छुट मूल्यमा खाद्यान्न खरिद गर्न उपभोक्ताको भिड

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण
छुट मूल्यमा खाद्यान्न खरिद गर्न उपभोक्ताको भिड

साल्ट ट्रेडिङ, कालिमाटीमा छुट मूल्यमा खाद्य सामग्री किन्न लाइन बसेका उपभोक्ताहरू । तस्बिर : संजत परियार

निषेधाज्ञाको समयमा उपभोक्तालाई राहत दिन निश्चित खाद्यान्न खरिदमा २० प्रतिशत छुट पाउन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । २१ जेठदेखि साल्ट ट्रेडिङले भक्तपुरको सूर्यविनायक, जडीबुटी, जावलाखेल, कालिमाटी र सतुंगलमा बिक्री केन्द्रबाट २० प्रतिशत छुटसहित उपभोग्य सामान बिक्री गर्दै आएको छ ।

कम्पनीले पिठो ४४ रुपैयाँ, चिनी ६३.२० रुपैयाँ, नुन १६ रुपैयाँ, भटमासको तेल १ सय ८८ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार १ सय २० रुपैयाँमा उपभोक्तालाई बिक्री गरिरहेको छ । त्यस्तै, खाद्य कम्पनीले रामशाहपथ, थापाथली, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकबाट चामल र कर्णालीको सिमी बिक्री गरिरहेको छ ।

साल्ट ट्रेडिङको प्रधान कार्यालय रहेको कालिमाटी र सतुंगलस्थित शाखा कार्यालयको बिक्री केन्द्रमा उपभोक्ताको भिड अत्यधिक देखिएको छ । पछिल्लो तीन दिनमा भिड बढेपछि नियन्त्रण गर्न प्रहरीलाई समेत गाह्रो भइरहेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

‘प्रहरीले माइकिङ गरेर भिड नगरी सामान खरिद गर्नुस् भन्दा पनि उपभोक्ताले ध्यान दिएका छैनन्,’ उनले भने, ‘कार्यालयमा धेरै भिड बढ्ने गरेको छ ।’ कम्पनीको बिक्री केन्द्रमा दिनहुँ भिड बढ्न थालेपछि स्थानीयले त्यहाँबाट बिक्री केन्द्र नहटाए कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै प्रहरीलाई उजुरीसमेत गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा कार्यरत कर्मचारी  बिक्री भएको सामानको हिसाब गर्दै ।

त्यसपछि प्रहरीसँगको समन्वयमा साल्ट ट्रेडिङले मंगलबारबाट बिहान ७ देखि ९ बजेसम्म मात्रै बिक्री केन्द्र खोलेर सेवा दिने भएको छ । ‘अब बिहान मात्रै बिक्री केन्द्र खोलेर सामान दिने निर्णय गरेका छौँ,’ उनले भने, ‘बिहान ९ बजेसम्म बिक्री केन्द्र आइसकेकाले भित्र राखेर सामान दिने व्यवस्था मिलाउँछौँ ।’

छुटसहितको मूल्यमा खाद्यान्न दिन थालेपछि तीन गुणा बिक्री बढेको राजभण्डारीले बताए । ‘निषेधाज्ञा सुरु भएयता उपत्यकाको बिक्री केन्द्रबाट दैनिक करिब १ लाख रुपैयाँको खाद्यान्न बिक्री हुने गरेको थियो,’ उनले भने, ‘अहिले दुई दिनमा ८ लाख ४७ हजार रुपैयाँको बिक्री भएको छ ।’ बिक्री करिब चार गुणाले बढ्दा भिडसमेत अनियन्त्रित हुँदै गएको उनले बताए ।

साल्ट ट्रेडिङले सबै बिक्री केन्द्रका कर्मचारीलाई मास्क, पन्जा, स्यानिटाइजर, पिपिई सेट दिएर सुरक्षा सावधानी अपनाएको तथा उपभोक्तालाई बिक्री केन्द्र प्रवेश गरेपछि साबुनपानीले हात धुने व्यवस्था मिलाएको उनले बताए । हाल छुट उपलब्ध गराइएको खाद्यान्न मात्रै खरिद गर्ने उपभोक्ता आउने गरेको उनको भनाइ छ ।

त्यस्तै, खाद्य कम्पनीमा पनि भिड धेरै हुने गरेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । ‘हामीले २१ जेठबाटै ७ देखि ९ बजेसम्म छुट मूल्यमा खाद्यान्न बिक्री गरिरहेका छौँ,’ उनले भनिन्, ‘बिहान ९ बजेपछि गेट बन्द गर्ने र त्यतिवेलासम्म आएकालाई कार्यालयभित्र लाइन लगाएर खाद्यान्न बिक्री गर्दा १२ बज्ने गरेको छ । त्यसैले भिड त धेरै नै बढ्ने गरेको छ ।’

चामलमा २० प्रतिशत छुट दिँदा प्रतिबोरा करिब ३ सय सस्तो पर्छ । कम्पनीले अरुवा मोटा, अरुवा मकवानपुर, अरुवा सोना मसिनो, स्टिम सोना मसिनो, अरुवा मध्यम, स्टिम रञ्जित, स्टिम जिरा मसिनो चामलमा छुट दिएको छ । यसमध्ये जिरा मसिनो चामलको बिक्री बढी छ ।

कम्पनीले बासमती र जुम्लाको मार्सी चामल बिक्री गर्ने भएपछि यसमा छुट भने उपलब्ध गराएको छैन । ‘यसवेला सीमित कर्मचारीबाट सेवा दिइरहेका छौँ । अर्कातिर २० प्रतिशत छुट कार्यान्वयनमा आएपछि उपभोक्ताको भिड बढेको छ,’ सुवेदीले भनिन्, ‘यद्यपि, हामीले कर्मचारीलाई उचित सुरक्षा सावधानी अपनाउन लगाएर सेवा दिइरहेका छौँ ।’ कम्पनीले छुट मूल्यमा एक बोरा चामल र २ किलो कर्णालीको सिमी दिइरहेको छ । खाद्यले तीन दिनमा १ सय ३७ क्विन्टल चामल बिक्री गरेको छ । 

सुझावित समाचार