जातीय विभेद प्रकरण : शिक्षामन्त्रीलाई प्रधानमन्त्रीको ध्यानाकर्षण

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

जातीय विभेदका आरोपीलाई प्रहरी कार्यालयमै गएर छुटाउँदा विवादमा तानिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले त्यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकमा ओलीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । 

आवेगमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । ‘यस विषयमा प्रधानमन्त्रीज्यूले हिजो शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘क्याबिनेट मन्त्रीबाट यस्तो काम हुन नहुने हो, गल्ती भएको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ ।’ 

मन्त्री श्रेष्ठले कानुन मन्त्रालय सम्हालेको ६ महिनाको अवसरमा पत्रकार सम्मेलन गरेका थिए ।  यो अवधिमा सम्पन्न गरेको काममा उनले जातीय छुवाछुत तथा विभेदविरुद्धका अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताए । एकातर्फ विभेदविरुद्ध अभियान सञ्चालन गर्न बजेट व्यवस्था गर्ने र अर्कोतर्फ सरकारकै मन्त्रीले जातीय विभेदको घटनामा आरोपीलाई संरक्षण गरेको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले शिक्षामन्त्रीबाट गल्ती भएको बताएका हुन् । 

पत्रकार रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ गत साता प्रहरी कार्यालय पुगेका थिए । छुटेपछि आफ्नै गाडीमा राखेर त्यहाँबाट लिएर गएका थिए । जातीय विभेदलाई प्रोत्साहन गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग भइरहेको छ । प्रधानमन्त्रीले मन्त्रीको श्रेष्ठको ध्यानाकर्षण मात्र गराएका छन् ।

सुझावित समाचार