निषेधाज्ञामा बढ्यो साइबर अपराध

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

डेढ महिनामा एक सय ४५ मुद्दा दर्ता, फिरौती रकम मागदेखि चरित्र हत्यासम्मका घटना धेरै

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा झन्डै डेढ महिनादेखि निषेधाज्ञा जारी छ । जसकारण मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर त्यति निस्केका छैनन् । दिनभर घरमै बस्नुपर्ने भएकाले प्रायः मानिस इन्टरनेट चलाइरहेका हुन्छन् । बुढानीलकण्ठकी एक १८ वर्षीया किशोरी पनि फेसबुक चलाउँदै थिइन् । एक अपरिचितबाट उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरिन् र रिक्वेस्ट एसेप्ट गरिन् । दुईबीच संवाद सुरु हुन थाल्यो । संवादमा अपरिचितले किशोरीसँग ‘म लक्की रहेछु, तिमीसँग साथी बनेपछि मेरो लक खुल्यो, मैले भर्खर मात्रै लोटरी जितेँ’ भन्थ्यो । किशोरी गफमा यति मक्ख पर्दै गइन् कि अपरिचितले जसो भन्यो त्यसै गर्न तयार भइन् । 

अपरिचितले किशोरीसँग अर्धनग्न फोटो माग्यो । किशोरीले विनाहिच्किचाहट फोटो दिइन् । दुईबीच अब टेलिफोनमा पनि घन्टौँ कुराकानी हुन थाल्यो । किशोरीसँग अपरिचितले अब नग्न फोटो र भिडियो माग्न थाल्यो । किशोरी तयार थिइन् । जब घटनाको सुइँको परिवारका सदस्यले पाए, तब किशोरी छाँगाबाट खसेझैँ भइन् । किनकि अपरिचितको उद्देश्य किशोरीको नग्न भिडियो ‘पोर्न साइट’मा अपलोड गर्नु थियो । प्रहरीको अनुसन्धानपछि यो धन्दाको रहस्य खुलेको थियो । 

जुम्लाको खलंगास्थित एक सम्भ्रान्त परिवारका हुन्, १४ वर्षीय सन्तोष रोका (परिवर्तित नाम) । भर्खर–भर्खर सामाजिक सञ्जाल चलाउन सिकेका उनी च्याटमार्फत साथीसँग गफिँदै थिए । यहीवेला एक अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो । उनले सहजै एसेप्ट गरे । दुईबीच कुराकानी हुन थाल्यो । अपरिचितले रोकासँग उनको बुबा चिनेको मात्र नभई घनिष्ट मित्रसमेत रहेको बतायो । बालक रोका अपरिचितसँग अझ नजिकिए ।

एसएसपी नविन्द अर्याल, साइबर ब्युरो

साइबर अपराधअन्तर्गत चरित्र हत्या गर्नेजस्ता घटना पनि बढेका छन् । यसको सिकार विशिष्ट व्यक्ति हुने गरेका छन् । यस्ता घटनासँग सम्बन्धित व्यक्तिलाई धमाधम पक्राउ गरेका छौँ । आवश्यक कानुनी उपचार खोज्ने काम निरन्तर जारी छ ।

दुईबीच कुराकानी चल्दै गयो । यही क्रममा अपरिचितले बालकसँग उनको बुबाको नागरिकता नम्बर माग्यो । उनले सहजै उपलब्ध गराए । बैंक एकाउन्ट पनि माग्यो । त्यो पनि उपलब्ध गराए । मागिएका अन्य कागजात पनि बालकले उपलब्ध गराउँदै गए । एकदिन बालकको बुबाको मोबाइलमा एउटा एसएमएस आयो । एसएमएसमा रकम ‘विथ ड्र’ गरिएको सम्बन्धमा थियोे । उनका बुबा झसंग भए । उनी तुरुन्तै बैंकमा बुझ्न पुगे । थाहा पाए, खाताको रकम सबै झिकिसकिएको छ । उनी प्रहरीकहाँ जाहेरी लेखाउन पुगे । अनुसन्धानपछि खुल्यो, उनको खाता एक अपरिचितले ह्याक गरी भएजति सबै रकम झिकिसकेको रहेछ । अपरिचित तिनै थिए, जो उनैका छोरा सन्तोषसँग सामाजिक सञ्जालमार्फत दैनिक गफिन्थे । 

