नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अमृत बोहोराले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता आचार्यले प्रथम पुस्ताका नेताहरूले पार्टीको सम्मानित अभिभावकत्व ग्रहण गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
उनले यतिवेला नेकपा (एमाले) पार्टी एकता गम्भीर संकटमा परेको भन्दै देशकै प्रमुख पार्टीभित्रको विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरू संकटमा परेको बताएका छन् । राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था सिर्जना भएकाले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि पनि प्रथम पुस्ताका नेताहरूले विश्राम लिनुपर्नेमा जोड दिए ।
उनले ०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबैखाले गुटगत निर्णयहरू खारेज गरी महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरू तथा आफ्नो अधिवेशन प्रक्रियाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने बताए ।
नेताहरूले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकताबद्ध बनाउँदै परिवर्तन कारी शक्तिको रूपमा अगाडि बढाउन ओली, नेपाल, खनाल, गौतम र बोहोरालाई आग्रह गरे । पार्टीलाई सामूहिक नेतृत्व, नीतिको मार्गदर्शन र विधिको व्यवस्थाअनुरूप सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।