डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपणका लागि पालो कुर्दै पर्शुराम

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

दुवै मिर्गौला फेल भएपछि २० पुस ०७६ देखि नियमित डायलाइसिस गरिरहेका गुल्मीका पर्शुराम घर्तीमगर मिर्गौला प्रत्यारोपणका लागि डेढ वर्षदेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पालो कुरिरहेका छन् । उनकी श्रीमती मोनिता मिर्गौला दिन तयार छिन्, प्रत्यारोपणका लागि दुईपटक दुबैजनाको स्वास्थ्य अवस्था परीक्षण गरेर मिति तय भए पनि अहिलेसम्म प्रत्यारोपण हुन सकेको छैन । 

पर्शुरामले पहिलोपटक प्रत्यारोपणका लागि ०७६ माघमा स्वास्थ्य जाँच गराएका थिए । मिर्गौला दाताको स्वास्थ्य अवस्था नियमित अपडेट हुनुपर्ने भएकाले उनकी श्रीमती पनि पुसदेखि नियमित अस्पताल धाइरहेकी थिइन् । मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य परीक्षण गरिएको तीन महिनाभित्र प्रत्यारोपण भइसक्नुपर्छ, तर पर्शुरामले चैतसम्म पालो पाएनन् । उनले प्रत्यारोपणका लागि फेरि सुरुदेखि स्वास्थ्य परीक्षण गर्नुपर्ने भयो । पहिलोपटकको परीक्षण र आवश्यक उपचारमा उनको ८० हजार रुपैयाँ खर्च भइसकेको थियो ।

गत ३० चैतमा उनले पुनः स्वास्थ्य परीक्षण गराए, अस्पतालले वैशाखको अन्तिम सातासम्म मिर्गौला प्रत्यारोपण गर्ने बताएको थियो, तर १६ वैशाखमै निषेधाज्ञा लागू भएपछि प्रत्यारोपण सेवा नै बन्द भयो । उनी भन्छन्, ‘दोस्रोपटकको परीक्षणमा पनि सबै गर्दा ७५ हजार रुपैयाँजति खर्च भएको थियो । यसपालि प्रत्यारोपण हुन्छ भनेर ढुक्क थिएँ, अब परीक्षणको म्याद पनि सकिन लागिसक्यो । प्रत्यारोपणका लागि राखेको पैसा परीक्षणमै सकिन लागिसक्यो, त्यसपछि पनि तीन–चार महिना अस्पतालमा बस्नुपर्छ रे । पैसा जुटाउनै गाह्रो पर्ने भयो ।’ डायलाइसिस निःशुल्क भइरहे पनि समयसमयमा दिनुपर्ने रगत र अन्य औषधिका लागि उनले प्रत्येक महिना २० देखि ३० हजार रुपैयाँ जुटाउनुपर्ने हुन्छ ।  

२७ मिर्गौला रोगी प्रत्यारोपणका लागि पालो कर्दै

भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा २७ जना बिरामी सबै आवश्यक परीक्षण गरेर मिर्गौला प्रत्यारोपणका लागि पालो कुरेर बसेका छन् । दुई सय ५० जनाले नियमित डायलाइसिस गराइरहेका छन् । तर, प्रत्यारोपण गरिएका बिरामीमा संक्रमणको जोखिम उच्च भएको भन्दै संसारभरि नै प्रत्यारोपण सेवा बन्द गरिएको छ । महामारीमा कतिपयले समयमै डायलाइसिससमेत नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था छ । तर, चिकित्सकहरूले भने महामारीमा नियमित डायलाइसिस गराइरहेका बिरामीमा मिर्गौला प्रत्यारोपण गर्दा ‘हत्या’ गरेसरह हुने भन्दै मिति सारिरहेका छन् ।

‘हामीले असोजदेखि चैतसम्म ३० वटा प्रत्यारोपण गर्यौँ । प्रत्यारोपणका लागि तयारी गरिएका बिरामीमा संक्रमणका कारण रोकेका छौँ । अप्रेसन मात्र गरेर हुँदैन, सम्बन्धित परीक्षण गर्नुपर्यो, सबै ल्याबहरूले अहिले टेस्ट गरेका छैनन्, एक्सरे समयमा भइरहेको छैन,’ मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेमराज ज्ञवालीले भने, ‘प्रत्यारोपण गरिएका व्यक्तिमा कोभिडको मृत्युदर २५ प्रतिशत छ, यस्तो जटिलता थाहा हुँदाहुँदै प्रत्यारोपण गर्नु हत्या गर्नुसरह हुन्छ । संक्रमण नियन्त्रण यही दरमा घट्दै गएमा असारदेखि प्रत्यारोपण सुचारु गर्ने सोचेका छौँ ।’

सुझावित समाचार