संरक्षण र विकासको दोसाँधमा चेपाङ

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

आँगनको छेउतिर सिमलीको बोट, तरकारीको बोटबिरुवालाई सुरक्षाको निम्ति सिमलीको घेरा, बाख्राको खोरलाई सिमलीकै बारबेर र सरसफाइको निम्ति पनि सिमलीको कुच्चो । मकवानपुरको राक्सिराङ गाउँपालिकाको अधिकांश वडाका बस्तीमा रहेका चेपाङ समुदायभित्र धेरैजसोको घरमा सिमलीको स्याउला प्रयोग गरिएको देखिन्छ । किन होला ? वडा नं. २ का गोपीलाल चेपाङलाई पनि यसको वैज्ञानिक उपयोगिताबारे त थाहा छैन, तर आफ्ना पुर्खाहरूले हानिकारक कीरा र रोगहरूबाट जोगाउन घरवरिपरि सिमली लगाउने गरेको मात्र थाहा छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिकामा राष्ट्रिय जनगणनाको प्रतिवेदन २०६८ को तथ्यांकअनुसार ३७.४१ प्रतिशत चेपाङ जातिको जनसंख्या छ । आधुनिकीकरणको रेखाबाट पर रहेका जनजातिमध्ये चेपाङ एक हो । चेपाङ समुदाय विकास र शिक्षामा पनि निकै पछाडि छ । तुलनात्मक रूपमा सोझा, सरल र इमानदार मानिने यिनीहरू मंगोलियन मुखाकृतिका, गहुँगोरो, थेप्चेनाक, ठूलो अनुहार, मझौला कद र फुर्तिलो शारीरिक बनावटका हुन्छन् । चेपाङहरू जंगलको छेउछाउमा बस्छन् र खेतीपाती, पशुपालन, चोया तथा काठका घरेलु सामान बनाई गुजारा चलाउँछन् । यिनीहरूले पाखो भिरालोबारीमा खेतीपाती गर्ने भएकाले उत्पादन कम हुन्छ, त्यसले ६ महिना पनि खान पुग्दैन । अनि लाग्छन् जंगलतिर र गिठा, भ्याकुरजस्ता कन्दमूल खोजेर खान्छन् । 

कस्ता चेपाङ, कति चेपाङ ?
यो समुदायको नाम चेपाङ कसरी रहन गयो ? समुदायको अग्रजहरूले सुनाएको जानकारी स्थानीयमा छ । त्यसैमध्येका राक्सिराङ– ५ का वडाध्यक्ष चन्द्रसिंह चेपाङ पनि हुन्, जसले चेपाङ नाम हुनुको यस्तो विवरण सुनेका छन्–
चेपाङहरू मुख्य गरी दुईथरी कछारे र पुकुन्थली जातथरका पाइन्छन् । कछारेहरू आफूलाई सुन प्रजा भन्न मन पराउँछन् । चेपाङमा ‘च’को अर्थ कुकुर र ‘पाङ’को अर्थ धनुकाण हुन्छ । चेपाङहरूले घरघरमा कुकुर पाल्ने र धनुकाणको सहायताले सिकार खेल्ने हुनाले चेपाङ नाम हुन गयो । 
०६८ को जनगणनाअनुसार नेपालमा चेपाङहरूको जनसंख्या ६८ हजार तीन सय ९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लामा बसेका छन् । 

‘चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति घनिष्ट रूपमा जोडिएको छ । त्यसैले बसोवास पनि वनजंगलनजिक, भिरालो जमिन र खोलानजिक छरिएर रहेको पाइन्छ । हाम्रो जाति दुःख धेरै गर्छ,’ राक्सिराङ– ६ का ५८ वर्षीय इन्द्रजित चेपाङको भनाइ छ । चेपाङगाउँ पुग्दा घरहरू सामान्यतया ढुंगा र माटोले बनेका र खरले छाएको देखिन्छन् । कतिपय चेपाङहरूको घर भने काठ तथा जस्तापाताले बनाइएको पनि पाइन्छ । उनीहरूको पुख्र्यौली पेसा खोरिया खेती नै हो । हाल आएर आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषिमा तरकारी खेती, पशुपालनका साथै व्यापार–व्यवसायतर्फ पनि यो समुदायका मानिस उन्मुख भएको देखिन्छ । 

चेपाङहरूको आफ्नै मातृभाषा छ । यिनीहरूको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजुल्दो छ । परापूर्व कालदेखि दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा प्रयोग गर्ने यिनीहरू धेरैजसोले आफ्नो घरमा एक–आपसमा आफ्नै चेपाङ भाषा बोल्दछन् भने अरूसँग नेपाली भाषामा कुरा गर्छन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् । त्यसैले बुढापाकाहरू आफ्नो भाषा लोप हुन लागेकोमा चिन्तित छन् । उनीहरूको आफ्नै भाषा भए पनि लिपि भने पाइएको छैन । 

