बागमतीमा ओरालो लाग्दै कोरोना ग्राफ

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

सात प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा दोस्रो लहरको कोरोना संक्रमितको ग्राफ ओरालो लाग्ने क्रममा छ । वैशाख पहिलो साताबाट देशभर फैलिएको दोस्रो लहरको कोरोना संक्रमण बागमतीमा ३ असारबाट क्रमशः घट्दो क्रममा रहेको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले तयार पारेको १७ जेठदेखि १७ असारसम्मको तथ्यांकमा ३ असारबाट नयाँ संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार बागमतीको १३ जिल्लामा १७ जेठमा दुई हजार ७९ संक्रमण पुष्टि भएकाको संख्या १७ असारमा सात सय ८४ मा झरेको छ । एक महिना अवधिमा सबैभन्दा बढी २० जेठमा सबैभन्दा बढी दुई  हजार आठ सय ८२ र १२ असारमा ६ सय ७९ मा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २२ जेठदेखि २ असारसम्म एक हजारभन्दा बढी संक्रमित थपिएको बागमतीमा ३ असारबाट हालसम्म एक हजारभन्दा कममा सीमित रहेको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

यसैगरी १७ असारमा गरिएको परीक्षणमा कोरोना संक्रमितको दर ९ दशलमव ९ प्रतिशत रहेको छ । सात हजार एक सय ३३ को पिसिआर विधिबाट परीक्षण गर्दा ६ सय ४४ र एक हजार चार सय ९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय ४० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता सेढाईंले बताए ।

बागमतीमा हालसम्म संक्रमण पुष्टि भएका तीन लाख ४३ हजार ९७ मध्ये तीन लाख ३० हजार दुई सय चार अर्थात् ९६ दशमलव २४ प्रतिशत निको भइसकेको, नाै हजार ४३ अर्थात् २ दशमलव ६४ प्रतिशत सक्रिय संक्रमित र तीन हजार आठ सय ५० अर्थात् १ दशमलव १२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म बागमतीमा १९ लाख ५८ हजार सात सय ६४ जनाको स्वाब परीक्षण भइसकेको छ । 

See More On

सुझावित समाचार