युरोकपमा आजको खेल : इंग्ल्यान्डको नजर नकआउट चरण

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण

युरोकप २०२० फुटबल प्रतियोगिताको शुक्रबार मध्यराति इंग्ल्यान्डले वयम्ली रंगशालामा छिमेकी स्कटल्यान्डको सामना गर्दै छ । यस खेलमा इंग्ल्यान्डको लक्ष्य नै स्कटल्यान्डलाई हराएर समूह ‘डी’बाट नकआउट चरणमा प्रवेश गर्नु हो । इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई १–० अन्तरले हराएको थियो । 

यसै समूहको पहिलो खेलमा स्कटल्यान्ड चेक रिपब्लिकनसँग २–० ले स्तब्ध बनेको थियो । समूह डीबाट प्रि–क्वार्टरफाइनल प्रवेशको आशा जीवित राख्न स्कटल्यान्डले इंग्ल्यान्डमाथि जित निकाल्नैपर्छ । यदि यस खेलमा पनि हारको सामना गरे स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिन सक्छ । हालसम्म इंग्ल्यान्ड र चेक रिपब्लिकनले तीन–तीन अंक जोडेका छन् । 

इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले वयम्ली रंशगालामा सुधारिएको प्रदर्शन हुने अपेक्षा गरेका छन् । गत आइतबार क्रोएसियामाथि १–० को जित निकाल्न इंग्ल्यान्डले निकै ठूलो संघर्ष गर्नुपरेको थियो । क्रोएसियाको तुलनामा स्कटल्यान्ड सहज प्रतिद्वन्द्वी रहेको इंग्ल्यान्डको अनुमान छ । २२ जुनमा चेक रिपब्लिकनसँग प्रतिस्पर्धा गर्नुअघि इंग्ल्यान्ड समूह ‘डी’को ‘ड्राइभिङ सिट’मा बस्न चाहन्छ । अर्थात् स्कटल्यान्डविरुद्ध स्पष्ट तीन अंक बटुली चेक रिपलिब्कनसँग दबाबरहित प्रतिस्पर्धा गर्नु इंग्ल्यान्डको अहिलेको प्राथमिकता हुनेछ । पछिल्लो समय इंग्ल्यान्डका खेलाडी उच्च फर्ममा छन् । इंग्ल्यान्डले पछिल्लो सात खेलमा हारको सामना गरेको छैन । प्रशिक्षक साउथगेट पनि युरोकपमा इंग्ल्यान्डलाई राम्रो नतिजा दिलाउन प्रयासरत छन् । फेरि इंग्ल्यान्ड सन् १९९६ पछिका संस्करणमा क्वार्टरफाइनलभन्दा माथि उठ्न सकेको छैन । यसकारण पनि प्रशिक्षक साउथगेटसमक्ष राम्रो नतिजा निकाल्न दबाब छ । 

पछिल्लो पाँच वर्षमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच चार खेल भएका छन् । अन्तिमपटक सन् २०१८ को विश्वकप छनोटअन्तर्गत उनीहरूको भिडन्त भएको थियो । 

इंग्ल्यान्डलाई हराउनु स्कटल्यान्डको एक मात्रै विकल्प
इंग्ल्यान्डजति नै स्कटल्यान्डले पनि शुक्रबारको खेलमा दबाब सामना गर्नेछ । हारले सीधै प्रतियोगिताबाट बाहिर र बराबरीले गणितीय आधारमा मात्र प्रतियोगितामा रहने भएकाले स्कटल्यान्डसमक्ष इंग्ल्यान्डलाई हराउनुको विकल्प छैन । 

चेक रिपलिब्कनसँगको प्रतिस्पर्धामा स्कटल्यान्डको डिफेन्स रणनीति कमजोर देखिएको थियो । बायर्न लेभरकुसेनका प्याट्रिक स्चिकले मध्यभागबाट बल प्रहार गर्दा स्कटल्यान्डका गोलरक्षकले बचाउन सकेनन् । इंग्ल्यान्डजस्तो फर्ममा रहेको टोलीविरुद्ध हल्का गल्ती गर्दा पनि स्कटल्यान्डले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । स्कटल्यान्ड सन् १९९६ पछि पहिलोपटक युरोकपमा छनोट भएको हो । सन् १९९८ मा अन्तिमपटक विश्वकप खेलेको स्कटल्यान्ड छिमेकी प्रतिद्वन्द्वीविरुद्ध आक्रामक रणनीतिमा उत्रने अनुमान छ । 