यो जातिको भाषा–संस्कृतिलाई नयाँ पुस्तामा सार्न पनि लिपिको आवश्यकता पर्दोरहेछ भन्छिन् सरकारी सेवा चितवनमा कार्यरत वनरक्षक लक्ष्मी चेपाङ । चेपाङ भाषालाई संवद्र्धन गर्न र यो भाषा तथा संस्कृति अध्ययन र अनुसन्धानको निम्ति ध्रुव अधिकारीले संकलन तथा सम्पादन गरेको ‘चेपाङ संक्षिप्त शब्दकोश आधारभूत व्याकरण’ २०७३ मा प्रकाशनमा आएको छ । यसले चेपाङ भाषा बोल्न र पढ्न चाहने सोही समुदायको नयाँ पुस्ता तथा अन्य व्यक्तिहरूका लागि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ । 

चेपाङबाट प्रजा, तर कसरी ?
चेपाङको पहिचान आफ्नो संस्कार, वेशभूषा, भाषा, संस्कृति एवं परम्परागत सीपको आधारमा बनेको छ । चेपाङ समुदाय प्रकृतिसँग नजिक रहन्छन् । उनीहरू बसोवास गर्ने क्षेत्रमा विशेषगरी चिउरीको रूख निकै पाइन्छ । यसलाई पशुपालनको निम्ति राम्रो घाँसको रूपमा लिइन्छ भने यसको फललाई पाकेपछि खान सकिन्छ र भित्रको दानालाई पेलेर चिउरीको घ्यूसमेत निकाल्न सकिन्छ । चेपाङ समुदायमा परम्परागत ढंगले मौरीपालन गरिन्छ । यो समुदायमा छोरीलाई बिहे गर्दा चिउरीको ठूलो रूख दाइजोको रूपमा माइतीले दिने गर्दछन् । आफ्नो छोरीचेलीले गाईवस्तुलाई घाँस काट्न समस्या नहोस्, चिउरीको फूलबाट मौरीपालनमा सजिलो होस्, यसको स्वादिलो र पोषिलो फल खान पाउन् र फलभित्रको दानाबाट घ्यू निकाली (भुटुन) तरकारी पकाउनसमेत उपयोग होस् भनेर छोरीचेलीलाई चिउरीको रूख दाइजोको रूपमा दिने गरेको मानिन्छ । यो उनीहरूको संस्कारको पहिचान पनि हो । 

चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म भएको चेपाङ अगुवाहरू बताउँछन् । यसअनुरूप चेपाङहरूले सिमेभूमेदेखि रूखसम्म पूजा गर्छन् । चितवनको इच्छाकामना गाउँपालिका– ६ का वडा अध्यक्ष भूपेन्द्र चेपाङ भन्छन्, ‘हाम्रो समुदायमा खेतीबाली लगाउनुभन्दा अगावै भूमिपूजा गर्ने गरिन्छ । मकै बाली पाकिसकेपछि पनि सबैभन्दा पहिले नजिकैको थानीभूमिलाई चढाइसकेपछि मात्र खाइन्छ भने निबुवा, बिमिरो, पिँडालु, घैया धान आदि चाहिँ छोनाम ‘न्वागी’ गरी पितृलाई नबुझाईकन खाइँदैन ।’

चेपाङ जातिका मान्छे आफूलाई चेपाङ भन्नमै गौरव मान्छन् । यो उनीहरूको पहिचानको सरल शब्द हो । तर, कतिपय चेपाङको थर प्रजा लेखिएको पाइन्छ । कसरी यस्तो भयो त ? चितवनका पुराना शिक्षक हरिलाल चेपाङले आफ्नो जातिलाई चेपाङबाट कसरी प्रजा बनाइयो भन्ने कहानीसहित आफ्नो विचार पनि यसरी सुनाए– 

