिक घराना ज्योति समूहले नेपालमा जापानिज होन्डा मोटरसाइकल बिक्री गर्न थालेको ५५ वर्ष पुगिसकेको छ । यो समूहले होन्डा मोटरसाइकल तथा कार र हिरो मोटरसाइकल बिक्री–वितरण गर्दै आइरहेको छ । पद्म ज्योतिको परिवारले होन्डा दुईपांग्रे र चारपांग्रे बिक्री गर्छ भने रूप ज्योतिको परिवारले हिरो मोटरसाइकल बिक्री गर्छ । चौधरी समूह र वैद्यज अर्गनाइजेसन पनि नेपालमा गाडी आयात गरेर बिक्री गर्ने धेरै पुराना व्यावसायिक घराना हुन् । चौधरी समूहले नेपालमा मारुती सुजुकी गाडी बिक्री गर्दै आइरहेको छ भने वैद्यज अर्गनाइजेसनले टोयोटा गाडी बिक्री गर्छ । वैद्यज लेक्सस गाडीको पनि विक्रेता कम्पनी हो । एक समय टिभिएस मोटरसाइकल चौधरी समूहले बिक्री गथ्र्यो । तर, पछि शंकर समूहले आधिकारिक डिलरसिप लिएर टिभिएस ब्रान्ड बिक्री गर्न थालेको हो । अहिले टिभिएसको एनटर्क स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छ ।
नेपाली अटो व्यवसायमा सबैभन्दा आक्रामक विशाल समूह देखिन्छ । यो समूहले ७ वटा ब्रान्डका गाडी आयात गरेर बिक्री गर्छ । विशाल समूहले हालै चिनियाँ कम्पनी ग्रेटवाल पनि आधिकारिक रूपमा भित्र्याएको छ । ग्रेटवालका हावल ब्रान्डका एसयुभी र पिकअप ‘पोअर’ नेपालमा सार्वजनिक गर्ने तयारीमा विशाल समूह छ । पेट्रोलियम व्यवसायी शिव घिमिरे समूहले भित्र्याएको एमजी गाडी पछिल्लो समय विशाल समूहले मुरारका अर्गनाइजेसनसँग मिलेर बिक्री गर्न थालेको छ । वित्तीय समस्यामा परेर रोहिणी थपलियाबाट जापानिज माज्दा गाडीको डिलरसिप खोसिएपछि विशाल समूहले बिक्री सुरु गरेको छ । यस्तै, फक्सवागन, सुजुकी दुईपांग्रे, रेनो र कोबेल्को हेभी इक्विप्मेन्ट पनि विशाल समूहले नै बिक्री गर्छ । यो समूहले जर्मनीको प्रिमियम लक्जरियस ब्रान्ड मर्सिडिजको आधिकारिक विक्रेता बन्न ठूलै प्रयास गरेको थियो । तर, अहिलेसम्म मर्सिडिजको आधिकारिक वितरक बन्न सकेको छैन । नेपालमा मर्सिडिज गाडी दीपक गौतम एन्ड कम्पनीले बिक्री गर्दै आइरहेको छ ।
शंकर समूहले टिभिएस मोटरसाइकल र मलेसियन ब्रान्ड प्रोटोनको गाडी बिक्री गरिरहेको छ । यो घरानाले एक समय महिन्द्रा दुईपांग्रे बिक्री गथ्र्यो, तर पछि अग्नि ग्रुपले बिक्री गर्न थाल्यो । त्यतिवेला शंकर समूहले १६ करोड लगानीमा महिन्द्रा मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने तयारीसमेत गरेको थियो । त्यतिवेला सक्सेस नभएको यो घरानाले अहिले टिभिएस मोटरसाइकल, स्कुटर र अटो स्वदेशमै एसेम्बल सुरु गरिसकेको छ ।
