वर्षाले मकवानपुरको विकट गाउँमा सातवटा घर भत्कियो

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण

अविरल वर्षाका कारण मकवानपुरको विकट गाउँमा पहिरो खस्दा सातवटा घर भत्किएको छ । जिल्लाको विकट क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा सातवटा घर पहिरोले भत्काएको हो । 

शुक्रबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा राक्सिराङमा चार र कैलाशमा तीनवटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार राक्सिराङ–७ चरिमारमा आएको पहिराले घर भत्काएको र लेदो घरभित्र छिरेको छ । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय वीरबहादुर सुनारको घर पहिरोले भत्काएको जानकारी दिए । 

सोही वडाको दुगुवाङमा बुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको मल्लले बताए । राक्सिराङ–७ कै धकाङ्टोलमा रहेको बनैली मायाँ प्रजाको घर पहिरोले बगाएको छ भने अन्य चारवटा घर जोखिममा परेका छन् । ‘पानी परिरहेकाले पहिरोले घर बगाएकाहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाउन कठिनाइ भइरहेको छ ’ अध्यक्ष मल्लले भने । 

यसैगरी, शुक्रबार राति कैलाश गाउँपालिका–२, ३ र ४ वडामा तीनवटा घर पहिरोका कारण भत्किएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको फोकलपर्सन श्यामसुन्दर महताेले घर भत्किएको सूचना आफूले पाएको जानकारी दिए । ‘गाउँका धेरै खेतहरु पुरिएका छन्, पशुचौपाया मरेका जानकारी पाएको छु ।’, उनले भने । गाउँपालिकाको अन्य स्थानमा पहिरोले क्षति पुर्याएको जानकारी आए पनि सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा समस्या परेको महताेले बताए । 

महताेले गाउँपालिकाको नारायणटारमा घर चर्केको खबर आए पनि फोन सम्पर्क गर्न नहुँदा पहिरोस्थलमा पुग्न नसकेको जानकारी दिए । पानी नरोकिँदा जेसिबीले पहिरो पन्छाउन थप कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । 
पहिरोका कारण कैलाश–१० मा ३५ घर जोखिममा परेका छन् । कैलाश–१० को विभिन्न स्थानमा पहिरो खस्दा ३५ घर जोखिममा परेका हुन् ।

स्थानीय मीरा स्याङ्तानका अनुसार वडाको सुकुभञ्ज्याङ, दरबार डाँडा, दुबेखेत, खोलाखेत, तिलालडाँडा र दुबोखोलामा शुक्रबार रातिदेखिको अविरल वर्षाले ३५ घरका एक सय ७५ जना जोखिममा छन् । 

‘विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक घर छोडेर सुरक्षित स्थानमा बसिरहेका छन्  ।  घर पहिरोले भत्किएको छ भने केही घर भत्कने अवस्थामा छन् ।’ उनले भनिन् । हाल पहिरो गएको क्षेत्रमा विद्युत्  सेवा अवरुद्ध भएको छ, भने सञ्चारसेवा सुचारु हुन सकेको छैन । 
 

सुझावित समाचार