०३४ मा तत्कालीन राजा वीरेन्द्रले अति नै गरिबीको कारण चेपाङलाई ‘प्रजा भन्नू ’ भनी आदेश गरे । त्यसपछि आफ्नो जातीय नाम चेपाङबाट प्रजा बनाए । त्यतिवलादेखि नै प्रजा विकास कार्यक्रम लागू गरियो, तर चेपाङ अगुवा तथा अधिकारकर्मीहरूले आफ्नो जातीय पहिचानलाई मेटाउन नचाहेकाले गर्दा पछि आएर ‘चेपाङ हौँ’ भनी अगाडि बढ्न थाले । नयाँ पुस्तालाई मेरो सन्देश छ, हामी चेपाङ नै हौँ । पछिल्लो चरणमा कसैले हाम्रो समुदायलाई वनकरिया बनाउने कोसिससमेत गरे, यो राम्रो होइन । नयाँ पुस्तालाई यो कुरा थाहा हुनुपर्छ । राष्ट्रिय आधारभूत विद्यालय, चारकिल्ला चितवनमा २१ वर्ष प्रधानाध्यापक भएर उनी हालै सेवा निवृत्त भएका छन् ।

विशिष्ट संस्कृति, संकटापन्न पेसा
चेपाङहरू लोकसंस्कृतिमा पनि उत्तिकै धनी छन् । यो समुदायको पहिलो लोकगायक रविन चेपाङ हुन् । यही समुदायबाटै कमला चेपाङजस्ता नयाँ प्रतिभासहितका गायक–गायिकाहरूले आफ्नै भाषामा गीत तथा संगीतहरू सार्वजनिक गरिसकेका छन् । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू मिलिजुली गाउँछन् ।
चितवनमा रहेर लामो समय सामुदायिक वनको नेतृत्व गरिरहेकी लक्ष्मी प्रजा पुर्खाले सिकाएको सबै धर्मसंस्कृतिलाई आफूले मान्ने गरेको बताउँछिन् । ‘भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो । हामीहरू कुलपूजा, सिकारी देवता, भूमिपूजा, पशुदेवताको पुजा गर्छौँ । साथै दशैँ, तिहार, साउनेसंक्रान्ति, न्वागीपर्व मनाउँछौँ,’ उनी भन्छिन् । न्वागीलाई यिनीहरू ‘छोनाम’ भन्छन् । चेपाङहरू झाँक्रीलाई पाँडे भन्छन् । यिनीहरू आफ्नो समुदायमा कोही बिरामी परेमा उपचारका लागि झाँक्री बोलाउँछन् र रातभरि ढ्यांग्रो ठोकेर देवीदेउताको नाम सम्झिँदै उच्चारण गर्ने गर्दछन् । 

चेपाङ समुदायको मुख्य पेसा कृषि हो । पशुपालनसहित कृषिमा निर्भर रहे पनि आफ्नो जग्गाजमिन हुनेको संख्या धेरै कम छ । उनीहरू जंगल फाँडेर पाखापखेरामा खेतीपाती गर्छन् जहाँ उब्जाउ राम्रो हुँदैन । वर्षायाममा भिरालो जमिनमा पहिरो जाने र जनधनको क्षति हुने समस्या पनि छँदै छ । खोलाको किनारमा बसोवास निकै जोखिमपूर्ण रहेकोसमेत पाइन्छ । वेलावेलामा हुने प्राकृतिक प्रकोप र त्यसले निम्त्याउने विपतले गर्दा उनीहरूले निकै सास्ती खेप्नुपरेको देखिन्छ । त्यसैले त्यस्तो विपतलाई सामना गर्न उनीहरूको समुदायभित्र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने किसिमको घर बनाएको पाइन्छ । वेलावेलामा हुने महामारीलाई रोक्न र सामना गर्न शक्ति मिलोस् भनेर वनदेवीको पूजा निकै आस्था र श्रद्धाले गर्ने गर्दछन् । स्वास्थ्यमा हुने रोगव्याधि उनीहरूको समुदायमा कम लाग्ने र उनीहरूलाई जंगली कन्दमूलमा पाइने औषधीय गुणले समेत काम गर्ने उनीहरूको धारणा छ । 

जीविकोपार्जनका लागि उनीहरूका आफ्नै परम्परागत सीपहरू रहेका छन् । उनीहरू जंगलबाट पाट ल्याएर नाम्लो बुन्ने, डोरी बनाउने, काठका भाँडाकुँडाहरू बनाउने, बाँस–निगालोको चोया निकालेर नाङ्लो, डोको, भकारी, डालो बुन्ने गर्दछन् । यस्ता सामान उनीहरू आफ्नो प्रयोगका लागि पनि तयार गर्दछन् भने बिक्री गरेर आम्दानी पनि गर्छन् । इच्छाकामना–२ चितवनका वडाध्यक्ष पन्तलाल चेपाङ सम्झन्छन्, ‘केही वर्षअघिसम्म यहाँ हाम्रो समुदायको स्थानीयहरूले काठको ठेकी बनाएर बिक्री गर्दथे र व्यापार मेला–महोत्सवहरूमा पनि प्रदर्शन गर्दथे, तर अहिले यो कार्य हराउँदै गएको छ ।’

