आज राति १२ः४५ बजेको खेलमा समूह ‘डी’मा रहेका चेक रिपब्लिक र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । विम्बली रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य समूहविजेता बन्ने छ । चेक रिपब्लिक र इंग्ल्यान्डले दुई खेलबाट समान चार अंक बटुलेका छन् । आज हुने खेलको विजयी टोली समूहविजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुग्नेछ । बराबरी नतिजाले दुवैको पाँच अंक हुनेछ ।
इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले आफ्नोतर्फ नतिजा पार्न चेकविरुद्धको प्रतिस्पर्धामा मिडफिल्डर जोर्डान हेन्डसन र डिफेन्डर ह्यारी मुगुईलाई खेलाउने जनाएका छन् । डिफेन्स र मिडफिल्ड पक्ष बलियो बनाउनकै लागि यी दुई महत्वपूर्ण खेलाडीलाई उतार्ने योजना प्रशिक्षक साउथगेटले बनाएका हुन् । लिभरपुलका हेन्डसन र म्यानचेस्टर युनाइटेडका ह्यारीले चोटका कारण पछिल्लो खेल गुमाएका थिए । दुवै खेलाडी फिट हुँदा इंग्ल्यान्ड सशक्त रूपमा प्रस्तुत हुने सम्भावना छ । ‘दुवै खेलाडीले अभ्यास सत्रमा राम्रो गरेका छन्, चेकविरुद्धको खेलमा उनीहरूले स्थान पाउनेछन्,’ उनले भने, ‘दुई महत्वपूर्ण खेलाडी बाहिर रहँदा रक्षापंक्ति र मिडफिल्ड कमजोर रहेको महसुस भएको छ, सिनियर खेलाडीबाट म त्यति खुसी छैन, युवा खेलाडीले नै इंग्ल्यान्डलाई जित दिलाउनेछन् ।’
इंग्ल्यान्ड समूहविजेता बनेको अवस्थामा नकआउट चरणमा फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी सम्मिलित समूह ‘एफ’का विजेता टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड समूह ‘डी’मा उपविजेता भए, उसले स्विडेन, स्लोभाकिया, स्पेन तथा पोल्यान्डबीचको उपविजेता टोलीविरुद्ध खेल्नेछ ।
चेकका सहायक प्रशिक्षक जिरीले एक अंकले मात्रै पनि अर्को चरणमा पुग्ने भएकाले सतर्क रही प्रतिस्पर्धा गर्ने जनाएका छन् । ‘एक अंकले नै समूहविजेता बन्ने सम्भावना छ, त्यसैले जोखिम उठाउनुभन्दा पनि सामान्य रूपमा खेल्नुपर्ने देखिन्छ,’ सहायक प्रशिक्षक जिरीले भने, ‘यसका लागि अर्को खेल पनि बराबरी हुनुपर्छ ।’
इंग्ल्यान्ड बलियो र सन्तुलित टोली भएकाले उनीहरूविरुद्ध फरक रणनीति बनाएको उनको भनाइ छ । ‘पछिल्लो केही वर्ष इंग्ल्यान्डले मेजर फुटबल प्रतियोगितामा उत्कृष्ट खेल देखाएको छ,’ जिरीले भने, ‘इंग्ल्यान्डका खेलाडी चेकका भन्दा अनुभवी छन्, साथै विश्वकै उत्कृष्ट प्रिमियर डिभिजन लिगमा इंग्लिस खेलाडीको अनुभव छ ।’
चेकका प्याट्रिक स्चिन्क र पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो तीन–तीन गोलका साथ प्रतियोगिताकै उच्चगोलकर्ताको सूचीमा छन् । आजको खेलमा इंग्ल्यान्डले विशेषत प्याट्रिकलाई रोक्नुपर्ने हुन्छ । डिफेन्डरको सामान्य गल्तीमा उनी गोल गर्न पछि पर्दैनन् । यद्यपि, इंग्ल्यान्डको डिफेन्स लाइन अप बलियो छ । तर, प्याट्रिकलाई डिफेन्स लाइनमा हल्का खुला छाड्दा पनि इंग्ल्यान्डले ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ ।
हेड टु हेड
– इंग्ल्यान्ड र चेक चालू युरोकपको छनोट चरणको प्रतियोगिताको एकै समूहमा परेका थिए । जसमा इंग्ल्यान्डले चेकलाई ५–० ले हराएको थियो । चेकको घरेलु मैदान प्रागुईमा इंग्ल्यान्ड २–१ ले हारेको थियो । चेक र इंग्ल्यान्डबीच पहिलोपटक मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आमने–सामने हुन लागेको हो ।
– विम्बली रंगशालामा चेकले तीन खेलमा नौ गोल व्यहोरेको थियो । जसमा इंग्ल्यान्डले एक जित र हार निकाल्यो ।
– पछिल्लो चार खेलमा यी दुईबीचको खेलमा १४ गोल भएको थियो । प्रतिखेल गोल औसत नै ३.५ रहेको छ ।
क्रोएसिया र स्कटल्यान्डलाई जित्नैपर्ने दबाब

हाम्पडेनमा आज राति १२ः४५ मा हुने समूह ‘डी’को अन्तिम चरण खेलमा क्रोएसियालाई सहजै हराउँदै प्रिक्वार्टरफाइनल पुग्ने विश्वास स्कटल्यान्डले लिएको छ । यद्यपि, स्कटल्यान्डका डिफेन्डर लिआम कुपरले दुवै टोलीका लागि ‘गर या मर’को अवस्था रहेको बताएका छन् ।
