कहिल्यै नभेट्ने गरी छुट्टिए ‘ट्राजेडी किङ’ दिलीप कुमार

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

उनले ६० भन्दा बढी सिनेमामा अभिनय गरेका छन्, करिब पाँच दशक बलिउडमा बिताएका दिलीप कुमारको अन्तिम सिनेमा सन् १९९८ मा बनेको ‘किला हो’ हो

बलिउडका ‘ट्राजेडी किङ’ उपनामले प्रख्यात कलाकार दिलीप कुमारको निधन भएको छ । मुम्बईस्थित खार हिन्दुजा अस्पतालमा उनको बुधबार ९८ वर्षको उमेरमा निधन भएको हो । उनको बुधबारै साँझ नै मुम्बईको जुहूस्थित समाधिस्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् । दिलीप कुमारको अन्त्येष्टिका क्रममा प्रहरी जवानहरूले गार्ड अफ अनर दिएका थिए ।

दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, कंग्रेस नेता राहुल गान्धीलगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । उनी पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या आएका कारण उपचाररत थिए । यो अवधिमा उनी दुईपटक अस्पतालमा भर्ना भएका थिए । दुई दिनअघि मात्रै श्रीमती सायरा बानोले आफ्ना श्रीमान्को स्वास्थ राम्रो भएको र चिन्ता लिनु नपर्ने जानकारी दिएकी छिन् । तर, दुई दिनपछि नै बलिउडको एक इतिहास बोकेका नायक दिलीप कुमारको निधन भएको छ ।

पाली हिलस्थिति घरमा दिलीप कुमारको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय राखिएको थियो । कलाकारहरू शाहरूख खान, धर्मेन्द्र, विद्या वालन, अनिल कपुर, अनुपम खेर, सवाना आजमी, करण जोहर, महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, एनसिपीका प्रमुख शरद पावर लगायतले दिलीप कुमारलाई श्रद्धाञ्जली दिएको भारतीय एजेन्सीहरूले उल्लेख गरेका छन् । सलमान खानले दिलीप कुमारसँगै लिएको पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली दिएका छन् । 

श्रद्धाञ्जली दिन भिडभाड नहोस् भनी प्रशासनले सुरक्षाकर्मी खटाएको थियो । यद्यपि, घरअगाडि ठूलो संख्यामा निराश मुद्रामा समर्थकहरू देखिन्थे । दिलीप कुमारलाई सन् १९९९ मा भारत सरकारले पद्म भूषण र सन् २०१५ मा पद्म विभूषणबाट सम्मानित गरेको थियो । उनले सन् १९९४ मा बलिउडकै सर्वोच्च अवार्ड दादा साहेब फाल्के पनि पाएका थिए । सन् १९९८ मा उनलाई पाकिस्तान सरकारले सर्वश्रेष्ठ नागरिकका रूपमा सम्मानित गरिने निशान ए इम्तियाज दिएको थियो । यसैगरी सन् २००० देखि २००६ सम्म उनी भारतको राज्यसभाका सदस्य बनेका थिए । पाकिस्तान सरकारले सन् २०१४ मा दिलीप कुमार र सन् २०१८ मा राज कपुरको घरलाई राष्ट्रिय धरोहर घोषणा गरेको थियो । 

११ डिसेम्बर १९२२ मा पेसावर सहर (हाल पाकिस्तान)मा दिलीप कुमारको जन्म भएको थियो । २२ वर्षको उमेरमै उनले सिनेमामा ब्रेक पाए । सन् १९४४ मा ‘ज्वार भाटा’ नामको सिनेमामा काम गर्न अवसर पाए । उनले तीनपटक राष्ट्रिय सम्मान पाएका थिए । उनले सहिद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल ए आजम, गंगा–जमुना, राम और श्याम, क्रान्ति, सौदागर र कर्मा जस्ता सुपर हिट सिनेमामा दमदार अभिनय दिएका थिए । 
 

सुझावित समाचार