काठमाडौं नयाँ बानेश्वरकी हुनेखाने परिवारकी हुन् १७ वर्षीया सुस्मिता शर्मा (परिवर्तित नाम) । डेढ महिनादेखि जारी निषेधाज्ञामा उनी पनि सामाजिक सञ्जालमै रमाइरहेकी थिइन् । उनीसँग सधैँ गफिन्थे एक अपरिचित । उनको कुराकानीमा किशोरी मक्ख थिइन् । दुईबीच भिडियो च्याट हुन्थ्यो । यही क्रममा नग्न र अर्धनग्न भिडियो र फोटो पनि दुईबीच आदानप्रदान भयो । युवतीको वालमा एकदिन अर्को अपरिचित नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनीले एसेप्ट गरिन् । म्यासेन्जर बक्समा केही सन्देश देखियो । खोल्दा उनकै अर्धनग्न र नग्न फोटोसहित भिडियो देखियो । किशोरी झस्किइन् । केही क्षणपछि म्यासेन्जरमा अर्को पनि सन्देश देखियो । जहाँ भनिएको थियो– ‘मलाई दश लाख रुपैयाँ चाहिन्छ, नत्र सबै फोटो र भिडियो भाइरल बनाइदिन्छु ।’

नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोको तथ्यांकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको देखिएको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले पीडितलाई पहिलो चरणमा रमाइला–रमाइला कुराकानी गर्ने, फकाउने, अनि शोषण गर्ने र त्यसपछि ह्यारेसमेन्टसँगै ब्ल्याकमेलिङ गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । ‘निषेधाज्ञाको अवधिमा साइबर अपराध २० प्रतिशतले बढेको छ । विशेषगरी किशोरी र किशोरलाई निसाना बनाइएको देखिन्छ । यस्तो अपराधमा सुरुमा फकाउने, त्यसपछि शोषण गर्ने र अन्तिममा ह्यारेसमेन्टसँगै फिरौती माग गर्ने गरेको भेटियो,’ उनले भने ।

ब्युरोका अनुसार निषेधाज्ञाको अवधिमा मात्रै एक सय ४५ साइबर अपराधसम्बन्धी जाहेरी परेका छन् । जब कि सामान्य दिनमा यस्ता अपराधमा एक महिनामा १५ देखि २० को हाराहारीमा मात्रै जाहेरी पर्ने गरेका प्रहरीले जनाएको छ । जाहेरी परेकामध्ये अधिकांशलाई प्रहरीले काउन्सिलिङ गरेर सल्टाउने गरेको छ । त्यसो हुँदा मुद्दा दर्ताको संख्या निकै कम देखिन्छ । आव ०७७–७८ मा ब्युरोबाट ६० वटा मात्रै दर्ता हुनुको कारण यही रहेको प्रहरीको भनाइ छ । एसएसपी आर्यालले भने, ‘अधिकांश केसलाई काउन्सिलिङ गरेर सल्टाएका छौँ । मुद्दा दर्ता गर्नुभन्दा पनि पीडितले राहत पाउनु ठूलो विषय हो । हामीले त्यही विषयलाई केन्द्रमा राखेका छौँ ।’

निसानामा विशिष्ट व्यक्ति
ब्युरोका अनुसार ब्ल्याकमेलिङपछि चरित्र हत्याका घटना पनि धेरै हुने गरेका छन् । विशेष गरी भिभिआइपी (विशिष्ट व्यक्ति) यसका सिकार हुने गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालमा भिभिआइपीको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना धेरै हुने गरेको प्रहरीको भनाइ छ । ‘चरित्र हत्या गर्नेजस्ता घटना पनि बढेका छन् । यसको सिकार विशिष्ट व्यक्ति हुने गरेका छन् । यस्ता घटनासँग सम्बन्धित व्यक्तिलाई हामीले पक्राउ गरेका छौँ । आवश्यक कानुनी उपचार खोज्ने काम निरन्तर जारी छ,’ एसएसपी अर्यालले भने ।

सुझावित समाचार