सुर्खेतमा राउटे युवतीमाथि यौन हिंसा

राउटे बस्तीमा बाहिरी मानिस जान रोक

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

होटेल सञ्चालकसहित तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता, मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ

लोपोन्मुख राउटे समुदायकी युवतीमाथि यौनहिंसा गरेको आरोपमा तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएको छ । मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए । घटनाबारे अनुसन्धान थालिएको उनले जानकारी दिए । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का स्थानीय युवा घर्ती, बुढा र होटेल सञ्चालक पुनले १९ र २३ वर्षकी राउटे समुदायका युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । 

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनले शनिबार राति राउटे युवतीमाथि यौन हिंसा गरेका हुन् । पुनले सञ्चालन गरेको बोटेचौरस्थित शुभकामना होटल तथा रेस्टुरेन्टमा मदिरा खुवाएर अश्लील भिडिओ बनाएको प्रहरीले जनाएको छ । सो भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको थियो ।

भिडियोमा एकजना पुरुष अर्धनग्न अवस्थामा राउटे युवतीसँगै ओछ्यानमा पल्टिएका छन् । ती पुरूषले एउटी युवतीलाई बहिनी र अर्कीलाई श्रीमती सम्बोधन गर्छन् । श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छोएका छन् । ती पुरुषले युवतीलाई बारम्बर गीत गाउन अनुरोध गरे पनि उनीहरूले आनाकानी गरेका छन् । नसामा रहेकी एक युवतीले ‘डिस्टर्ब भयो के दाइ जानु’ भनेकी छन् ।

राउटे बस्तीमा बाहिरी मानिस जान रोक
गुर्भाकोट नगरपालिका–११ स्थित राउटे समुदाय बसोवास गरिरहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेर बाहिरी मानिसलाई जान रोक लगाइएको छ । दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे बस्तीमा सुरक्षा कडा बनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले बाहिरका व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाएको र राउटे युवतीमाथि यौन दुर्व्यवहारभएको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरका मानिसहरूलाई राउटे बस्तीमा प्रवेश गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए ।

‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायमा पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरूलाई बस्तीमा जान रोक लगाएका हौँ,’ उनले भने, ‘राउटे बस्तीमा बाहिरका कसैलाई प्रवेश गर्न नदिन २२ जना प्रहरी परिचालन गरिएको छ ।’

दुई युवतीमाथि यौन हिंसा भएको समाचार सार्वजनिक भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे मुखियालाई छलफलका लागि बोलाएका छन् । राउटे समुदायलाई आवश्यक सहयोग गर्न र पीडित युवतीको स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने वातावरण बनाइदिन मुख्यमन्त्री शाहीले राउटे मुखियालाई बोलाएका हुन् । 

See More On

सुझावित समाचार