युरोकप २०२० अन्तर्गत शुक्रबार अबेर राति भएको खेलमा इंग्ल्यान्ड आफ्नो परम्परागत प्रतिद्वन्द्वी स्कट्ल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यससँगै समूह डीबाट प्रि–क्वार्टरफाइनल चरणमा पुग्ने टोलीको टुंगाे अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ ।
शुक्रबार इंग्ल्यान्ड र स्कट्ल्यान्डले गोलरहित बराबरी खेल्नुअघि समूह डीअन्तर्गतकै अर्काे खेलमा क्रोएसिया पनि चेक लिपब्लिकसँग एक–एक गोलको बराबरीमा रोकिएको थियो । यो नतिजापछि दुई खेलबाट चार अंकका साथ चेक रिपब्लिक समूह डीको शीर्ष स्थानमा छ भने समान खेलबाट समान अंकसहित इंग्ल्यान्ड दोस्रो स्थानमा छ । एक–एक अंक भएका क्रोएसिया तेस्रो र स्कट्ल्यान्ड चौथो स्थानमा छ ।
अब मंगलबार हुने समूह डीको अन्तिम चरणको खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कट्ल्यान्ड खेल्ने छन् । इंग्ल्यान्ड र चेक परिपब्लिकबीचको खेल बराबरीमै रोकिए यी दुवै टोली समूह विजेता र उपविजेताका रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछन् । त्यसपछि क्रोएसिया र स्कट्ल्यान्डमध्ये विजेता एक टोलीलाई प्रतियोगिताको सबै समूहको तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चारभित्र रहँदै नकआउट चरणमा पुग्ने प्रयास गर्नुपर्नेछ ।
इंग्ल्यान्ड र चेक रिपब्लिकबीचको खेलमा हारजितको नतिजा निस्किएको अवस्थामा भने क्रोएसिया र स्कट्ल्यान्डमध्ये विजेता टोलीको पनि नकआउट चरणमा पुग्ने सम्भावना रहन्छ ।
चिरप्रतिद्वन्द्वीसँग स्कटल्याण्डको अंक

इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा स्कट्ल्यान्डले चिरप्रतिद्वन्द्वी इंग्ल्यान्डसँग अंक खोस्न सफल भयो । यही एक अंकले स्कट्ल्यान्डको नकआउट चरणको सम्भावना जीवित बनेको हो ।
सन् १९९६ को युरोकपपछि पहिलोपटक महत्त्वपूर्ण प्रतिस्पर्धामा इंग्ल्यान्डसँग भेट हुँदा स्कट्ल्यान्डले सशक्त प्रदर्शन ग¥यो । यद्यपि, २२ हजार पाँच सय दर्शकको उपस्थितिमा दुवै टोली जित निकाल्न सकेन । आफ्नो पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको स्कट्ल्यान्डका लागि भने यो पुनरागमन सुखद रह्यो ।
खेलको अन्त्यमा इंग्लिस टोलीले भने आफ्नै समर्थकको आलोचना व्यहोर्नुप¥यो । इंग्ल्यान्डले खेलको सुरुवातबाटै नियमित अवसर खेर फालेको थियो । अघिल्लो खेलको तुलनामा स्कट्ल्यान्डले निकै सुधारिएको प्रदर्शन गर्दा इंग्ल्यान्डको प्रदर्शन भने कमजोर देखियो । इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डलाई स्कट्ल्यान्डको केही सशक्त प्रयास रोक्न मुस्किल देखिएको थियो । आफ्नो पहिलो खेलमा क्रोएसियालाई पराजित गरेको इंग्ल्यान्डले भने कुनै समय सशक्त आक्रमण गर्न सकेन ।
चेक रिपब्लिकको सुखद यात्रा
प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको चेक रिपब्लिकले भने नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्नु चेक रिपब्लिकको दुर्भाग्य बन्यो ।
चेक रिपब्लिकले खेलको ३७औँ मिनेटमा विवादास्पद पेनाल्टीमार्फत अग्रता बनाएको थियो । क्रोएसियाको डी बक्सभित्र बललाई हेडिङ गर्न उफ्रिएका चेकका स्ट्राइकर प्याट्रिक सिकलाई डेजान लोभरेनको हातले लागेको थियो । सोही कारण रेफ्री कार्लाेस डेल सेर्राेले भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहायताले चेक रिपब्लिकलाई पेनाल्टी अवसर दिएका थिए ।
उक्त अवसर सदुपयोग गर्दै बार्यन लेभरकुसेनका फर्वार्ड सिकले आफ्नो टोलीलाई १–० ले अघि बढाएका थिए । यद्यपि, क्रोएसियाले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै खेल बराबरीमा फर्कायो । इभान पेरिसिचले आफ्नो व्यक्तिगत प्रयासमा गोल गर्दै क्रोएसियालाई एक–एक गोलको बराबरीमा फर्काएका थिए । खेलमा दुवै टोलीले गोलको केही राम्रा अवसर पाएका थिए । यद्यपि, ती अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक–एक अंकमा चित्त बुझायो ।
शुक्रबारको खेल
इंग्ल्यान्ड ०–० स्कट्ल्यान्ड
क्रोएसिया १–१ चेक रिपब्लिक