सिराहामा बाह्र दिनको अवधिमा विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

सिराहा प्रहरीले १० असारदेखि २२ असारसम्म १२ दिनको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौजना फरार प्रतिवादीलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएका फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । 

सिराहा जिल्ला अदालतले कर्तव्य ज्यानसहित विभिन्न नौ मुद्दामा ४६ वर्ष कैद र एक लाख २७ हजार पाँच सय रुपैयाँ जरिवाना सजायको फैसला सुनाएका फरार प्रतिवादीहरूलाई खोजतलासको क्रममा पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । ‘पक्राउ गरिएकाहरूलाई आवश्यक कारबाहीका लागि सिराहा जिल्ला अदालतमा बुझाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।  

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार २० वर्ष कैद सजाय पाएका सिराहाको कल्याणपुर नगरपालिका– ८ मझौलियाका ५० वर्षीय ध्रुव महरा चमार, लेनदेन बिगो मुद्दामा ६ महिना कैद सजाय भएका सिराहा नगरपालिका– १२ का ५७ वर्षीय कारी मुखियालाई पक्राउ गरी अदालत बुझाइएको छ । ठगी मुद्दामा एक लाख रुपैयाँ जरिवाना फैसला सुनाइएका पर्साको वीरगन्ज महानगरपालिका– १६ का २५ वर्षीय राजन पटेललाई पक्राउ गरी अदालत बुझाइएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । 

त्यस्तै, लागुऔषध (गाँजा) मुद्दामा दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका गोलबजार नगरपालिका– २ लालपुरका ५७ वर्षीय जगदीश साह, चोरी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरिएका बरियारपट्टि गाउँपालिका– ४ का २५ वर्षीय रोशनकुमार महतो, सवारी ज्यान मुद्दाअन्तर्गत दुई वर्ष कैद सजाय पाएका सुखीपुर नगरपालिका– १० का २२ वर्षीय आनन्दकुमार महतोलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको उनले बताए । 

कर्तव्य ज्यान मुद्दामा ६ महिना कैद र पाँच सय रुपैयाँ जरिवाना गरिएका कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ४३ वर्षीय मो. ताहिर राइन, कर्तव्य ज्यान मुद्दाकै २० वर्ष कैद सजाय पाएका मिर्चैया नगरपालिका– १२ सिक्रोनका ७५ वर्षीय बिकरु महरालाई पनि अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएका कल्याणपुर नगरपालिका– १ का ४५ वर्षीय रमेश महरालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 
 

See More On

सुझावित समाचार