वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई संयुक्त विद्यार्थी संघर्ष समिति पर्साले कार्यकक्षमै थुनिदिएको छ । आइतबार बिहान ११ देखि १२ बजेसम्म शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्ण कार्यकक्षमा रहेको वेला संघर्ष समितिले तालाबन्दी गरेको हो ।
कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम हुँदाँहुदै विनामापदण्ड विद्यालय सञ्चालनका लागि शैक्षिक प्रशासन महाशाखाले तयारी थालेपछि तालबन्दी गरेको संघर्ष समितिले जनाएको छ ।
तालाबन्दी गर्दै संयुक्त विद्यार्थी संघर्षका सदस्यहरूले कर्णविरुद्ध नाराबाजी गरेका थिए । कर्णले जिल्लामा र पालिकामा रहेका विद्यार्थी संगठनहरूलाई शैक्षिक हकहितका लागि बेवास्ता गरेर मनोमानी निर्णय गरेकाले विरोधसहित तालाबन्दी गरिएको अनेरास्ववियुका नेता रेयाज अन्सारीले बताए । कर्णलाई एक घन्टा थुनेर, २४ घन्टाको अल्टिमेटम दिँदै तालाबन्दी खोलिएको उनले बताए ।
शैक्षिक प्रशासन महाशाखाले संयुक्त विद्यार्थी संघर्ष समितिलाई नटेरेको, मनोमानी गर्दै अगाडि बढेकाले चेतावनीसहित तालाबन्दी गरिएको विद्यार्थी नेताहरूले बताएका छन् ।
घटनाबारे बुझ्न खोज्दा कर्ण सम्पर्कमा आउन चाहेनन् । गत २१ जेठमा सूचना जारी गर्दै वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक तथा निजी विद्यालय १ असारदेखि सञ्चालन गर्ने बताएको थियो ।
महानगरको सूचनामा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायतका व्यवस्थापकीय तयारी गर्ने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने र असार १५ गतेपछि नियमित रूपले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु गर्ने उल्लेख छ ।