सन्तोषी सुब्बा हत्या प्रकरण : बाबुआमाको उपचार गर्ने भनाइले अभियुक्तको रहस्य खुल्यो

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

सन्तोषी सुब्बाको हत्यालगत्तै दक्षिणकाली नगरपालिका–७ बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिना बाबुआमाको उपचार गर्न भन्दै ट्याक्सी रिजर्भ गरेर काठमाडौंतर्फ लागे । यसक्रममा उनले एक आफन्तलाई बुबाको उपचार गर्न काठमाडौं हिँडेको भने । अर्र्का व्यक्तिसँग भने आमाको उपचार गर्न जान लागेको बताए । अन्ततः विरोधाभास उनको यही अभिव्यक्ति हत्याको रहस्य खोल्ने कडी बन्यो ।

काठमाडौं महानगरपालिका–७ बस्दै आएकी सुब्बाको क्षतविक्षत शव फेला परेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको तथ्य खोज्न प्रहरीले मृतकको मोबाइल फोन विश्लेषण गर्यो । तर, शंकास्पद त्यस्तो कुनै नम्बर फेला परेन । त्यसपछि प्रहरी हत्या भएको दिन घटनास्थल आसपास सक्रिय मोबाइल नम्बरको विश्लेषणमा लाग्यो । यसक्रममा घटनाका दिन मृतकको आसपास सक्रिय एउटा नम्बर देखियो । प्रहरीले सो मोबाइल नम्बरको डिटेल उतार्यो । व्यक्ति पहिचान भयो । तुरुन्तै शंकास्पद व्यक्तिको खोजीमा जुट्यो । 

त्यसक्रममा शंकास्पद व्यक्तिको मोबाइल नम्बर काठमाडौंमा सक्रिय रहेको खुल्यो । पछ्याउँदै जाने क्रममा असन कमलाक्षीस्थित घरको डेरामा सुरेश तिमल्सिना फेला परे । तर, उनले घटनामा आफ्नो संलग्नता इन्कार गरे । प्रहरीले जब उनलाई अपर्झट काठमाडौं आउनुको उद्देश्य सोध्यो, त्यसक्रममा उनले दुई आफन्तमध्ये एकलाई बुबाको र अर्कोलाई आमाको उपचार गर्न काठमाडौं आएको बताएको खुल्यो । अनुसन्धान गर्दै जाँदा उनले झुटो बोलेको पाइयो । विरोधाभास यही अभिव्यक्तिले उनको कर्तुतलाई उदांगो बनाइदियो । 

‘घटनालगत्तै हामी दक्षिणकाली गयौँ । अनुसन्धान सुरु गर्यौँ, भएजति सबै उपाय लगायौँ । पछि एक व्यक्तिको गतिविधि शंकास्पद देखियो । उनलाई काठमाडौंबाट पक्राउ गर्यौँ । बयान लिने क्रममा उनले दुईमध्ये एक आफन्तलाई बुबाको र अर्कोलाई आमाको उपचार गर्न काठमाडौं गएको बताएको खुल्यो । तर, अनुसन्धानपछि उनका आमाबुबा कोही बिरामी नभएको पाइयो,’ घटना अनुसन्धानपछि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘अन्ततः उनको विरोधाभास यही अभिव्यक्ति नै हत्याको रहस्य खोल्ने कडी बन्यो । घटना भएको २४ घन्टाभित्रै अनुसन्धानलाई टुंगोमा पुर्यायौँ ।’

जंगली जनावरको आवाज नक्कल गर्न दक्षिणकाली पुगेकी थिइन् सुब्बा
काठमाडौंकी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण प्रतिभा थियो । यही प्रतिभालाई नै उनले जीवन गुजाराको माध्यम बनाएकी थिइन् । यसका लागि उनी विद्यालय–विद्यालय आवाज सुनाउन हिँड्थिन् । निषेधाज्ञाका वेला विद्यालय बन्द थियो । फुर्सदको यही मौका सदुपयोग गर्न उनी ५ असारमा दक्षिणकालीको जंगल पुगेकी थिइन् । त्यस रात उनी दक्षिणकालीकै गेस्ट हाउसमा बसिन् । भोलिपल्ट  जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न जंगल पसिन् । साँझ परेपछि उनी दक्षिणकालीकै एक होटेलमा बसिन् ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार सोही होटेलमा मदिरा पिउँदै थिए अभियुक्त सुरेश । खाजा खाएपछि घर फर्कन र होटेलमा बस्न पैसा नभएको सुब्बाले आफ्नो पीडा होटेल साहुजीलाई सुनाइन् । मदिरामा मस्त सुरेशले सबै व्यवस्थापन गरिदिने प्रलोभन दिए । सुब्बा ढुक्क भइन् । साँझ ८ बजे सन्तोषी सुब्बा सुरेशसँगै बाहिर निस्किइन् । दक्षिणकाली–काठमाडौं चल्ने बसको सहचालक सुरेशले ‘गेस्ट हाउस खुला नभएकाले बसमा रात बिताउन दिने’ भने । सुब्बा पनि राजी भइन् । दुवै दक्षिणकालीस्थित पार्कमा राखिएको बसतर्फ लागे ।

‘मृतक वेलावेला दक्षिणकाली जानेआउने गरेको देखिन्छ । यही क्रममा उनी ५ असारमा दक्षिणकाली गएकी रहिछिन् । यसक्रममा दुवैको भेट खाजा खाने होटेलमा भयो । यही भेट सुब्बाको हत्याको कारण बन्यो,’ एसपी कोइरालाले भने । पार्कनजिकै पुगेपछि सुरेशले सुब्बालाई हातमा समाते । पार्कबाट जंगलतर्फ लगे । र, एक्कासि लडाए । जबर्जस्ती गर्न खोज्दा सुब्बाले प्रतिकार गरिन् । नशाको सुरमा रहेका सुरेशले सुब्बाकै सल ताने अनि घाँटीमा कसे । बेहोस भएपछि ढुंगाले टाउको किचे र नजिकैको जंगलमा लगेर फाले । त्यसपछि उनी फरार भए । घटनामा संलग्न तिमल्सिना सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई हाल दक्षिणकाली नगरपालिका–७ बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका वेला अभियुक्तले लगाएका कपडा, मृतकको मोबाइल, मेमोरी कार्डसमेत बरामद गरेको छ ।

‘हत्याका अभियुक्तले सलले घाँटीमा थिचेको देखिन्छ । त्यसपछि टाउकोमा ढुंगाले किचेकाले नै सुब्बाको प्राण गएको हुन सक्छ । सुरेशले बलात्कार प्रयास गरेको देखिन्छ,’ महाशाखाका एसपी कृष्ण पंगेनीले भने ।

See More On

सुझावित समाचार