चेक रिपब्लिकनविरुद्ध दबाबमा क्रोएसिया
सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० मा सोचेजस्तो सुरुवात गर्न सकेको छैन । समूहको पहिलो खेलमै क्रोएसिया इंग्ल्यान्डसँग १–० ले पराजित भएको छ । समूह ‘डी’मा रहेको क्रोएसिया खेलमा फर्कन चाहन्छ । शुक्रबार हाम्पडेन पार्कमा क्रोएसियाले चेक रिपब्लिकनको सामना गर्नेछ । यस खेलमा चेक रिपब्लिकनभन्दा क्रोएसिया निकै दबाबमा रहने सम्भावना छ । 

पहिलो खेल गुमाएको क्रोएसिया अर्को खेल पनि हार्न चाहँदैन । चेकसँग पराजित भए क्रोएसियाको युरोकपको यात्रा लगभग समाप्त हुनेछ । यता जोरोस्लाभ सिहाभ्यीको प्रशिक्षणमा रहेको चेक रिपब्लिकनले पहिलो खेलमा स्कटल्यान्डमाथिको २–० को प्रभावशाली जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको छ । चेक रिपब्लिकन पनि इंग्ल्यान्डसँगको प्रतिस्पर्धा गर्नुअघि नै आफू सुरक्षित स्थानमा रहन चाहन्छ । 

तीन वर्षअघि प्रशिक्षक ज्लाटको डालिसको प्रशिक्षणमा क्रोएसियाले रसियामा चमत्कारी खेल प्रदर्शन गरेको थियो । चालू युरोकपमा त्यही विश्वकपको झल्को देखाउन क्रोएसियाले चेक रिपब्लिकनविरुद्ध आफूलाई उत्कृष्ट देखाउनुपर्छ । तर, पछिल्लो १० खेलको तथ्यांक क्रोएसियाको पक्षमा छैन । क्रोएसियाले यस अवधिमा केवल दुई खेल मात्रै जितेको छ । 

स्कटल्यान्डविरुद्धको प्रतिस्पर्धामा चेक रिपब्लिकनका स्ट्राइकर, मिडफिल्डर तथा डिफेन्डरले उत्कृष्ट प्रदर्शन गरेका थिए । विशेषतः चेक पब्लिकनको मिडफिल्ड र फिनिसिङ पक्ष बलियो छ । सन् २०१६ को युरोकपमा यी दुई देशबीच २–२ को बराबरी भएको थियो । 

स्विडेनविरुद्ध स्लोभाकिया
स्विडेन र स्लोभाकियाले समूह ‘ई’को पहिलो खेलमा सकारात्मक नतिजा निकाले । दुवै टोलीले अंक बटुलेर युरोकप २०२० सुरुवात गर्न सफल भएका छन् । स्विडेनले सर्वाधिक युरोकप विजेता स्पेनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । स्विडेनले स्पेनलाई गोलरहित बराबरीमा रोक्दै अंक खोस्न सफल भयो । स्लोभाकियाले पोल्यान्डलाई स्तब्ध पार्दै महत्वपूर्ण तीन अंक हात पार्याे । 

रसियाको सेन्ट पिटरबर्गमा शुक्रबार समूह ‘ई’को खेलमा स्लोभाकियाले स्विडेनविरुद्ध आक्रामक खेल रणनीति अपनाउने अनुमान छ । ३९ वर्षीय प्रमुख स्ट्राइकर जात्लान इब्राहिमोभिकको अभाव स्विडेनले यतिवेला महसुस गरेको छ । राम्रो बल पोसेसन तथा आक्रमण गरे पनि स्विडेन फिनिसिङमा कमजोर देखिएको छ । स्पेनविरुद्ध काउन्टर एट्याक्ट रणनीति अपनाएको स्विडेनको फिनिसिङ कमजोर देखिएको थियो । 

स्विडेन सन् २००४ पछि नकआउट चरणमा पुग्न सकेको छैन । स्पेनसँगको बल पोजिसन निकै पछाडि रहेको स्विडेनले नकआउट चरणको लक्ष्य राख्दा राम्रो फिनिसिङ बनाउनुपर्छ । स्लोभाकियाको डिफेन्स लाइन तोड्न स्विडेनका खेलाडीले मिहिनेत गर्नुपर्छ । यसविपरीत स्लोभाकिया भने बलियो छ । स्लोभाकिया भने स्विडेनसँग तीन अंक खोस्दै अन्तिम १६ को यात्रा बलियो बनाउने सुरमा छ । बराबरी नतिजाले पनि स्लोभाकिया बलियो स्थानमै रहनेछ । 
–एजेन्सीको सहयोगमा

सुझावित समाचार