एमभी दुगड ग्रुप पनि अटोमोबिल्स व्यवसायको पायोनियर घराना हो । यो घरानाले विभिन्न ६ ब्रान्डका गाडी नेपालमा बिक्री गर्दै आइरहेको छ । एमभी दुगड परिवार महिन्द्रा कमर्सियल गाडी र महिन्द्रा हेभी इक्विप्मेन्ट, रोयल इन्फिल्ड, भेस्पा, पियाजिओ, टाटा हिताची हेभी इक्विप्मेन्ट र अप्रिलिया ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता हो । सिप्रदी ट्रेडिङले बिक्री गर्दै आइरहेको टाटा हिताची हेभी इक्विप्मेन्ट दुगड परिवारले बिक्री गर्न थालेको हो । दुगड परिवारले वर्षौँदेखि बिक्री गर्दै आइरहेको जापानिज ब्रान्ड निसानको व्यापार भने अर्को व्यावसायिक घराना सारडा समूहले खोसेको छ । अहिले सिप्रदीले टाटा मोटर्सको प्यासेन्जर र कमर्सियल गाडी बिक्री गर्दै आइरहेको छ । सारडा ग्रुपले जापानिज ब्रान्ड निसान र डाटसनका गाडी बिक्री गर्छ । यस्तै, मुरारका अर्गनाइजेसनले साझेदारीमा एमजी, रेनो र माज्दा ब्रान्डका गाडी बिक्री गरिरहेको छ ।

अमेरिकी गाडी जिपको नक्सालमा रहेको सोरुम ।
एमएडब्लू इन्टरप्राइजेजले नेपालमा यामाहा, स्कोडा, जिप, फियाट, फोटोन, जेसिबी हेभी इक्विप्मेन्ट बिक्री गर्दै आइरहेको छ । नेपालको निर्माण क्षेत्रमा जेसिबी अग्रणी ब्रान्ड हो । यो समूह अमेरिकन चर्चित ब्रान्ड जिपको पनि आधिकारिक विक्रेता हो । अहिले बजारमा जिपको एसयुभी कम्पास लोकप्रिय छ । कोरियन ब्रान्ड हुन्डाई गाडी बिक्री सुरु गरेर अटो व्यवसायमा प्रवेश गरेको लक्ष्मी समूहले बिएमडब्लू कार र एसएमएल इसुजु कमर्सियल गाडी पनि बिक्री गर्छ । यो घरानाले गत वर्ष मात्र नेपालमा बिएमडब्लू गाडी सार्वजनिक गरेको हो ।
शेखर गोल्छा नेतृत्वको गोल्छा समूहले बजाज, केटिएम डुक, हस्कभर्ना मोटरसाइकल बिक्री–वितरण गर्दै आइरहेको छ । यो समूहले बजाज मोटरसाइकलको नवलपरासीमा प्लान्ट स्थापना गरेर स्वदेशमै एसेम्बल सुरु गरिसकेको छ । यस्तै, आकाश गोल्छाले फोर्ड, डाइहात्सु गाडी बिक्री गर्छन् भने हेमन्त गोल्छाले प्युजो र सिप्रोन गाडी बिक्री गर्दै आइरहेका छन् । गोल्छा परिवारकै सुरेन्द्र गोल्छाले स्वदेशमै हुलास मुस्ताङ म्याक्स गाडी उत्पादन सुरु गरे पनि सफल हुन नसकेपछि बन्द भयो । अहिले हुलास मोटर्स प्रालिले विद्युतीय रिक्सा उत्पादन गर्न थालेको छ ।
मोबाइल, रियल इस्टेटलगायत व्यवसायमा जमिरहेको आइएमएस समूहले कोरियन साङयोङ गाडी बिक्री गर्न थालेको छ । राजेशकाजी श्रेष्ठले बिक्री गर्दै आइरहेको साङयोङको आधिकारिक डिलरसिप दीपक मलहोत्राले लिएका हुन् । यस्तै, आइएमई समूहले अशोक लेलैन्डका कमर्सियल गाडी, हार्ले डेभिड्सन बाइक र एस्कर्टस् हेभी इक्विप्मेन्ट बिक्री गरिरहेको छ । यो समूहले अमेरिकन प्रिमियम बाइक हार्ले नेपालमा त्यति बिक्री गर्न सकेन । यस्तै, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया, इसुजु र कोमात्सु (हेभी इक्विप्मेन्ट) बिक्री गर्दै आइरहेको छ । पछिल्लो समय कियाको विद्युतीय कार ‘निरो’ चर्चामा छ ।
अग्नि ग्रुपले महिन्द्राको प्यासेन्जर तथा पिकअप र जाभा ब्रान्डको मोटरसाइकल बिक्री गरिरहेको छ । यस्तै, बतास अर्गनाइजेसनले आयसर कमर्सियल गाडी र क्याट हेभी इक्विप्मेन्ट बिक्री गर्दै आइरहेको छ । पञ्चकन्या समूह भोल्भो हेभी इक्विप्मेन्ट, प्रिमियम बाइक डुकाटी, बिएमडब्ल्यू र बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता हो । यस्तै, विकास राणाको परिवारले पञ्चकन्या समूहसँगको साझेदारीमा डुकाटी, बिएमडब्लू र बेनेली बाइक बिक्री गर्दै आइरहेको छ ।

