बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित : असन्तुष्टका बीच एमाले नेपाल पक्षको समर्थन

शनिबार, २९ जेठ, २०७८
डिजिटल संस्करण

छलफलका क्रममा असन्तुष्टि जनाए पनि सत्तारुढ नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले समर्थन गरेपछि बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बागमती प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ पेस गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि एमालेका सबै ५६ सांसदले समर्थन जनाएपछि बहुमतले पारित भएको हो । 

शुक्रबारको प्रदेश सभा बैठकमा नीति, कार्यक्रममाथिको छलफलमा नेपाल पक्षका अधिकांश सांसदले असन्तुष्ट व्यक्त गरेका थिए । असन्तुष्टका बीच शनिबार बिहान एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरूलाई निर्देशन दिएपछि नेपाल पक्षका सांसदहरूले पनि समर्थन जनाएका थिए ।
    
एक सय १० सांसदमध्ये एमालेका ५६ छन् । तीमध्ये नेपाल पक्षका २१ जना नीति, कार्यक्रमको विपक्षमा उभिँदा पारित हुने सम्भावना थिएन । मुख्यमन्त्री पौडेल र नेतृ शाक्यबीचको छलफलपछि नीति, कार्यक्रमको संयुक्त समर्थन गर्ने निर्णयका कारण नेपाल पक्षका सबै सांसद एउटै कित्तामा उभिएका हुन् । एमाले विवाद निरुपणको अवस्थामै रहेकोले सरकारलाई साथ दिएको नेपाल पक्षका सांसदको भनाइ छ । 

नीति तथा कार्यक्रम पास नहुने संकेत पाएका मुख्यमन्त्री पौडेलले नेपाल पक्षका १४ सांसदको कारबाही पनि रोकेका थिए । प्रमुख प्रतपिक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी नीति तथा कार्यक्रमको विपक्षमा उभिएका थिए । राप्रपाका दुई सांसद भने तटस्थ बसेका थिए ।

सरकारले सबैको कदर गरेको छ– मुख्यमन्त्री, डोरमणि पौडेल
बागमती सरकारले सबैको धारणा, योजना र सुझाबको कदर गर्दै नीति तथा कार्यक्रम ल्याएको छ । यसरी नै प्राथमिकताको आधारमा सरकारले बजेट ल्याउँछ । नीति तथा कार्यक्रममा कोभिडलाई प्राथमिकताको दिनु स्वाभाविक छ । किनकि यो सबैको सुझाब हो, हामीले कदर गरेका हौँ । त्यति मात्र होइन, अब नागरिकलाई बचाउन खोपको आवश्यकता छ, त्यसकारण हामीले कोभिडलाई प्राथमिकता दिनैपर्छ । सरकारले समाजवाद उन्मुख बजेट ल्याउनेछ । किनकि यसबाट हरेक नागरिकले राज्यको अनुभूति गर्न पाउनेछन् । काम गर्नकै लागि नीति, कार्यक्रममा सबै विषय समेटिएको हो । पाना धेरै बनाउन मात्रै शब्द भरिएको होइन ।
 

सुझावित समाचार