कांग्रेसका क्रियाशील सदस्यमाथि उजुरी, छानबिन समितिको दाबी– हाम्रा कारण महाधिवेशन रोकिँदैन

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कारण १४औँ महाधिवेशन नरोकिने दाबी गरेको छ । समितिका संयोजक रमेश लेखकले पत्रकारसँग बिहीबार कुरा गर्दै शुक्रबारदेखि नै क्रियाशील सदस्यमाथिका उजुरी हेर्ने र छिट्टै काम सक्ने बताए । 

उनले भने, ‘हामी निरन्तर काम गरिरहेका छौँ । म दावीका साथ भन्छु, हाम्रा कारणले महाधिवेशन रोकिँदैन ।’

केन्द्रीय कार्यसमितिले तोकेकै समयमा प्रतिवेदन बुझाउने उनले बताए । ‘असार ६ गतेसम्म उजुरी गर्न पाउने सम तोकेका छौँ । अहिले उजुरी पर्ने क्रम जारी छ । हामी भोलिबाटै उजुरी केलाएर हेर्ने र निष्कर्षमा पुग्ने काम थाल्नेछौँ,’ लेखकले भने । 

उनले हालसम्म करिब आठ लाख सदस्यता प्रस्तावित भएको जानकारी दिए । उनका अनुसार जसमध्ये आधा नयाँ छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस कार्यसमिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्नेछ । 

सुझावित समाचार