स्थापनाको डेढ वर्षपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । २ असोज ०७६ मा बागमती प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानले आगामी आर्थिक वर्ष ०७७÷७८ बाट हेटौँडामा अध्ययन–अध्यापन हुने गरी सोमबार प्रधानमन्त्री केपी ओलीबाट शैक्षिक कार्यक्रम शुभारम्भ गरेको हो । भर्चुअल माध्यमबाट कार्यक्रमको शुभारम्भ गर्दै ओलीले स्वास्थ्य क्षेत्रमा अझै दक्ष जनशक्तिको अभाव कायम रहेको बताए ।
उनले दक्ष जनशक्तिको अभावकै कारण स्वास्थ्य क्षेत्रको विकासमा बाधा पुगिरहेको धारणा राखे । उनले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्तिको अझै पनि अभाव रहेको भन्दै सुलभ सेवा दिने विषयमा पनि ध्यान दिनुपर्ने बताए । ‘महामारीको समयमा सरकारले कुशल व्यवस्थापन गरेको छ,’ उनले भने, ‘भविष्यमा आउन सक्ने महामारीबारे पनि आवश्यक सचेतना अपनाइएको छ ।’
दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान सहयोगी हुने उनको भनाइ छ । प्रदेशस्तरमा नै यस्तो प्रयास हुनु महत्वपूर्ण उपलब्धि भएको धारणा राख्दै उनले शिक्षा क्षेत्रमा गरिएको लगानी अर्थहीन हुन नहुने बताए । ‘हामीले शिक्षा क्षेत्रमा निकै ठूलो लगानी गरेका छौँ । यसको प्रतिफल पनि देखिएको छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा विकासमा सरकारले ध्यान दिनेछ । प्रतिष्ठानले पनि गुणस्तरीय शिक्षा दिने विषयमा कुनै सम्झौता गर्नुहुन्न ।’
प्रतिष्ठानले फार्मेसी, जनस्वास्थ्य र मेडिकल ल्याब टेक्नोलोजीका लागि मेडिकल काउन्सिलबाट सम्बन्धन प्राप्त भएस“गै प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रूपमा रहेको शैक्षिक कार्यक्रम सुरु गरेको हो । यस विषयमा ७५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढ्न पाउने प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले जानकारी दिए । प्रतिष्ठानले हेटौँडा– ८ स्थित कमानेमा शैक्षिक संरचना निर्माण गर्न दश बिघा जग्गा उपभोगका लागि प्राप्त गरेको छ । प्रतिष्ठानले हेटौँडा अस्पतालमा धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ । प्रदेश सभाले ०७६ असोज २ गते प्रतिष्ठान गठनका लागि कानुन निर्माण गरेको थियो ।
प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री डोरमणि पौडेलले अरूभन्दा फरक ढंगले प्रतिष्ठान सञ्चालन हुने दाबी गरे । प्रदेशबाहिरका विद्यार्थी पनि पढ्न आउने भन्दै उनले प्रतिस्पर्धी शिक्षा दिने विषयमा कुनै सम्झौता नहुने धारणा राखे । सिंगो प्रदेशको गौरवको परियोजनाको रूपमा प्रतिष्ठान रहेको उनले बताए । ‘हामीले परिकल्पना गरेभन्दा बृहत् रूपमा यो सञ्चालनमा आएको छ । छोटो समयमा धेरै ठूलो उपलब्धीहरू प्राप्त भएको छ,’ उनले भने । प्रतिष्ठानले शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण काम गर्ने मुख्यमन्त्री पौडेलले बताए । प्रतिष्ठानले अर्को वर्ष एमबिबिएस कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । एमडीको कक्षाहरू क्रमशः सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानका रेक्टर प्रा.डा. सतिशकुमार देवले जानकारी दिए ।
प्रदेश सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय निवारण केन्द्र र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग उपचारका लागि सम्झौता गरिसकेको छ । उपचारका लागि प्रतिष्ठानका उपकुलपति विश्वराज जोशी, सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमबीच सम्झौता भएको हो ।