इन्टरनेट नहुँदा रसुवा भन्सारमा जाँचपास रोकियो, सय गाडी लाइनमा

शनिबार, ५ असार, २०७८
डिजिटल संस्करण
इन्टरनेट नहुँदा रसुवा भन्सारमा जाँचपास रोकियो, सय गाडी लाइनमा

भन्सार जाँचपासको प्रक्रियामा लाइनमा रहेका कन्टेनरहरू

पाँच दिनदेखि रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुँदा त्यसको असर रसुवागढी नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पुगेको छ । यस भेगमा बिजुलीसमेत अवरुद्ध थियो । तर, शुक्रबारबाट बिजुली भने आएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा नेपाल आयात भएका सयभन्दा बढी नेपाली गाडीको जाँचपास रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । ‘विद्युत् फोनचाहिँ बल्ल आयो, तर इन्टरनेट आएको छैन, फरक–फरक इन्टरनेट जोडेका छौँ, यसअघि एउटा जाँदा अर्को हुने गथ्र्यो भने अहिले त नेपाल टेलिकम र सुबिसु दुवैको इन्टरनेट छैन, उनले भने एनसेलको डाटा प्रयोग गरी काम गर्ने प्रयास गरिएको र यसले पनि काम नगरेको उनले जानकारी दिए । 

अनलाइन सिस्टममार्फत भन्सार जाँचपास हुने भएकाले इन्टरनेट नहुँदा भन्सार जाँचपासको काम प्रभावित भएको उनले बताए । ‘इन्टरनेट नभई सिस्टम चल्दैन, उनले भने, सयवटा नेपाली गाडी लाइनमा छन्, जसमध्ये १५ वटामा स्याउ छ, 

चिनियाँ पक्षले आफ्नै गाडीमा नेपाली भूमिसम्म नियमित सामान आयात गरिरहेका छन् । चिनियाँ एउटा गाडीमा आएको सामान नेपाली दुईवटा गाडीमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । 

व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार भन्सारमा आएर बसेको गाडी सम्बन्धित ठाउँमा पुगेका छैनन् । मनसुनले खोला बढेका कारण सुरक्षित स्थानमा राख्नसमेत समस्या भएको उनको भनाइ छ । उनका अनुसार बाटो राम्चेदेखि टिमुरेगढीसम्म नै जोखिमपूर्ण रहेको उनले बताए । ‘कतिवेला कता के हुन्छ थाहा छैन, पानीको बहाव बढेपछि खोलाले सडक कटान गरी भासिएको छ, उनले भने । 

एकै ठाउँमा लामो समय गाडी रोकिने भएकाले गाडीभित्र पानी छिरेर सामग्री बिग्रने समस्या बढेको व्यवसायीको गुनासो छ । उता, नाका जोड्ने सडकसमेत १ असारबाटै अवरुद्ध छ । 

लगातारको वर्षाका कारण सडक अवरुद्ध हुने गरेको छ । स्याउबारीदेखि टिमुरेसम्मको सडकमा दैनिकजसो ढुंगा खस्ने तथा पहिरो गइरहेको छ । सडक सुचारु गरे पनि लगातारको वर्षाले सडक छिनछिनमा अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । पाँच दिनदेखि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध हुँदा करिब २५ वटा मालवाहक कन्टेनर बीचमै रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । अवरुद्ध सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार