कमला नदीमा निर्माणाधीन पुलको स्ल्याब खस्यो

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

कमला नदीमा पानीको बहाब बढेपछि १० वर्षदेखि निर्माणाधीन पुलको स्ल्याब पानीमा खसेको छ । सिराहा–धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत सिराहा नगरपालिका– ६ बसपिट्टाघाटनजिकै निर्माणाधीन पुलको एउटा भाग बिहीबार करिब तीन मिटर भासिएको थियो । पुल भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको झरेको छ । 

हुलाकी सडकखण्डको बहुप्रतीक्षित कमला नदीको पुल भासिएपछि सिराहा र धनुषाका स्थानीय निराश बनेका छन् । बाढीका वेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नै लाग्दा पुल भासिएपछि फेरि कति वर्ष कुर्नुपर्ने भन्दै निराश बनेको स्थानीय रमेश गोहिवारले बताए ।

२०६८ देखि पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले निर्माण गरिरहेको पुल उद्घाटन नहुँदै भासिएको छ । पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरेपछि विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले निर्माणको काम गरिरहेको थियो । 

निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी साउन पहिलो सातादेखि हलुका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुल भासिएको छ ।

एक साताभित्र छानबिन समिति : मन्त्री यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएको विषयमा छानबिन गर्न समिति गठन गरिने बताएका छन् । कमला नदीको भासिएको पुल निरीक्षण गर्न सिराहा आएका मन्त्री यादवले हुलाकी राजमार्गखण्डको महत्वपूर्ण पुल रहेकाले छानबिन गर्न प्रदेश सरकारले एक साताभित्र समिति बनाउने बताएका हुन् । 

छानबिनबाट दोषी ठहर हुनेलाई संघीय सरकारसँग समन्वय गरी कारबाही गरिने भन्दै मन्त्री यादवले पुल निर्माणकार्य पूरा गर्न प्रदेश २ सरकारले पनि आवश्यक परेमा लगानी गर्ने बताए ।
 

सुझावित समाचार