चिकित्सक भन्छन्– दैनिक संक्रमण दर ओरालो लागे पनि सघन उपचार कक्षमा उपचाररत बिरामीको संख्या सन्तोषजनक रूपमा घट्न सकेन
पछिल्लो केही समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको छ । जसकारण अस्पतालका आकस्मिक कक्षमा कोभिड बिरामीको चाप कम हुँदै थएको छ । तर, मृत्युदरमा भने उल्लेख्य कमी आउन सकेको छैन । कोभिडबाट हालसम्म ८२ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
डा. भगवान कोइराला अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
देशभर सघन उपचार कक्षमा गएका कोरोना संक्रमित बिरामी बचाउन निकै धेरै गाह्रो भएको बुझिएको छ । तर, यकिन तथ्यांक कसैले पनि दिएका छैनन् । यो निकै अप्ठ्यारो विषय पनि हो । चिकित्सकहरूले बिरामी बचाउन हरप्रयास गरिरहेका छन् । बाहिर तथ्यांक सार्वजनिक गर्दा आलोचना हुने डर हुन्छ । त्यसैले सकारात्मक रिपोर्ट नभएकाले कसैले पनि बाहिर ल्याउन चाहेका छैनन् ।
कोभिडका कारण अझै मुलुकभर १६ सय ४३ जना मृत्युसँग जुधिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मुलुकभर १२ सय ६१ जना आइसियू र तीन सय ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । दैनिक संक्रमण दर घटिरहे पनि सघन उपचार कक्ष आइसियूमा भएका बिरामी संख्या सन्तोषजनक रूपमा घट्न सकेको छैन । अस्पतालहरूको तथ्यांकअनुसार सघन उपचार कक्ष आइसियू/भेन्टिलेटरमा पुगेका संक्रमितहरू निको भएर घर फर्केको तथ्यांक खासै त्यति धेरै छैन । उनीहरूको मृत्युले मात्रै आइसियू र भेन्टिलेटरमा रहेको संख्या घट्ने गरेको चिकित्सक बताउँछन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालको तथ्यांकले पनि आइसियू÷भेन्टिलेटरमा पुगेका संक्रमितहरू निको भएर घर फर्केको तथ्यांक खासै देखाउँदैन । केही अपवाद केसबाहेक अन्य संक्रमित आइसियू र भेन्टिलेटरमा पुगेर फर्केको घटना जानकारीमा खासै नभएको चिकित्सकहरू बताउँछन् ।
सघन उपचार कक्षमा पुगेका बिरामी निको भएर फर्केको रेकर्ड राम्रो नभएपछि सरकार र कुनै पनि अस्पतालले उक्त तथ्यांक बाहिर सार्वजनिक गरेका छैनन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला भन्छन्, ‘देशभर सघन उपचार कक्षमा गएका कोरोना संक्रमितहरू बचाउन निकै धेरै गाह्रो भएको बुझिएको छ । तर, यकिन तथ्यांक कसैले पनि दिएका छैनन्, यो निकै अप्ठ्यारो विषय पनि हो । चिकित्सकहरूले बिरामी बचाउन हरप्रयास गरिरहेका छन् । बाहिर तथ्यांक सार्वजनिक गर्दा आलोचना हुन्छ । त्यसैले सकारात्मक रिपोर्ट नभएकाले कसैले पनि बाहिर ल्याउन चाहेका छैनन् ।’
सघन उपचार कक्षमा गएकामध्ये धेरैको मृत्यु हुने र कम मात्रै निको भएर घर फर्कने सिलसिला नेपालमा मात्रै होइन, विदेशमा पनि छ । तर, विदेशमा भने सबै तथ्यांक सार्वजनिक गरिन्छ । तर, नेपालमा त्यसलाई बाहिर ल्याइएको छैन । कोइराला भन्छन्, ‘कुन अवस्थाका बिरामी कति निधन भएका छन् भनेर स्वास्थ्य मन्त्रालयले तथ्यांक राख्नुपर्ने थियो । कोभिडको सबै तथ्यांक संकलन गरिए पनि यसलाई ध्यान दिइएको छैन ।’
नेपालमा क्रिटिकल केयर विज्ञको अभाव
कोभिड उपचारमा संलग्न चिकित्सकहरूका अनुसार क्रिटिकल केयर जनशक्तिको विषयमा नेपालमा नियम नै बनाइएको छैन । ‘नेपालमा क्रिटिकल केयरको विज्ञता विभागसमेत छैन । एनेस्थेसियाले आफैँ जान्ने भएर बिरामी हेरेको भरमा देश चलेको हो । धेरै बिरामीहरूको ज्यान सही उपचार नपाएर पनि गएको छ । देशभर क्रिटिकल केयरका जनशक्ति पुर्याउन सक्ने अवस्था छैन । तर, सरकारले केन्द्रीय अस्पताल, शिक्षण अस्पतालहरूमा सघन उपचार कक्ष विशेषज्ञ भने राख्नुपर्छ,’ डा.कोइरालाले भने ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट एघारौँ तहमा कार्यरत चिकित्सक सातजना छन् । सुपर स्पेसलिस्टमध्ये वीर अस्पतालमा तीन, प्रसूतिगृहमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा एकजना छन् । त्यस्तै, स्पेसलिस्ट २२ जनामध्ये वीर अस्पतालमा पाँच, राष्ट्रिय ट्रमा सेन्टरमा तीन, कान्ति बाल अस्पतालमा दुई र परोपकार प्रसूतिगृहमा दुई तथा भक्तपुर अस्पतालमा एकजना छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, जनकपुर उपक्षेत्रीय अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, लुम्बिनी अञ्चल अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एकजना छन् । जम्मा २९ जना मात्रै जनशक्ति आइसियू भेन्टिलेटर सञ्चालन गर्न सक्षम छन् ।
आइसियू भेन्टिलेटर सञ्चालन गर्न सक्ने सक्षम जनशक्ति देशमा एक सयको संख्यामा पनि छैन । आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्वअध्यक्ष प्रा.डा. सुवास आचार्य भन्छन्, ‘हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण गरेर दिएको प्रतिवेदन पनि सरकारले दराजमा थन्क्याएको छ । कोभिड महामारीका वेला सरकारले पर्याप्त आइसियू भेन्टिलेटर व्यवस्था गरेको छैन भनेर आलोचना भइरहेको छ । तर, भएका भेन्टिलेटर चलाउन पनि जनशक्ति अभाव छ,’ उनले भने । यसकारणले पनि धेरै नागरिकको ज्यान गइरहेको चिकित्सकहरू बताउँछन् ।
आइसियू सञ्चालनका लागि क्रिटिकल केयर ‘सुपर स्पेसलिस्ट’ नेतृत्वमा टिम चाहिन्छ । तर, अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालमा ‘क्रिटिकल केयर’को दरबन्दी नै सिर्जना गरिएको छैन । एनेस्थेसियाका चिकित्सकले यो सेवा दिँदै आएका छन् । क्रिटिकल केयर स्पेसलिस्ट तथा नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका पूर्वअध्यक्ष प्रा.डा.आचार्यका अनुसार एक क्रिटिकल केयर सुपर स्पेसलिस्टले आठदेखि १० बेडको नेतृत्व गर्न सक्छ । अहिले देशभर सरकारी सेवामा एनेस्थेसियोलोजिस्टमा ८० जनाको मात्र दरबन्दी छ । तर, त्यसमा जम्मा सातजनाले क्रिटिकल केयरको नेतृत्व गरेका छन् । उनीहरूको नेतृत्वमा २२ जनाले काम गरिरहेका छन् ।

