गणेश लामाको रिहाइको माग राख्दै काभ्रेमा प्रदर्शन

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस काभ्रेका नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामाको रिहाइको माग गर्दै काभ्रेको बनेपामा प्रदर्शन भएको छ ।  कांग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघ तथा तरुण दलले विरोध प्रदर्शन गरेका हुन् ।

लामालाई पोखराबाट प्रतिशोधपूर्वक पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेको कांग्रेस काभ्रेका नेता तथा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले बताए । नेपाली कांग्रेस काभ्रेका युवा नेतालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । उहाँलाई तुरुन्त निसर्त ससम्मान रिहाइ गर्नुपर्छ ’ पूर्वराज्यमन्त्री वादेले भने, ‘सरकारले यस्तो हर्कत गर्दै जाने र लामालाई रिहाइ नगरे हामी कोभिड–१९ को प्रवाह नगरी  कडा प्रतिवादमा सडकमा उत्रनेछौँ ।’

नेता लामालाई अविलम्ब रिहा गर्नुपर्ने नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादेले बताए । अविलम्ब रिहाइ नभएमा आफूहरू कडा विरोधमा उत्रने उनको भनाइ छ । बनेपाको दोबाटो, चारदोबाटोमा कांग्रेस कार्यकर्ताहरू प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए । इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
 

सुझावित समाचार