उपप्रधानमन्त्री महतोलाई नेपाली जनतासँग माफी माग्न एमाले खनाल–नेपालपक्षका १६ जनसंगठनको आग्रह

शनिबार, २२ जेठ, २०७८
डिजिटल संस्करण

एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका १८ जनसंगठनले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गरेका छन् । १८ जनसंगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘महतोको ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्धमा छ । यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत छ । संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै विडम्बनापूर्ण छ । तसर्थ, संविधानको मूल मर्मविरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौँ ।’

नेपालको संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन’ गर्ने उल्लेखित रहेको जनसंगठनहरूले स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा–३ मा प्रस्ट भनिएको छ– बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

पछिल्ला घटनाक्रम र गतिविधि हेर्दा महतोको अभिव्यक्ति ‘विविधताबीचको एकता, सहिष्णुता र सद्भाव बिथोलेर राष्ट्र विखण्डन गर्ने’ सचेत तर कुत्सित र दूषित मनसायबाट आएको ठहर उनीहरूको छ । 

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छौँ– यस प्रकारका अभिव्यक्ति आइरहँदा के तपाईंलाई आफ्ना पूर्वमान्यता र अडानहरूले आफँैलाई जिस्क्याइरहेको अनुभूति भएको छैन ? यसप्रति हामी खेद प्रकट गर्न चाहन्छौँ ।’ 

जनसंगठनहरूले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाको निम्ति सचेत र जागै रहन सम्पूर्ण नेपाली जनसमुदायसँग अपिलसमेत गरेका छन् ।
 

सुझावित समाचार