कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेसको इतिहासमा गुटकै आधारमा मात्रै कसैले पनि चुनाव नजितेको दाबी गरेका छन् । १४ औँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका निधिले गुटकै आधारमा पार्टीको चुनाव कसैले पनि नजितेको बताएका हुन् । ‘बिपीदेखि गिरिजाबाबुसम्मका उदाहरणहरू छन् । इतिहासको तथ्य साक्षी छ । गुटका आधारमा मात्रै कसैले पनि चुनाव जितेको छैन,’ निधिले भने ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र प्रदश १ ले गरेको ‘कांग्रेसका वर्तमान चुनौती र १४औँ महाधिवेशन विषयक
अन्तर्क्रिया’मा निधिले पार्टीको भविष्य र आगामी निर्वाचनका लागि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पहिलो विकल्प भएको बताए । ‘पार्टीको सभापतिका लागि धेरैजना साथीहरूको आकांक्षा आएको छ । सात–आठजना साथीहरू आकांक्षी हुनुहुन्छ । त्यसैले सबैभन्दा पहिले त सर्वसम्मतिबाटै नेतृत्व चयन गर्नु राम्रो हो । त्यसमा मेरो अवरोध छैन,’ उनले भने, ‘नभए चुनाव लड्ने अधिकार सबैलाई छ । मैत्रीपूर्ण रूपमा चुनाव लडौँ ।’
उनले अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका नेताहरूले अब विश्राम लिनुपर्ने बताए । ‘शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी हुनुहुन्छ । तीनैजना उम्मेदवार हुनुहुन्छ कि हुँदैन ? थाहा छैन । तर, उहाँहरूको भूमिकालाई अवमूल्यन गर्ने कुरा पनि छैन । प्रजातन्त्र पुनर्स्थापनाका लागि उहाँहरूले गर्नुभएको भूमिकाप्रति सम्मान र उच्च मूल्यांकन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उहाँहरूले देशका लागि गर्न बाँकी रहेको कामहरू अब हामीले पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।’
निधिले पार्टीको पहिलो पुस्तालाई आफूहरूले जबर्जस्ती हटाउन भने नचाहेको बताए । ‘आगामी व्यवस्थापन र परिवर्तनका लागि, जनताको सुख–दुःख बुझेर आगामी भविष्यका लागि हामीले एकीकृत रूपमा अघि बढ्नुपर्छ । हामीले जबर्जस्ती हटाउन चाहेका छैनाैँ । उहाँहरू आफैँले छाडिदिनुभयो भने झन् राम्रो हो । नभए पनि हामीले उहाँहरूलाई भूमिकाविहीन बनाउने होइन । पार्टीको कार्यकारिणी भूमिकाका लागि उहाँले खाली गरिदिनुपर्छ भन्ने मात्रै हो,’ उनले भने ।
उनले महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै नभएर आसन्न आमचुनावका लागि वैचारिक, राजनीतिक र नीतिगत रूपमा कांग्रेसलाई तयार गर्नुपर्ने बताए ।