कोरोना र नेतृत्वको सत्ता चासोले कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा

वडा तहको अधिवेशन आउन दुई साता बाँकी छ, तर मतदाताको टुंगो छैन

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखियो : रामचन्द्र पौडेल, वरिष्ठ नेता

पार्टीमा जनमत अहिलेको नेतृत्वको विपक्षमा छ । अहिले चुनाव हुने हो भने मैले ठूलो परिवर्तन आउने देखेको छु । त्यसैको असर महाधिवेशनमा परेको छ । परिवर्तनको लहरलाई कसरी रोक्ने भनेर सारा कोसिस भइरहेको छ । आफैँले जित्ने भए मात्रै अधिवेशन गर्ने, नभए नगर्ने भन्ने मानसिकता देखिएको छ । बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखाइएको छ । 

कार्यतालिका सच्याउनुपर्छ, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ : विमलेन्द्र निधि, उपसभापति

६७४३ वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरेर जिल्ला हुँदै केन्द्रमा संकलन हुने प्रक्रियामा छ । अब सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ । तर, केन्द्रीय महाधिवेशनको मिति फेरबदल नहुने गरी अरू कार्यतालिका सच्याउनुपर्छ । संक्रमण र निषेधाज्ञाका कारण छलफलले गति पाएको छैन । तर, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ । 

महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ : कृष्णप्रसाद सिटौला

महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ । तैपनि पार्टीको महाधिवेशन कुनै पनि तवरले भदौभित्र गर्नैपर्ने अवस्था छ । अहिले क्रियाशील सदस्यताको विषय ठूलो समस्या हो जस्तो लाग्दैन । त्यो त छानबिन समितिले टुंग्याउँछ भन्ने लाग्छ । अर्को खास अवरोध भनेको चाहिँ अहिलेको महामारी नै हो । त्यसलाई चिरेर जाने मुख्य चुनौती हो ।

महाधिवेशनलाई बेवास्ता गर्ने सुविधा छैन, त्यो क्षम्य हुँदैन : डा. शेखर कोइराला

पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको छ । भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधानिकता रहँदैन । अब कोरोनाको बहाना बनाएर महाधिवेशनलाई रोक्न छुट छैन । बहाना बनाउनुभयो भने महाधिवेशन गर्ने इच्छाशक्ति नभएको पुष्टि हुन्छ । अहिले सत्ताभन्दा महाधिवेशन टड्कारो हो । महाधिवेशन बेवास्ता गर्ने सुविधा छैन, क्षम्य हुँदैन ।

......

कोरोना महामारीसँगै सत्ताको खेलमा अल्झिँदा कांग्रेसको १४औँ महाधिवेशन फेरि अन्योलमा परेको छ । बढ्दो कोरोना संक्रमण र तरल राजनीतिक घटनाक्रमकोे प्रभाव कांग्रेसको महाधिवेशन तयारीमा देखिएको छ । 

नियमित कार्यकाल सकिएर थप गरेको डेढ वर्षको समयावधिसमेत गुज्रिन थालेपछि फेरि पनि महाधिवेशन हुँदैन कि भन्ने प्रश्न कांग्रेसभित्र उठ्न थालेको छ । शीर्ष नेता पूर्ववत् तालिकाअनुसार नै सैद्धान्तिक रूपमा भदौभित्रै महाधिवेशन गर्न सहमत देखिन्छन् । तर, सुस्त तयारी र महामारी संकटले महाधिवेशन अनिश्चित बनाइराखेको छ । 

कांग्रेसभित्र महाधिवेशनलाई लिएर नेताहरूबीच आरोप–प्रत्यारोप र आंशका छन् । संस्थापन पक्षले कोरोनाका कारण पूर्वतयारीका लागि अनुकूल वातावरण नबनेको बताएको छ । संस्थापनइतर पक्षका नेताहरूले पार्टी नेतृत्वले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् । 

पूर्वनिर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार वडा तहको अधिवेशनका लागि अब दुई साताको मात्रै समय बाँकी छ । तर, अहिलेसम्म वडाको अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यताको विवरण नै संकलन भइसकेको छैन । त्यसमाथि उजुरी र छानबिनको प्रक्रिया बाँकी छ । जब कि १३औँ महाधिवेशनमा क्रियाशील सदस्यता छानबिनका लागि मात्रै ६ महिना लागेको थियो ।

सभापति शेरबहादुर देउवाले आफूले समयमै महाधिवेशन गर्न चाहे पनि महामारी र संगठनभित्रको विवादका कारण पूर्वतयारीका काम प्रभावित भएको बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महाधिवेशन टार्नका लागि सभापति र उपसभापतिले आफ्नो प्रभाव भएका ठाउँमा जबर्जस्ती विवाद झिक्ने र क्रियाशील सदस्यतादेखि नै कब्जा गर्ने नियत राखेको आरोप लगाएका छन् । पौडेलले बुधबार मात्रै संस्थापनइतरको भेला राखेर भदौमै पार्टीको चुनाव गर्ने गरी प्रक्रिया अघि बढाउन र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । 

सभापति देउवाले भदौमै महाधिवेशन गर्नुको अर्को विकल्प नभएको सार्वजनिक अभिव्यक्ति दिए पनि आफैँले पुनः सभापति जित्ने अवस्था नभएसम्म महाधिवेशन नगराउने चाहना रहेको पौडेल पक्षको आरोप छ । ५ पुसमा प्रतिनिधिसभा विघटनपछि दुई धारमा विभाजित देउवा र पौडेल २३ फागुनको नेकपाको एकता भंग गर्ने सर्वोच्चको फैसलापछि एकमुख भएका छन् । त्यसयता प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका विषयमा दुवै नेता एक ठाउँमा छन् । तर, जब–जब महाधिवेशनको विषय उठ्छ, त्यसवेला देउवा र पौडेलबीच चर्को आरोप–प्रत्यारोप हुन्छ । 