अहिलेसम्म स्कटल्यान्ड र क्रोएसियाले दुई खेलबाट समान एक अंक जोडेका छन् । गोलअन्तरमा स्कटल्यान्ड क्रोएसियाभन्दा एक गोलले पछि छ । यस्तो अवस्थामा स्टिभ क्लार्कको प्रशिक्षणमा रहेको स्कटल्यान्डले केवल जित मात्र निकालेर पुग्दैन, गोलअन्तर पनि बढाउनुपर्छ । बढी गोलअन्तरमा जित निकाल्दा स्कटल्यान्डको अन्तिम १६ मा पुग्ने आशा बलियो बनाउने कुपरले बताए । ‘अहिलेसम्म हामीले विपक्षी पोस्टमा ३० पटक गोलका लागि प्रहार गरेका छौँ, यस तथ्यले हाम्रो टोली कति आक्रामक र फिनिसिङमा बलियो छौँ भन्ने थाहा हुन्छ, केवल गोल मात्र ननिस्किएको हो,’ कुपरले भनेका छन्, ‘विश्वास छ क्रोएसियाविरुद्धको खेलमा त्यो अभाव पूरा हुनेछ ।’
चेक रिपब्लिकन र इंग्ल्यान्डसँगको प्रतिस्पर्धामा धेरै गोल अवसर सिर्जना गरेको उनको भनाइ छ । ‘पछिल्लो दुई खेलमा हाम्रो पोस्ट चार्ज रेकर्ड राम्रो छ, अब यसलाई निरन्तरता दिँदै गोल थप्नुपर्छ,’ कुपरले भने । शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् । उत्कृष्ट तेस्रो हुने टोली पनि नकआउटमा पुग्ने अवसर यथावत् नै छ । यस खेलमा स्कटल्यान्डका मिडफिल्डर विली गिल्मोर खेल्ने छैनन् । उनी कोरोनाका कारण बाहिर छन् । इंग्ल्यान्डविरुद्धको खेलमा उनी म्यान अफ दी म्याच भएका थिए ।
स्कटल्यान्डभन्दा क्रोएसिया बलियो : प्रशिक्षक डालिका
क्रोएसियाका प्रशिक्षक ज्लाटको डालिकाले स्कटल्यान्डविरुद्धको जितकै लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । हारले प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना रहेका कारण ‘गर या मर’को अवस्थामा रहेकाले जितको विकल्प नरहेको उनले प्रस्ट्याए । ‘आज हामी दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । यसकारण दुवै टोली हार्न चाहँदैनौँ,’ क्रोएसियाका प्रशिक्षक डालिकले भने । सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी क्रोएसिया उपविजेता बनेको थियो । फ्रान्ससँग फाइनलमा पराजित भएको क्रोएसियाले विश्वकपयता अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उनले स्कटल्यान्डको तुलनामा क्रोएसिया बलियो भएको दाबी गरेका छन् ।
भाग्यको पनि साथ चाहिन्छ : क्लार्क
स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले कतिपय अवस्थामा राम्रो खेल्दाखेल्दै भाग्यको साथ नपाउँदा पराजित हुनुपर्ने बताएका छन् । क्रोएसियाविरुद्ध भाग्यको पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ । ‘यदि हामीले धेरैभन्दा धेरै मौका निकाल्यौँ भने खेलमा दबाब राख्न सक्छौँ, यसपछि गोल पनि सहजै निस्कने छ,’ स्कटिस प्रशिक्षक क्लार्कले भने, ‘यसका लागि हामीलाई आजको खेलमा भाग्यको पनि साथ चाहिन्छ ।’ प्रतियोगितामा क्रोएसिया उपाधि दाबेदार टोलीकै रूपमा रहेको उनले स्विकारेका छन् ।
तथ्य
–क्रोएसियाविरुद्ध अहिलेसम्म स्कटल्यान्ड अपराजित छ । पाँच खेलमा स्कटल्यान्डले क्रोएसियालाई दुई खेलमा हराएको छ, यसैगरी दुई खेलमा क्रोएसियाले स्कटल्यान्डलाई बराबरीमा रोकेको छ ।
–अहिलेसम्म यी दुई देशको बीचमा दुई गोलभन्दा बढी गोल भएको छैन । हाम्पडेन पार्कमा पछिल्लो नौ खेलमा स्कटल्यान्ड एक खेलमा मात्र पराजित भएको छ । यस मैदानमा स्कटल्यान्डले पाँच जित र तीन बराबरी निकालेको छ ।
–हाम्पडेन पार्कमा स्कटल्यान्डले नौमध्ये एक खेलमा पराजित भएको खेल नै चालू युरोकपमा चेक रिपब्लिकसँगै हो । पछिल्लो पाँच युरोकपमा क्रोएसिया दुईपटक मात्र नकआउट चरणमा पुग्न सकेन । सन् १९९६, २००८ र २०१६ को संस्करणमा क्रोएसिया नकआउट चरणमा पुगेको थियो ।
–स्कटल्यान्डले मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको नकआउट चरण स्थान पक्का गर्न सकेको छैन । जसमध्ये आठ विश्वकप तथा दुई युरोकपमा स्कटल्यान्ड पहिलो चरणबाटै बाहिरिएको अवस्था छ ।