गोरखामा १९ वटा झोलुङ्गे पुल बने, आउँदो वर्ष १५ वटा बनाउने तयारी

शनिबार, २६ असार, २०७८
डिजिटल संस्करण

हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा गोरखाका विभिन्न स्थानीय तहमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक र स्विस सरकारअन्तर्गतको (टिपिएसयू–हेल्पटाइस–पिटिएपी) को प्राविधिक सहयोगमा केन्द्रले गोरखाका आठ स्थानीय तहमा झोलुङ्गे पुल निर्माणको काम गरेको हो ।

यस योजनाअन्तर्गत गोरखामा १९ वटा झोलुङ्गे पुल निर्माण भइसकेको गोरखा जिल्लासचिव वीरबल घलेले बताए ।‘चुमनुब्रीमा ३, आरुघाटमा ५, बारपाक सुलिकोटमा ४, अजिरकोटमा ५, गण्डकी, सहिदलखन र पालुङटारमा एक–एकवटा गरी हालसम्म हामीले गोरखामा १९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेका छौँ । आगामी आर्थिक वर्षमा १५ वटा निर्माण गर्ने गरी काम गरिरहेका छौँ’, सचिव घलेले भने । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आगामी वर्ष निर्माणका लागि योजना भएका पुलहरूको डिपिआरसमेत तयार भइसकेको उनले बताए ।

अहिले पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माणधीन अवस्थामा रहेको छ । कोरोना प्रभावका कारण कामदार नपाउँदा र निर्माण सामग्री ढुवानीमा समस्या आउँदा समयमै काम सम्पन्न गर्न नसकेको घले बताउँछन् ।

उनी भन्छन्, ‘पालुङटार र सहिद लखन गाउँपालिकामा निर्माण भइरहेको पुल दुवैमा हालसमम करिब ८० प्रतिशत काम भइसकेको छ । हामीले त्यसलाई जतिसक्दो छिटो सक्ने गरी काम गरिरहेका छौँ ।’ केन्द्रले चालू वर्षमा चुमनुब्री गाउँपालिकामा दुईवटा र बारपाक सुलिकोट गाउँपालिकामा एउटा जीर्ण भएको झोलुङ्गे पुल मर्मत गरेको घले बताउँछन् ।

केन्द्रले संघीय मामिला मन्त्रालय र स्विस सरकारअन्तर्गतका संस्थाहरूसँग २०७४ सालबाट समन्वय गरी गोरखामा पुल निर्माणको काम गर्न थालेको हो ।

सुझावित समाचार