कोरोना कहर : बाँकेका अस्पतालमा उपचाररत दुुई सय ६० संक्रमितमध्ये एक सय १४ जनाको अवस्था गम्भीर

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

बाँकेका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये एक सय १४ जनाको अवस्था गम्भीर भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले जनाएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल र युनाइटेड अस्पतालमा उपचाररत दुई सय ६० मध्ये एक सय ४६ को अवस्था सामान्य रहेको डिसिएमसीका फोकलपर्सन तेजबहादुर ओलीले जानकारी दिए । 

यहाँका अस्पतालमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका बिरामीको संख्या धेरै भएको ओलीले बताए । उनले उपचाररत कुल संक्रमितमध्ये एक सय तीनजना बाँकेका र एक सय ५७ जना बाहिरी जिल्लाको भएको बताए । ‘संक्रमितको उपचारका लागि व्यवस्था गरिएको कुल तीन सय ६१ बेडमध्ये ८६ वटा बेड खालीछ,’ उनले भने । 

भेरी अस्पतालमा दुई सय बेड छन् । त्यहाँ एक सय ५२ जना बिरामी उपचाररत छन् । तीमध्ये ३८ जना सिकिस्त छन् ।
त्यसैगरी, नेपालगन्ज मेडिकल कलेजमा एक ३० बेड छन् । उक्त अस्पतालमा ९८ जना बिरामी उपचाररत छन् । भर्ना भएका बिरामीमध्ये ७२ जना सिकिस्त भएको ओलीले जानकारी दिए । 

नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा व्यवस्था गरिएको १६ वटा सर्जिकल बेडमध्ये चारवटा बेडमा मात्र बिरामी छन् भने युनाइटेड अस्पतालको १५ बेडमा ६ जना बिरामीले उपचार गराइरहेका फोकलपर्सन ओलीले स्पष्ट पारे । ‘भर्ना हुने तथ्यांकले बाँकेमा कोरोना संक्रमण दर घट्दै गएको छ भन्ने देखाउँछ । पछिल्लो समय बाँकेका भन्दा बाहिरी जिल्लाबाट उपचार गराउन आउनेको संख्या बढी छ,’ उनले भने । 
 

See More On

सुझावित समाचार