कोरियाली गाडी हुन्डाईको थापाथलीमा रहेको सोरुम ।
अरू थुप्रै ब्रान्डका गाडी पनि नेपालमा भित्रिएका छन्, जसको आधिकारिक विक्रेता कहलिएका व्यावसायिक घराना होइनन् । नेपालमा दर्जन हाराहारी ब्रान्डका विद्युतीय स्कुटर तथा बाइक बिक्री भइरहेका छन् । किशोर गियरले मर्सिडिज, ज्यागुअर, ल्यान्डरोभरलगायत प्रिमियम गाडी बिक्री गर्दै आइरहेको छ । नेपालमा बिक्री हुने विभिन्न ब्रान्डका अफरोड बाइकहरूका विक्रेताहरू पनि ठूलो व्यावसायिक घरानाबाट प्रतिनिधित्व गर्दैनन् । ट्याक्टर र अटो रिक्साको व्यापारमा पनि थुप्रै व्यवसायी संलग्न छन् ।
विश्वकै प्रिमियम ब्रान्ड नेपालमा
विश्वका प्रिमियम ब्रान्डका लागि नेपाल पनि गतिलो बजार बन्न थालेको छ । पछिल्लो समय नेपालमा महँगो मूल्य पर्ने प्रिमियम ब्रान्डका गाडी तथा मोटरसाइकल भित्रिरहेका छन् । नेपाली बजारमा महँगो मूल्यका अउडी, बिएमडब्लू कार, बिएमडब्लू बाइक, मर्सिडिज, टोयोटा ल्यान्डक्रुजर, फक्सवागन, ज्यागुअर, फोर्ड मस्टाङ, हम्मर, हस्कभर्ना, एमभी अगस्टा, अप्रिलिया, सुजुकी बाइक, होन्डा बाइक, यामाहा बाइक, हार्ले डेभिड्सन पनि बिक्री हुने गर्छन् । नेपालीहरूको आयस्तरमा भएको वृद्धिसँगै महँगो मूल्य पर्ने सवारीसाधन भित्रिन थालेका हुन् । पछिल्लो समय नेपालमा निजी सवारीसाधन चढ्ने वर्ग ह्वात्तै बढेको देखिन्छ ।
इलेक्ट्रिकमा केन्द्रित
यतिवेला विश्वभरिका अटोमोबिल्स कम्पनीहरू विद्युतीय सवारीसाधन उत्पादनमा केन्द्रित देखिन्छन् । छिमेकी मुलुक भारत र चीनमा पनि विद्युतीय सवारीसाधन उत्पादन तथा प्रयोगमा व्यापकता आउँदै छ । नेपालको सडकमा पनि थुप्रै ब्रान्डका विद्युतीय सवारीसाधन कुद्न थालेको धेरै भइसक्यो । कुनै समय महिन्द्राले मात्र विद्युतीय कार बिक्री गर्दै आइरहेकोमा पछिल्लो समय हुन्डाई, किया, एमजी, बिवाइडीलगायत कम्पनीहरूले पनि विद्युतीय कार बिक्री गर्न थालेका छन् । निसानले हालै विद्युतीय कार नेपालमा सार्वजनिक गरेको छ । यस्तै, टाटा मोटर्सले नेक्सन इभी नेपाल भित्र्याउँदै छ । महिन्द्राले पनि एक्सयुभी ३०० विद्युतीय भर्सनमा भित्र्याउन लागेको छ । यसका अलाबा, चीनमा निर्मित एक दर्जन हाराहारी विद्युतीय स्कुटर तथा मोटरसाइकल पनि नेपालमा बिक्री–वितरण भइरहेका छन् ।
सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत ०८८ सालभित्र पेट्रोलियमबाट चल्ने साना सवारीसाधनलाई विद्युतीय सवारीसाधनले विस्थापन गर्ने घोषणा गरेका छन् । उनले विद्युतीय सवारीसाधन आयातमा लाग्दै आएको अन्तःशुल्क पूरै खारेज गर्दै भन्सार महसुल पनि घटाइदिएका छन् । विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि ठाउँ–ठाउँमा चार्जिङ स्टेसन राख्न थालिएको छ ।