उपचार अभावमा तीन वर्षदेखि छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालले उद्धार गरी उपचार सुरु गरेको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको बिहीबार उद्धार गरेकी हुन् ।
तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका अविभावकले छोरीलाई नेपालमै ल्याएका थिए ।
काठमाडाैँमा ल्याएर ट्रमा सेन्टरमा राखेर तीन महिनासम्म उपचार गरेका थिए । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका थेरापी सेन्टरहरूमा घिमिरेको लगातार थेरापी गरिएको थियो । थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यहीबीचमा कोरोना महामारी फैलिएपछि उनी घरमै उपचारविहीन आवस्थामा थिइन् ।
‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचारसमेत हुन सकेन ।’ नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले भने, ‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धारको व्यवस्था मिलाउनुभएको हो ।’ दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेकी कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् ।