सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गर्‍यो : गगन थापा

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता गगन थापाले संसद् नभएको वेला असंवैधानिक सरकारले अवैधानिक तबरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने यहीबाट प्रस्ट भएको बताए । यस्तो  कार्य नीतिगत भ्रष्टाचार भएको भन्दै उनले  आफ्नाहरूलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुराको छर्लंग भएको उल्लेख गरे । 

चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमीकरण गर्न उद्यत् यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको भन्दै उनले यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने दाबी गरे । 

अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिकको खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले प्रतिरोध गर्ने भन्दै थापाले आमजनता, सञ्चारजगत्, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गरे । 

सुझावित समाचार