बाढीपहिरोले बिजुलीका पोलमा क्षति पुर्याउँदा लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण गरिएको ३१ हजार घरधुरी शुक्रबार रातिदेखि विद्युत् सेवाबाट वञ्चित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले बिजुलीका पोल बगाउँदा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको जिल्लाको सदरमुकाम बेंसीसहरदेखि गाउँसम्म विद्युत् आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले डुम्रेबाट गोरखा हुँदै लमजुङ आउने विद्युत् प्रणाली ३३ केभी लाइनको चारवटा पोल ढल्दा विद्युत् आपूर्ति बन्द भएको बताइन् । उनका अनुसार गोरखाको पालुङटार र तनहुँको चाम्बास क्षेत्रको चारवटा पोल ढलेको छ ।
लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार संस्थामातहातको ११ केभी लाइनको २१ वटा विद्युत् पोल ढलेका छन् । यस्तै, घरघरमा विद्युत् वितरण गर्न गाडिएका ५२ वटा पोलमा बाढीपहिरोले क्षति पु¥याएको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङको साबिक ३४ गाविस र तनहुँको साबिक तीनवटा गाविसमा विद्युत् वितरण गर्दै आएको छ ।
७० मेगावाटको मध्यमर्स्याङदीको उत्पादनसमेत बन्द भएको छ । बाढीले १३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि विद्युत उत्पादन बन्द भएको हो । ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए को उत्पादन पनि गत ३१ जेठदेखि बन्द भएको छ । विद्युत सेवा ठप्प हुँदा बैंकिङ सेवा पनि प्रभावित भएको छ ।