१४औँ महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र १४औँ महाधिवेशनको तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । 

शनिबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले यसअघि तोकेको कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन एक सातापछि सुरु हुँदै छ । आगामी ७ भदौदेखि तीन दिनसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

संविधानको व्यवस्थाबमोजिम विधान परिवर्तन गरेर महाधिवेशनको मिति तोकिएकाले महाधिवेशन भदौभन्दा पछिलाई सार्न मिल्ने अवस्था छैन । देउवाले पार्टीभित्रैबाट दबाब भएपछि भदौमै महाधिवेशन हुने प्रतिबद्धता जनाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबार आफ्नो पक्षको भेला गरेर तत्कालै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको थियो । तर, देउवाले केन्द्रीय समितिको सट्टा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । 

‘महाधिवेशन गर्नेपर्छ भन्नेमा अब दुई मत रहेन, त्यसैले शनिबारको बैठकबाट एउटा सहमतिको बिन्दुमा पुगेपछि तयारीलाई गति दिनुपर्ने हुन्छ,’ एक नेताले भने, ‘बैठकले साझा धारणा बनाउँछ ।’

See More On

सुझावित समाचार