बेल्जियमले युरोकप इतिहासमा पहिलोपटक समूहगत चरणका आफ्ना सबै खेलमा जित हात पारेको छ । युरोकप २०२० अन्तर्गत सोमबार राति भएको खेलमा फिनल्यान्डलाई २–० गोलले पराजित गर्दै बेल्जियमले आफ्नो फुटबल इतिहासमा नयाँ उपलब्धि हात पारेको हो ।
यसअघिका कुनै पनि युरोकपमा बेल्जियमले समूहगत चरणमा दुईभन्दा बढी खेलमा जित हात पार्न सकेको थिएन । यसअघि नै प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा प्रवेश गरिसकेको बेल्जियम यो उपलब्धिसँगै समूह ‘बी’को विजेता बनेको छ ।
रुसको सेन्ट पिटर्सबर्गमा भएको प्रतिस्पर्धामा विश्व वरीयताको पहिलो नम्बरमा रहेको बेल्जियमले तुलनात्मक रूपमा कमजोर फिनल्यान्डविरुद्ध सशक्त प्रदर्शन गरेको थियो । यद्यपि, उसलाई खेलमा अग्रता लिनका लागि दोस्रो हाफसम्म कुर्नुपर्याे ।
बेल्जियमले खेलको ७४औँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । फिनल्यान्डका गोलरक्षक लुकास ह्याडेकीले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि खेलको ८१औँ मिनेटमा रोमेलु लुकाकुले केभिन डी ब्रुनीको पासमा गोल गर्दै टोलीको जित २–० ले निश्चित गरे ।
बेल्जियमसँगको पराजयसँगै फिनल्यान्ड भने समूह ‘बी’को उपविजेताको रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्नबाट वञ्चित भएको छ । सोमबार राति एकै समयमा भएको अर्काे खेलमा रुसमाथि ४–१ गोलको सन्सनीपूर्ण जित हात पार्दै डेनमार्क समूह ‘बी’को उपविजेताको रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ ।

फिनल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै
त्यसका बाबजुद फिनल्यान्डसामु प्रतियोगिताको नकआउट चरणमा पुग्ने झिनो सम्भावना अझै जीवित छ । समूहको तेस्रो स्थानमा रहेका टोलीहरूमध्ये उत्कृष्ट चारभित्र पर्न सके फिनल्यान्ड पनि प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछ । त्यसका लागि भने उसलाई प्रतियोगिताका बाँकी खेलको नतिजा कुर्नुपर्नेछ ।
पहिलोपटक ठूलो प्रतियोगिता खेलेको फिनल्यान्डले सम्मानजनक प्रदर्शन गरेको छ । आफ्नो पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको फिनल्यान्ड दोस्रो खेलमा भने रुससँग पराजित भएको थियो । बेल्जियमविरुद्ध पनि गोल व्यहोर्नुअघिसम्म फिनल्यान्ड समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणको यात्रा तय गर्ने अवस्थामा देखिएको थियो ।
तर, बेल्जियमका थोमस भर्मेइलेनले हेडिङ गरेको बललाई नियन्त्रणमा लिने प्रयासमा गोलरक्षक ह्याडेकीले आफ्नै पोस्टमा छिराएपछि फिनल्यान्डको त्यो सम्भावना टरेको थियो । बेल्जियमको यो खेलको नतिजाले समूह ‘डी’मा रहेका चेक रिपब्लिक र इंग्ल्यान्ड तथा समूह ‘ई’को स्विडेन र समूह ‘एफ’को फ्रान्सको पनि प्रिक्वार्टरफाइनल चरणको यात्रा निश्चित भएको छ ।
डी ब्रुनीको लय
बेल्जियमले जारी युरोकपको प्रिक्वार्टरफाइनल चरणमा तेस्रो स्थानमा रहेर बढुवा पाएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा बेल्जियम निक्कै सशक्त देखिएको छ । उसले आफ्नो पछिल्लो २७ खेलमा मात्रै एक पराजय व्यहोरेको छ ।
प्रमुख प्रशिक्षक रोबर्टाे मार्टिनेजले फिनल्यान्डविरुद्धको खेलमा अघिल्लो खेलबाट आठ खेलाडी परिवर्तन गरेका थिए । त्यसका बाबजुद पनि बेल्जियमले सशक्त प्रदर्शन गर्याे । त्यसमा मिडफिल्डर डी ब्रुनीको प्रदर्शन प्रशंसनीय रह्यो । चेल्सीविरुद्धको गत च्याम्पियन्स लिग फाइनलमा चोट बोक्न पुगेका उनको फिटनेसलाई लिएर प्रतियोगिताअघि धेरै आशंका गरिएका थिए । यद्यपि, यो प्रदर्शनबाट उनले आफू पूर्ण लयमा रहेको संकेत दिएका छन् ।
फिनल्यान्डविरुद्ध मैदानमा सबैभन्दा बढी बल उनै डी ब्रुनीले छोएका थिए । मैदानमा १०७ पटक बल टच गरेका उनले आफ्नो टोलीको जितमा महत्वपूर्ण पाससमेत निकालेका थिए ।
अंक–तालिका
समूह बी
टिम खेल जित बराबरी हार गरेको गोल व्यहोरेको गोल गोल अन्तर अंक
बेल्जियम ३ ३ ० ० ७ १ ६ ९
डेनमार्क ३ १ ० २ ५ ४ १ ३
फिनल्यान्ड ३ १ ० २ १ ३ –२ ३
रुस ३ १ ० २ २ ७ –५ ३