कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदाै १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका–नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन भदाै १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । नेता महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र, त्यसमा जो पार्टीहरू, व्यक्तिहरू जोडिन चाहनुहुन्छ, उहाँहरूलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समूहहरूलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ ।’

उनले कोरोना कहरको वेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरूको विषयमा छलफल भइरहेको पनि बताए । 
 

सुझावित समाचार