सन् १९६६ पछि इंग्ल्यान्डले जर्मनीलाई मेजर फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा हराउन सकेको छैन । सन् १९६६ को विश्वकप फाइनलमा पनि इंग्ल्यान्डले तत्कालिन पश्चिम जर्मनीलाई हराएको थियो । त्यसयताका भेटमा जर्मनी इंग्ल्यान्डमाथि हावी हुँदै आइरहेको छ । इंग्ल्यान्ड समक्ष जर्मनीलाई नकआउट चरणमा हराउने फेरि अवसर जुरेको छ । चालू युरोकपको मंगलबार राति ९ः४५ बजे इंग्ल्यान्ड र जर्मनीबीच प्रिक्वार्टरफाइनल खेल हुँदैछ ।
घरेलु मैदान वयम्लीमा अपराजित रहेको इंग्ल्यान्डले जर्मनीलाई स्तब्ध पार्न सबै रणनीति अपनाउने छ । इंग्ल्यान्डले ४० हजार समर्थकको साथ पाउने छ । तर नकआउट चरणको रेकर्ड अनुसार जर्मनी मानसिक रुपमै बलियो छ । जर्मन प्रशिक्षक जोचिम लो गेराथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्डलाई हराउनेमा विश्वस्त छ । समूह चरणमा पोर्चुगलसँगको प्रतिस्पर्धा पछि जर्मनी आफ्नै स्वरुपमा फर्किएको छ ।
सन् १९९० को खेल्ने शैली अनुरुप जर्मनीले युरोकपमा प्रतिस्पर्धा गरिरहेको छ । त्यस ताकाको शैली भनेको पुरै समय काउन्टर एट्याक्ट, मिडफिल्ड आक्रामक हुने, एयर बल तथा क्रस हेडिङ नै जर्मनीको खेल्ने शैली थियो । इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले पनि जर्मनी टोली पछिल्लो समय उत्कृष्ट लयमा भएको बताएका छन् । ‘जर्मनी वास्तवमै उत्कृष्ट लयमा छ,’ साउथगेटले भने, ‘जर्मनीलाई हराउन थप मिहिनेत गर्नुपर्छ ।’
प्रशिक्षक साउथगेटले वर्तमान इंग्लिस टोली पनि कमजोर नरहेको जनाए । बलिया बलिया टोलीलाई हराउन सक्ने क्षमता रहेको उनको भनाइ छ । ‘चार बर्षअघि र चार बर्षपछिको इंग्लिस टोली विश्लेषण गर्नु भयो भने यो टोलीले शक्तिशाली विपक्षीलाई सहजै हराउन सक्छ,’ उनले भने, ‘सबै जोशिला र मिहिनेती छन् ।’ जर्मनी जस्तो टोलीलाई हराएर क्वार्टफाइनल स्थान बनाउनुको मज्जा नै अलग हुने उनले बताए । ‘एउटा ठूलो अवसर छ, जर्मनीलाई हराएर क्वार्टरफाइनल स्थान बनाउने, यो खेल सवैले चासोका रुपमा लिएका छन्, मलाई विश्वास छ, जर्मनी र इंग्ल्यान्डबीचको खेल सर्वाधिक रोमान्चक र प्रतिस्पर्धात्मक हुने छ,’ इंग्लिस प्रशिक्षक साउथगेटले भने ।
वयम्बली रंगशालामा भएका सात खेलमा जर्मनीले इंग्ल्यान्डलाई पाँचपटक हराएको छ । दुई खेलमा इंग्ल्यान्डले जर्मनीलाई बराबरीमा रोकेको छ । जर्मनी प्रशिक्षक लोले चालु युरोकप नै अन्तिम प्रतियोगिताको भएको बताइसकेका छन् ।
उनले यो प्रतियोगिताको नतिजा जस्तो आए पनि जर्मन टोली छाडने निर्णय गरिसकेका छन् । युरोकपपछि जर्मन टोलीका प्रशिक्षक हान्सी फिकले हुने छन् । लोको प्रशिक्षणमा जर्मनीले सन् २०१४ को विश्वकप उपाधि उचालेको थियो । जर्मनीको तुलनामा इंग्ल्यान्डले समुह डीमा सहज प्रतिद्वन्द्वी पाएको थियो । इंंग्ल्यान्डले क्रोएसिया र चेक रिपब्लिकलाई हराएको थियो । इंग्ल्यान्डले स्टकल्यान्डसँग बराबरी खेलेको थियो ।
जर्मनी प्रतियोगिताको ग्रुप अफ डेथमा परेको थियो । जहाँ साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स र हंगेरी जस्ता विश्व फुटबलका शक्तिशाली टोली थियो । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १–० ले स्तब्ध भएको थियो । त्यसपछि पोर्चुगलमाथि ४–२ को जित निकाली जर्मनीले उत्कृष्ट पुनरागमन ग¥यो । अन्तिम खेलमा हंगेरीलाई बराबरीमा रोक्दै जर्मनीले ग्रुप अफ डेथमा उपविजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो ।
टोलीको अवस्था

इंग्ल्यान्डले जर्मनीविरुद्ध मिडफिल्डर मासन माउन्ट र फुल ब्याक बेन सिवेललाई खेलाउने सम्भावना छ । प्रशिक्षक साउथगेटले मिडफिल्डर फुल ब्याक पोसेसन बलियो बनाउन दुई खेलाडीलाई पहिलो सेटमै राख्न सक्छन् । आइसोलेसनमा रहेका यी दुवै खेलाडीले सोमबार अभ्यास गरेका छन् । ‘दुवै खेलाडी अहिले आइसोलेसनबाट बाहिर आइसकेका छन्, उनीहरू फिट छन्,’ साउथगेटले भने, ‘हामी सतप्रतिसत फिट खेलाडी मैदानमा उर्ताने छौँ ।’
जर्मनी टोलीमा डिफेन्डर एन्टोनियो रुडिगेर तथा मिडफिल्डर गुन्डोगान पनि खेल्न सक्छन् । चेल्सीका रुडिगेर र म्यानचेस्टर सिटीका गुन्डोगान चोटग्रस्त छन् । दुवै खेलाडीले सोमबारको प्रशिक्षणमा पुरै समय दिएका छन् । यता जर्मनी टोलीका अनुभवी खेलाडी थोमस मुलरको स्थानमा लिरोय साने खेल्न सक्छन् ।
हेड टु हेड
युरोपियन च्याम्पियनसिप (युरोकप) मा जर्मनी र इंग्ल्यान्डबीच यो तेस्रो भेट हो । सन् १९९६ को युरोकपको सेमिफाइनलमा जर्मनीले इंग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ६–५ को अन्तरले हराएको थियो । सन् २००० को युरोकपको समूह चरणमा इंग्ल्यान्डलाई जर्मनीलाई १–० ले निराश पा¥यो । वयम्बली रंगशालामा जर्मनी र इंग्ल्यान्डबीच यो १३औँ खेल हुने छ ।
फ्याक्ट
इंग्ल्यान्डको यो वयम्बली रंगशालामा तीन सय अन्तर्राष्ट्रिय खेल हुने छ । सन् २००७ मा यस रंगशाला पुर्ननिर्माण भएपछि इंग्ल्यान्डले ७७ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । यस रंगशालामा इंग्ल्यान्डले एक सय ८७ खेलमा जित निकालेको छ ।
इंग्ल्यान्डले अहिलेसम्म युरोकपको नकआउट चरणको खेलमा नब्बे मिनेटभित्र जित निकालेको रेकर्ड छैन । नकआउट चरणको खेलमा इंग्ल्यान्डले चारपटक बराबरी र दुईपटक हारको सामना गरेको छ ।
इंग्ल्यान्डका स्ट्राइकर रहिम स्टेलिङले पछिल्लो १९ खेलमा १४ गोल गरेका छन् ।
मेजर फुटबलमा जर्मनी र इंग्ल्यान्डबीच रेकर्ड
सन् १९९६ को विश्वकप फाइनल : इंग्ल्यान्ड ४–२ जर्मनी (तत्काल पश्चिम जर्मनी)
सन् १९७० को विश्वकप क्वार्टरफाइनल : जर्मनीे इंग्ल्यान्डलाई अतिरिक्त समयमा ३–२ ले हराएको
सन् १९९० को विश्वकप सेमिफाइनल : जर्मनीले पेनाल्टी सुट आउटमा इंग्ल्यान्डलाई ४–३ ले हराएको थियो । निर्धारित समय १–१ को बराबरी
सन् १९९६ को युरोकप सेमिफाइनल : जर्मनीले पेनाल्टी सुट आउटमा इंग्ल्यान्डलाई ६–५ ले स्तब्ध पारेको, निर्धारित समय १–१ को बराबरी
सन् २०१० को विश्वकपको प्रिक्वार्टरफाइनल : जर्मनीले इंग्ल्यान्डलाई ४–१ ले पाखा लगाएको