उपसभापति विमलेन्द्र निधिले कोरोना महामारीका कारण तयारीमा केही ढिलाइ भए पनि भदौमै महाधिवेशन गर्नुपर्ने बताए । ‘६७४३ वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरेर जिल्ला हुँदै केन्द्रमा संकलन हुने प्रक्रियामा छ । अब सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘तर, केन्द्रीय महाधिवेशनको भदौ ७ देखि १० को जुन मिति छ, त्यसमा फेरबदल नहुने गरी अरू कार्यतालिका सच्याउनुपर्छ । मिति फेरबदल नहुने गरी छलफल भइरहेको छ । संक्रमण र निषेधाज्ञाका कारण छलफलले गति पाएको छैन । तर, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ ।’ उनले वडादेखि स्थानीय तह, प्रदेश र संसदीय निर्वाचन क्षेत्र भएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने भएकाले महामारीबीच त्यो प्रक्रिया कसरी पूरा गर्ने भनेर छलफल भइरहेको बताए ।

तर, वरिष्ठ नेता पौडेल भने पार्टीभित्र नेतृत्व परिवर्तनका लहर चलेकाले त्यसको असर महाधिवेशनमा परेको बताउँछन् । पौडेलले संवैधानिक संटकबाट बचाउनका लागि पनि भदौमा पार्टीको चुनाव हुनैपर्ने बताए । ‘पार्टीमा जनमत अहिलेको नेतृत्वको विपक्षमा छ । अहिले चुनाव हुने हो भने ठूलो परिवर्तन आउने देखेको छु । अहिलेको जसरी पार्टी चल्दैन भनेर कार्यकर्ता परिवर्तनको पक्षमा उभिएका छन् । त्यसैको असर महाधिवेशनमा परेको छ,’ पौडेलले भने, ‘परिवर्तनको लहरलाई कसरी रोक्ने भनेर सारा कोसिस भइरहेको छ । आफैँले जित्ने भए मात्रै अधिवेशन गर्ने, नभए नगर्ने भन्ने मानसिकता देखिएको छ । बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखाइएको छ ।’ 

नेता सिटौलाले अहिले महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको बताए । ‘महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ । तैपनि पार्टीको महाधिवेशन कुनै पनि तवरले भदौभित्र गर्नैपर्ने अवस्था छ । अहिले क्रियाशील सदस्यताको विषय ठूलो समस्या हो जस्तो लाग्दैन,’ सिटौलाको भनाइ छ, ‘त्यो त छानबिन समितिले टुंग्याउँछ भन्ने लाग्छ । अर्को खास अवरोध भनेको चाहिँ अहिलेको महामारी नै हो । त्यसलाई कसरी चिरेर जाने भन्ने मुख्य चुनौती हो ।’

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने कोरोनाकै बहानामा महाधिवेशन रोक्न नमिल्ने बताए । ‘पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको छ । भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधानिकता रहँदैन । त्यसैले अब कोरोनाको बहाना बनाएर महाधिवेशन रोक्न छुट छैन,’ डा. कोइरालाले भने, ‘सभापतिले बहाना बनाउनुभयो भने महाधिवेशन गर्ने इच्छाशक्ति नभएको पुष्टि हुन्छ । अहिले सत्ताभन्दा पार्टीको महाधिवेशन सबैभन्दा टड्कारो विषय हो । महाधिवेशनलाई बेवास्ता गर्ने सुविधा छैन, त्यो क्षम्य हुँदैन ।’ उनले महामारी रहिरह्यो भने जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘यस्तो अभ्यास कांग्रेसले ०१४ सालसम्म गरेकै थियो । त्यसैले विगतका अभ्यास र नजिरबाट सिकेर महाधिवेशन गर्नुपर्छ,’ उनले भने । 

महाधिवेशनमाथि छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा समेत कांग्रेसमा विवाद छ । पार्टीभित्र विपक्षीले केन्द्रीय समितिको माग गरे पनि सभापति देउवाले भने सर्वोच्च अदालतमा सरकारबारेको विषय टुंगिएपछि मात्रै महाधिवेशनबारे छलफल गर्ने भन्दै आएका छन् । 

क्रियाशील सदस्यता छानबिन समितिको संयोजकसमेत रहेका नेता रमेश लेखक अहिले सर्वोच्च अदालतको मुद्दामा केन्द्रित छन् । जसका कारण छानबिनले पनि गति लिएको छैन । केन्द्रीय सदस्य कोइरालाले अहिले पार्टीका लागि महाधिवेशन प्राथमिकताको विषय बन्नुपर्ने बताए । 

यसअघि निर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार भएर त्यसमाथिको छानबिनसमेत भइसक्नुपर्ने हो । तर, अहिलेसम्म ७६ जिल्लाबाट करिब आठ लाख क्रियाशीलको विवरण इन्ट्री मात्रै भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसमध्ये छानबिन समितिले ६१ जिल्लाका एक सय एक स्थानको सदस्यताको विवरण सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकमा भने समायोजनको विवादले क्रियाशीलको फारम नै वितरण भएको छैन ।

कांग्रेसले विधानको व्यवस्थाबमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि संवैधानिक व्यवस्थालाई टेकेर ६ महिना म्याद थप गरी ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । यस्तै, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

सुझावित समाचार