परम्परागत सीपलाई संरक्षण गर्न कोसिस गरे पनि नयाँ पुस्तामा त्यो किसिमको काम गर्ने इच्छाशक्ति, फुर्सद र जाँगर नहुनाले त्यस्ता सीपहरू पुरानै पुस्तामा मात्र सीमित रहने अवस्था आएको पन्तलालको अनुभव छ ।

आधुनिक शिक्षा र जीवनशैलीबाट टाढा रहेका चेपाङ समुदायले आफ्नो पुर्खाले जीवनयापनको क्रममा भोगेका अनुभव र उनीहरूले हस्तान्तरण गरेका ज्ञान, सीप र परम्परालाई निरन्तरता दिने कोसिस गर्दै आएका छन् । इच्छाकामना– ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङ युवाहरूलाई परम्परागत सीप सिकाए पनि त्यस्तो सीप प्रयोगको सम्भावना र अवसर कमजोर हुँदै गएको ठान्छन् । उनका विचारमा ठेकी बनाउन प्रयोग हुने दारको रूख बिस्तारै लोप हुँदै गएकाले माग हँुदाहुँदै पनि काठका सामान बनाउन कठिन हुनु त्यसको एउटा उदाहरण हो । ‘यस्तो अवस्थामा युवाहरूलाई वैदेशिक रोजगारी नै एक मात्र उपाय भन्ने लाग्न थालेको छ,’ उनी भन्छन्, ‘यो हाम्रो पुस्ताका लागि अवसर हो कि चुनौती हो बुझ्न सकिएको छैन ।’

चेपाङ समुदायका अगुवा एवं संविधानसभाका पूर्वसदस्य गोविन्दराम चेपाङले अल्पसंख्यक तथा सीमान्तकृत समुदायको भाषा, संस्कृति, सीप, ज्ञानलाई राज्यले संरक्षण र संवद्र्धन गर्ने भन्ने नीति लिए पनि स्थानीय निकायहरूले यसतर्फ चासो नदिएको गुनासो पोखे । ‘हाम्रो परम्परागत सीप भनेको बाँस र निगालोको चोयाबाट डोको, डालो, मान्द्रो, नाङ्लो बनाएर बजारमा धानसँग साट्ने हो । तर, अब ती सामानहरू बजार लैजाँदा बिक्री हुन छाडेको छ भने धानसँग साट्ने परम्परासमेत लोप भएको छ,’ पूर्वसभासद् चेपाङले भने, ‘प्लाष्टिकको भाँडासँग प्रतिस्पर्धा गर्न नसकिने हुनाले राज्यले नै विशेष प्राथमिकता दिएर संरक्षण गर्नुपर्छ ।’ 

पछिल्लो चरणमा विभिन्न स्थानमा हुने मेला तथा महोत्सवहरूमा चेपाङ जातिले खाने कन्दमूल गिठा, भ्याकुरलगायतका जंगली खानेकुराहरूलाई स्टलको रूपमा राख्ने गरेको पाइन्छ । यसले नयाँ पुस्ताहरूमा यो समुदायले स्वास्थ्यका लागि प्रयोग गरेको आवश्यक प्राकृतिक खानेकुराहरूबारे परिचित गराउँछ र यसको आधुनिक प्रविधि एवं नयाँनयाँ सीप र ज्ञानतर्फ प्रोत्साहन गर्न थोरै भए पनि सहयोग पुग्ने देखिन्छ ।

आदिवासी ज्ञान, समुदायको पहिचान
सरकारले ‘आदिवासी–जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ बनाएर आदिवासी–जनजातिको भाषा, लिपि, संस्कृति, साहित्य, कला, इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने भनेको छ । सोहीअनुसार उक्त समुदायको निम्ति राज्य अर्थात् स्थानीय निकायले के–कस्तो कार्य गरिरहेका छन् भन्ने प्रश्न खडा हुन जान्छ । मकवानपुरको ३७ प्रतिशत चेपाङ भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायमा सबैभन्दा पहिले स्वास्थ्य र शिक्षा आवश्यक भएकाले भर्खरै अस्पताल निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । उनले चेपाङ भाषामा स्थानीय पाठ्यक्रम निर्माण कार्यका लागि स्थानीय सरोकारवालासँग छलफल भएको र यसप्रति सबै सकारात्मक रहेकोसमेत जानकारी दिए । यसका साथै चेपाङ भाषामा पढाइ सुरु गर्न राष्ट्रिय भाषा आयोगबाट विज्ञ टोली ल्याउन पत्राचार गर्ने कार्य भएको र उनीहरू छिट्टै यस कार्यलाई अघि बढाउन इच्छुक रहेको जानकारीसमेत दिए ।

विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा चेपाङ समुदायमा भाषाले आर्जन गरेको ज्ञानको विषयमा समुदायका धेरै व्यक्तिको फरक–फरक धारणा पाइन्छ । चेपाङ समुदायको बाहुल्य भएको क्षेत्रमा चेपाङ भाषामा अध्ययन तथा अध्यापन हुने हो भने पक्कै पनि पाठ्यपुस्तक तथा विद्यालयमा जानेबुझेका विषयबारे आफ्ना छोराछोरीले बाबुआमालाई आफ्नै भाषामा बुझाउने, सम्झाउने गर्न सक्छन् । राजनीतिकर्मी एवं उक्त समुदायका अगुवा गोविन्दराम चेपाङको बुझाइ पनि यस्तै रहेको छ । उनी भन्छन्, ‘समुदायमा आइपर्ने हरेक विपतहरू र उक्त विपतले ल्याउने जोखिमबारे पाठ्यक्रममा समेत समावेश गर्न सके उनीहरूले आफ्नै भाषामा आफ्नै शैलीमा आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राख्न सक्छन् ।’ 

अगुवा चेपाङका कुरा
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै नेपालमा चेपाङहरू पनि राजनीतिक प्रतिस्पर्धामा अग्रसर देखिँदै आएका छन् । राजनीतिक परिवर्तनले विशेष गरी स्थानीय निकायमा निर्वाचनमार्फत जनप्रतिनिधिहरूको प्रतिनिधित्वको संख्यामा उल्लेखनीय उपलब्धि देखिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा विभिन्न पदमा चेपाङ समुदायबाट खुला सदस्यमै जनप्रतिनिधि निर्वाचित भएका छन् । वडा नं. १ मा लालकुमार चेपाङ, २ मा गोपीलाल चेपाङ, ५ मा सुजन प्रजा, ८ मा राजु प्रजा र ९ मा शुक्रबहादुर प्रजा खुला सदस्यमा चुनिएका छन् । वडा नं. ५ को अध्यक्षमा चन्द्रसिंह प्रजा, ६ को अध्यक्षमा सिंगलाल प्रजा, ७ को अध्यक्षमा कुलबहादुर प्रजा र महिला सदस्य रिखिमाया प्रजा निर्वाचित भएका छन् भने वडा नं. ८ को अध्यक्षमा रामकृष्ण प्रजा चुनिएका छन् । यसरी एउटा गाउँपालिकामा १० जना चेपाङ जनप्रतिनिधि निर्वाचित हुनुलाई राजनीतिक उपलब्धि नै ठान्छन् ०६४ को निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित गोविन्दराम चेपाङ । 

यो गाउँपालिका एउटा उदाहरण मात्र हो । अन्य गाउँपालिका र नगरपालिकाहरूमा पनि चेपाङ समुदायको प्रतिनिधित्व छ । तर, संविधानसभा सदस्य गोविन्दराम चेपाङ ठूलो राजनीतिक परिवर्तनपछि पनि चेपाङ समुदायले आर्थिक परिवर्तनको अनुभूति गर्न नसकेको बताउँछन् । गोविन्दराम आफैँ चेपाङ समुदायबाट राजनीतिक क्षेत्रमा सबैभन्दा उच्च तहमा पुगेका पात्र हुन् । तर, आर्थिक रूपमा सहयोग नभएको राजनीतिक सहभागिताले मात्र चेपाङ समुदायलाई बलियो र दीर्घकालीन सहयोग नमिल्ने उनको भनाइ छ । 

आर्थिक मात्र होइन, थुप्रै चेपाङ शिक्षाको उज्यालोबाट कोसौँ टाढा छन् । शिक्षाको दृष्टिबाट हेर्दा धादिङका तिलक चेपाङले उच्च शिक्षा हासिल गरेका छन् । उनी यो समुदायबाट स्नातकोत्तर गर्ने पहिले व्यक्ति हुन् । हाल बागमती प्रदेश सभा सदस्य रहेका सन्तबहादुर चेपाङ नै राजनीतिक रूपमा उच्च तहमा पुगेका व्यक्तिहरू हुन् । चेपाङ युवाहरूलाई अघि बढाउन उनीहरूलाई स्वरोजगार गराउने सीप र वित्तीय सहयोग आवश्यक रहेको चेपाङ अगुवाहरूको भनाइ छ । 
 

सुझावित समाचार